फाइल तस्वीर

देश/प्रदेश

भूकम्पका घाइतेहरूको नेपालगञ्जका विभिन्न अस्पतालमा उपचार सुरु

By खबरहब

November 04, 2023

बाँके– जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गए राति गएको भूकम्पमा परी घाइते भएकाको नेपालगञ्जका विभिन्न अस्पतालमा उपचार सुरु गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भूकम्पमा परी घाइते भएकाको उपचारको व्यवस्था मिलाउन भेरी अस्पताललाई प्राविधिक रुपमा पूर्णतयारी गरिएको बताए । 

‘अस्पताललाई उपचारका लागि डेडिकेटेड अस्पताल बनाइएको छ । व्यक्तिगत पहलमा उपचारका लागि आउने घाइतेको आफन्तजनको सहजताका लागि पनि ‘फोकल पर्सन’ का रुपमा नरेश श्रेष्ठलाई तोकिएको छ ।’

घाइतेको उपचारका लागि कोहलपुरमा रहेको मेडिकल कलेजलाई तयारी अवस्थामा राखिएको पनि प्रजिअ पोखरेलले जानकारी दिए । उनका अनुसार अन्य निजी अस्पताललाई पनि तयारी अवस्थामा राखिएको छ ।

बाँकेमा रहेका भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको एक सय पाँच वटा बेडसमेत तयारी अवस्थामा राखिएको उनको भनाइ छ ।

प्रजिअ पोखरेलका अनुसार हेलिकोप्टरबाट ल्याइने बिरामीको लागि राँझा विमानस्थल र नेपाली सेनाको हेलिप्याडमा  एम्बुलेन्स तैनाथ गरिएको  छ । हाल अस्पतालहरूमा रगतको मौज्दात रहेको बताउँदै उनले रक्तदाता सुरक्षाकर्मीको पनि व्यवस्था मिलाइएको बताए ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहले अस्पतालको नयाँ भवनको भुइँतलामा भूकम्पबाट घाइते बिरामीलाई उपचार गर्न आवश्यकताअनुसार शय्या तयारी अवस्थामा राखिएको बताए ।

अस्पतालहरूमा पर्याप्त मात्रामा डाक्टर, नर्सिङ स्टाफ र लजिस्टिकको प्रबन्ध मिलाइएको जनाईएको छ । साथै हेलिकप्टरबाट आउने बिरामीको लागि राँझा बिमास्थल र सेनाको हेलिप्याडमा २-२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ ।

त्यसैगरी ब्लडको मौज्दात रहेको छ भने अपुग भएमा फ्रेश ब्लड आपूर्तिको लागि रक्तदाता सुरक्षाकर्मीको ब्यवस्था समेत मिलाइएको जनाईएको छ ।

गए राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।