काभ्रेको खानीखोलामा ‘निःशुल्क अनिवार्य शिक्षा’ लागू « Khabarhub

काभ्रेको खानीखोलामा ‘निःशुल्क अनिवार्य शिक्षा’ लागू


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम लागू गरिएको छ । गाउँपालिकाको सातवटै वडालाई निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा भएपछि पालिकालाई निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गरिएको जनाइएको छ ।

गाउँपालिकामा बालबालिकाको विवरण सङ्कलन गरी चार वर्ष पूरा भई १३ वर्ष उमेर पुगेका सबै बालबालिका विद्यालयको पहुँचमा पुर्याइएपछि खानीखोलालाई निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गरिएको अध्यक्ष इन्द्रबहादुर थिङले बताए ।

उनका अनुसार उमेरगत बालबालिका शतप्रतिशत विद्यालय गएका छन् । कार्यक्रमअन्तर्गत चालु शैक्षिक सत्रमा विद्यालय बाहिर रहेका ७२ बालबालिकालाई शिक्षामा पहुँच पुर्याइएको हो ।

गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन घोषणाका लागि शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति तथा सामुदायिक सिकाइ केन्द्रलाई प्रभावकारी ढङ्गले परिचालन गरिएको, सूचक बनाएर टोली खटाइएको, वडास्तरमा शिक्षाको युनिट परिचालन गरिएकाले अब सबै विद्यालयको शिक्षा निःशुल्क हुने जनाइएको छ ।

नेपालको संविधानमा शिक्षालाई मौलिक हक र प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य तथा निःशुल्क पाउने प्रावधानअनुरुप अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गरिएको हो ।

जिल्लाको १३ स्थानीय तहमध्ये बेथानचोक गाउँपालिका यही असार पहिलो साता अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गरी पहिलो स्थानीय तह बनेको छ ।

सरकारको आउँदो २०८४ सालभित्र सबै स्थानीय तहमा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गराउने योजना छ । अनिवार्य र निःशुल्क शिक्षा कार्यान्वयन भएसँगै अब सामुदायिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा विद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क र पाठ्यपुस्तकवापतको रकम लिन पाउने छैनन् ।

यसबीच जिल्लामा तामाङ समुदायको बाहुल्यता रहेको खानीखोला गाउँपालिकाका विद्यालयमा चालु शैक्षिकसत्रदेखि तामाङ भाषामा शिक्षण थालिएको छ । गाउँपालिकाले तामाङ समुदायका बालबालिकालाई दोस्रो भाषा नेपाली भाषामा शिक्षा आर्जन गर्दा प्रभावकारी नभएको जनाउँदै तामाङ भाषामा अध्यापन गराउन थालेको हो ।

तामाङ समुदायका बालबालिकाले आफ्नो भाषामा शिक्षा लिन पाउनु उनीहरूको नैसर्गिक अधिकार पनि भएकाले तामाङ भाषामा समेत शिक्षा प्रदान गर्न थालेको गाउँपालिका अध्यक्ष थिङले बताए । उनका अनुसार हाल गाउँपालिकाले कक्षा १ देखि ८ सम्म तामाङ भाषाको पठनपाठन सुरु गरेको हो ।

गाउँपालिकाले भने सबै विद्यालयमा तामाङ भाषालाई अनिवार्य बनाएको छैन । इच्छुक विद्यालयलाई मात्र समावेश गरिएको अध्यक्ष थिङले बताए।

हालसम्म १९ विद्यालयमा तामाङ भाषामा अध्यापन गराउन थालिएको जनाइएको छ । उक्त गाउँपालिकामा माध्यमिक तहको आठ, आभारभूत विद्यालय चार, १ देखि ३ कक्षा र १ देखि ५ कक्षासम्मका २६ विद्यालय छन् । गाउँपालिकामा निजी विद्यालय सञ्चालनमा छैनन् ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ८ : ११ बजे

हर्मुज विवादले मध्यपूर्वमा सुरक्षा चुनौती गहिरियो

एजेन्सी– विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग स्ट्रेट अफ हर्मुजको

चोरी भएका ५१ सवारीसाधन सम्बन्धित धनीलाई फिर्ता

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट चोरी

नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्य सुरु,  परराष्ट्रमन्त्री खनालले गरे शुभारम्भ

काठमाडौं– सरकारको नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्य सुरु गरेको छ

मिडिया हाउसका गेटमै बेवारिसे कार, प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं– काठमाडौंका विभिन्न सञ्चारगृहको कार्यालय प्रवेशद्वारमा बेवारिसे अवस्थामा निजी कार

पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध

ढोरपाटन– राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी नगरपालिका–८