एक शताब्दी आर्यघाटको बास | Khabarhub Khabarhub

एक शताब्दी आर्यघाटको बास



भारतमा जन्मिएर नेपाली भूमिमा जीवन अर्पिएका एक अद्भूत तान्त्रिक बाबाको जीवन गाथामा यो आलेख समर्पित छ । उनी भारतमा जन्मिए तर परिचय बन्यो– नेपाली बाबा । १ सय १२ वर्ष बाँचेर दुई वर्ष अघि देहत्याग गरेका डा. त्यागीबाबा नामले परिचित अघोरी तान्त्रिक बाबाको जीवन फिल्मभन्दा कम रोचक छैन ।

१० वर्ष नपुग्दै नेपाल छिरेका उनले एक शताब्दी आर्यघाटमै विताए । आफ्नो जीवनकालमा राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रको संगत गरेका यिनी राजा महेन्द्रबाट विशेष प्रभावित थिए ।

पाशुपत क्षेत्रभित्रको आर्यघाट । जतिसुकै तेज गतिमा दौडिने जीवन पनि यहाँ नविसाई प्रकृतिको कोर्स पूरा हुँदैन । दैनिक दर्जनौँ नश्वर शरीर खरानी भइरहेका छन् । स्वजन ब्रम्हलीन हुँदाको विक्षिप्त पीडामा छटपटिनेको संख्या पनि उत्तिकै छ ।

छोराले आफ्नै जन्मदिने बाबुलाई मुखाग्नि दिएर बिदाई गर्नुपर्ने अन्तिम सत्यको यो घाटलाई साक्षी बनाएर एउटा १ सय १२ वर्षको दिव्यपुरुषले एक शताब्दीदेखि जीवनको जोड घटाउमा बितायो । यस उमेरमा पनि उसले जीवनको हिसाव मिलाउन सकेन । जीवनको सपाट उत्तर पाएन । कति जित्यो, कति हार्‍याे ? त्यसको हिसाब किताब छैन ।

आत्मा–परमात्मा जोड्ने सेतू बनेको त्यो अद्भूत पात्र डा. त्यागीनाथ अर्थात नेपाली बाबा अस्ताएको दुई वर्ष बित्यो । २४ घण्टा आँखा अगाडि मृत्युको बिस्कुन देख्दा पनि उनको जडभरत व्यक्तित्वमा कुनै प्रभाव पर्दैनथ्यो । त्यसैले त जन्म र मृत्युलाई फगत प्रकृतिको पात्रोको रुपमा बुझ्नु नै उनको दिनचर्या बन्यो ।

भारतमा जन्मिएको एउटा बालक डा. रामनाथ अघोरीबाबाको नाम पछ्याउँदै काठमाडौँ हानियो । रामनाथ अघोरी राजा त्रिभुवनका समेत गुरु थिए । गुरुभक्ति स्वरुप राजा त्रिभुवनले आश्रममा मन्दिर बनाइदिए, जुन अहिले पनि देख्न सकिन्छ । पशुपति आर्यघाटको सम्पूर्ण चिता तिनै अघोरीबाबाले बनाएका थिए । त्यसको जीर्णोद्धार र सुधारमा त्यागीनाथ बाबा जीवनको शेष अवस्थासम्म क्रियाशील रहे ।

तात्कालिन युवराज महेन्द्रलगायत राजपरिवारका सदस्यहरु बाक्लै आश्रममा आइरहन्थे । राजा महेन्द्रप्रति उनको विशेष श्रद्धा थियो । त्यसो त राजा वीरेन्द्र, ज्ञानेन्द्रसम्म उनको पहुँच थियो । राजा त्रिभुवनसंग बाक्लै आउजाउ र उठबस रहेको बताउँथे ।

त्यो उत्साही किशोरलाई गुरुको मन जित्न कति पनि समय लागेन । अध्यात्म र विज्ञानलाई जोड्ने कडी खोज्दै दिनरात अध्ययन, चिन्तनमा लाग्यो । गुरुको सानिध्य र ठूलाबडाको संगतबाट माझिँदै गयो । अध्यात्म हुँदै उनको पठनपाठन आयुर्वेदिक उपचार तर्फ मोडियो ।

काठमाडौँ र पटना आयुर्वेद कलेजमा उनले आयुर्वेदिक उपचार पद्दतिको ज्ञान लिए । एकपटक आयुर्वेद विभागको निर्देशककी बुहारी गम्भीर विरामी भइन् । लाइसेन्स थिएन । मौकामा चौका हान्दै उनले सर्त तेर्स्याए– ‘मलाई लाइसेन्स् दिनुस, म तपाईंकी बुहारी निको पारिदिन्छु ।’ कुरो मिल्यो, त्यागीननाथले डा.उपाधि पाए, निर्देशककी बुहारी तन्दुरुस्त भइन् ।

सानैदेखि बैराग्य लागेर घर छोडेका त्यागीनाथ एकपटक पनि घर फर्किएनन् । एउटा जीवन त्यागेर, अर्को जीवनमा प्रवेश गरेपछि काम, क्रोध, मोह त्याग्नुपर्छ भन्ने लाग्यो । घर छोड्दा त्यागीननाथका पिताको विहारमा आठ हजार विघा जग्गा जमिन थियो । सम्पत्ति त परै रह्यो, गृहस्थी गर्ने सोचसम्मले प्रवेश पाएन । नेपाली बाबा नामले भारतमा ठूलो ख्याती छ । लिनुको विकल्प दिनुलाई जीवनको दर्शन बनाएका नेपाली बाबाले लाखौँ चन्दा दिएर धार्मिक थलोको जिर्णोद्धार र नवनिर्माण गरेका छन् ।

डाक्टर त्यागीनाथ बाबाको जीवन दर्शन आम मानिसको भन्दा पृथक छ । बाबाले पशुपतिनाथ, विराटनगर, सुनसरीको बराहक्षेत्र, जनकपुरधाम, धरानको पिण्डेश्वरीजस्ता धार्मिकस्थलमा आफ्नै सक्रियतामा थुप्रै भौतिक संरचना बनाएर अमरगाथा कोरेका छन् । बाबाका दिव्यदृष्टि ज्योति, आरोग्य दर्शन, मृत्यु विचार, नयाँ युग, रुद्राक्ष महत्वजस्ता ६ वटा पुस्तक प्रकाशित छन् । आफूलाई सम्झिएर आउनेको अन्तिम अवस्थासम्म उपचार गर्थे । तर यस्ता कर्मयोगीले किन चेलाचपाटी जन्माएनन् त ? उत्तर हाजिर छ– उनलाई जीवनमा चेलाहरुको मोह भएन ।

विशेषणको जोगी भएपनि सस्ता र कर्महारा जोगीलाई घृणा गर्छन् । माछा, मासु, रक्सी, भाङ, धतुरोको सेवनले जोगी बिग्रिएको निष्कर्ष निकालेका नेपाली बाबा भन्छन्– ‘जो भएपनि काम नगर्नेलाई माम दिनुहुन्न ।’ नेपाली बाबा सिद्धहस्त तान्त्रिक हुन् । तन्त्रमा सिद्ध पाउन शुद्ध उच्चारण पहिलो सर्त भएको बताउँछन् । भूतप्रेतप्रति अलिकति पनि विश्वास छैन । अघोरीबाबाका नाममा मान्छेको मासु खाने भनेर आतंक मच्चाउनेहरुप्रति उनको गम्भीर आपत्ति छ । उनी भन्छन्– ‘यी सब नाटक हुन् ।’

भारतको उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ र आफू एउटै सम्प्रदायको बताउने नेपाली बाबा आदित्य चेला भएको बताउँथे । १ सय १२ वर्षसम्म स्वस्थ जीवन पाएका नेपाली बाबाको दीर्घजीवनको रहस्य के हो त ? व्यस्त जीवन र साकाहारी खानपानले आफूलाई दीर्घजीवी बनाएको उनको बुझाई थियो ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ११ : ४३ बजे

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

दीपेश पुनको सहयोगमा जितेका थिए जीबी राईले सम्बन्धविच्छेदको मुद्दा

काठमाडौं – विभिन्न सहकारीमा बचतकर्ताको रकम अपचलन गरी फरार भएका

म्यान्मामा बाढीका कारण २९३ जनाको मृत्यु, ८९ जना बेपत्ता

एजेन्सी– म्यान्मामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २९३ पुग्नुका साथै

अमेरिकामा संविधान दिवस मनाइयो

टेक्सस– अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान

सहकारीमा बम्जन परिवारको जालो

काठमाडौं– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष