सभामुखकै सामु विद्यार्थीले चलाए संसद्को नमूना बैठक « Khabarhub

सभामुखकै सामु विद्यार्थीले चलाए संसद्को नमूना बैठक


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

झापा– ‘माननीय संसद् सदस्य प्रस्तावको पक्षमा हुनेहरुले ‘हुन्छ’ भन्नुहोस्, प्रस्तावको विपक्षमा हुनेहरुले ‘हुन्न’ भन्नुहोस् ।’ 

झापाको बिर्तामोडमा शुक्रबार सङ्घीय संसद् सचिवालयले आयोजना गरेको ‘नमूना युवा संसद् अभ्यास कार्यक्रम’ मा सभामुखको भूमिका निर्वाह गरिरहेका नवीन तिवारीले यसरी रुलिङ गर्दा दर्शक दीर्घामा बसेर कार्यक्रम नियालिरहनुभएका सभामुख देवराज घिमिरे मुसुमुसु हाँस्दै थिए ।

सभामुखको आसनमा बसेर प्रतिनिधिसभाको नमूना बैठक सञ्चालन गरिरहेका तिवारी बिर्तामोडकै मोहनमाया माविमा कक्षा १२ मा अध्ययनरत छात्र हुन् । 

तिवारीले नधकाई सभामुखको दुरुस्त अभिनय गर्दै संसद्को बैठक चलाइरहँदा दर्शक दीर्घामा सभामुख घिमिरे मात्र नभएर उपसभामुख इन्दिरा राना मगर, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा (एमाले)का सचेतक महेश बर्तौला, नेकपा (माओवादी केन्द्र)की सचेतक रुपा शशी चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक सन्तोष परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सचेतक विना लामालगायतका नेता थिए ।

नमूना संसदमा ‘सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाइयोस्’ भनेर युवा सांसदले राखेको सङ्कल्प प्रस्तावमाथि छलफल चलाएर मत विभाजन गरिएको थियो । परिणाम जानकारी गराउँदै सभामुख तिवारीले भने, ‘माननीय युवा सांसद लाक्पा डोल्मा तामाङले सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय बनाइयोस् भनी राखेको प्रस्तावको विपक्षमा कसैको पनि आवाज नसुनिएको हुँदा प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु ।’

सभामुखले निर्णय सुनाएपछि हलमा रहेका नमूना युवा सांसद र मन्त्रिमण्डलका सदस्यले ताली बजाएका थिए । त्यो दृश्यलाई अभिरुचिपूर्वक हेरिरहेका सभामुख घिमिरे, उपसभामुख रानामगर र विभिन्न दलका सचेतकको हाँसो थामिएन ।

विद्यार्थीलाई संसदीय विधि र क्रियाकलापबारेमा जानकारी गराउने उद्देश्यले सङ्घीय संसद् सचिवालयले राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र सहारा नेपालको सहयोगमा शुक्रबार झापाको बिर्तामोडमा नमूना युवा संसद् अभ्यास कार्यक्रम गरिएको हो ।

सङ्घीय संसद्का सभामुख घिमिरे र उपसभामुख रानामगरको गृह निर्वाचन क्षेत्र झापा–२ का २२ वटा माध्यमिक विद्यालयका कक्षा १२ सम्म अध्ययनरत ६० जना विद्यार्थीले कार्यक्रममा सहभागिता जनाएका थिए । कार्यक्रम  रोचक र सफल भएको सहभागीको धारणा थियो ।

यही कात्तिक १४ देखि १७ गतेसम्म सञ्चालन भएको नमूना युवा संसद् अभ्यास कार्यक्रममा सहभागी विद्यार्थीलाई प्रतिनिधिसभाका सांसदले निर्वाह गर्ने भूमिका, संसदीय प्रक्रिया र विधेयक पारित गर्ने विधिबारेमा प्रयोगात्मक अभ्यास गराइएको थियो ।

कार्यक्रममा सभामुख र उपसभामुखको नमूना निर्वाचन अभ्यास गरिएको थियो भने सत्तापक्ष, प्रतिपक्ष, मन्त्रीको अलगअलग आसनलहरको व्यवस्था मिलाइएको थियो । 

नमूना प्रधानमन्त्रीका रुपमा शनिश्चरे माध्यमिक विद्यालयकी कक्षा १२ की छात्रा जुनु पौडेलले भूमिका निर्वाह गरेकी थिइन् । उनले प्रतिपक्षी दलका नेता र सांसदले सोधेका प्रश्न र पूरक प्रश्नको जवाफ दिएकी थिइन् ।

प्रतिपक्षी दलको नेताको रुपमा कञ्चनजङ्घा नमूना कलेजका कक्षा ११ का छात्र किरण सिटौला, कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीको रुपमा श्रुति रसाइलीलगायतले कुशल प्रस्तुति दिएका थिए । 

नमूना संसद्मा युवा सांसदले मानव–हात्ती द्वन्द्व, बढ्दो सवारी दुर्घटना, बाल यौन दुर्व्यवहार, सुकुम्बासी समस्या, सामाजिक सञ्जालको दुरुपयोग, सुपारी कृषकका समस्या, खाद्यान्नमा मिसावट, फोहोरमैला व्यवस्थापन, लागुऔषधको बिगबिगी, युवाको विदेश पलायन, शिक्षाको ह्रासोन्मुख गुणस्तरलगायतका विषय उठाउँदै युवा सरकारका नमूना प्रधानमन्त्री र विभागीय मन्त्रीको जवाफ मागेका थिए ।

कार्यक्रममा सभामुख देवराज घिमिरेले नमूना संसदमा उठाइएका सवाल मुलुकको वास्तविक सवाल भएको जनाउँदै कार्यक्रमले संसद्, संसदीय प्रणाली र राजनीतिप्रति विद्यार्थीमा सकारात्मक सन्देश प्रवाहित भएको बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ७ : ५५ बजे

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन

प्याकेट ब्रान्डेड, मदिरा नक्कली : ललितपुरबाट पक्राउ परे चार जना

काठमाडौँ । सशस्त्र प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका-७, चाँगाथलीमा नक्कली ब्राण्डेड

शर्मालाई स्वागत गर्न सर्वोच्च आइनन् सपना

काठमाडौं – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको चहानाअनुरुप प्रधानन्यायाधीशमा नियुक्त डा.