विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

आज जेठ २२, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जून ५, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

अफगानिस्तानमा एक हजार ५०० मेगावाट विद्युतको आवश्यकता छ : तालिबान

अफगानिस्तानलाई हाल एक हजार ५०० मेगावाट विद्युतको आवश्यकता रहेको तालिबान सरकारको ऊर्जा तथा जल विभागले जनाएको छ । हाल अफगानिस्तानले ७२० मेगावाटसम्म विद्युत् आयात भइरहेको जनाएको छ ।

विभागका प्रवक्ता हिक्मतुल्लाह मैवन्दीले भने, “सामान्यतया हाम्रो आन्तरिक उत्पादन ५६५ मेगावाट छ । सिङ्गो देशलाई एक हजार ४०० देखि एक हजार ५०० मेगावाट विद्युत् आवश्यक पर्छ ।” उनका अनुसार देशमा ५०० मेगावाटभन्दा बढी विद्युत् आन्तरिक स्रोतबाट आपूर्ति भइरहेको छ ।

अफगानिस्तानमा विशेष गरी बाँध प्रणालीमा आधारित विद्युतले धेरै क्षेत्रमा सेवा पुर्‍याउँदै आएको छ । यहाँका मुख्य विद्युत बाँधहरूमा नागलो, माहिपर, सरोबी, काजाकी, सलमा र दारोन्टा रहेका छन् ।

सन् २००९ मा लगातारको विद्युत अभावका कारण अमेरिकाले काबुलको थर्मल पावर स्टेसनमा ३४ करोड अमेरिकी डलर लगानी गरेको थियो । तथापि, उच्च ईन्धन मूल्यको कारण स्टेशन नियमित रूपमा प्रयोग गरिएको छैन ।

“यो थर्मल पावर स्टेशन सन् २००९ को अन्त्यमा सञ्चालन हुन थालेको थियो । यसको समग्र क्षमता १०५ मेगावाट छ । सामान्यतया हिउँदमा बिजुलीको अभावको चरम समयमा प्रयोग गरिन्छ वा विद्युत लाइनहरू क्षतिग्रस्त भएमा थर्मल पावरको प्रयोग गरिन्छ’ स्टेशनका जनरल डाइरेक्टर अहमद वैस सरगान्दले टोलोन्यूजलाई बताए ।

अफगानिस्तानले प्राकृतिक स्रोत र पानीको ठूलो स्रोत हुँदाहुँदै पनि विद्युत आपूर्तिमा चरम चुनौतीको सामना गरिरहेको छ । यहाँ अधिकांश बिजुली छिमेकी देशहरू, विशेष गरी मध्य एशियाबाट आयात गरिन्छ ।

लिबियाका भूतपूर्व नेता गद्दाफीका छोरा आमरण अनशनमा

उत्तर अफ्रिकी मुलुक लिबियाका दिवंगत नेता मुअम्मर गद्दाफीका छोरा हनिबालले बिना सुनुवाइ हिरासतमा राखेको विरोधमा आमरण अनशन सुरु गरेका छन् ।

आफूलाई लेबनानमा सात वर्षभन्दा बढी समयदेखि थुनामा राखिएको र आफूलाई कुनै मुद्दामाथि सुनुवाइ नगरिएको भन्दै उनले आमरण अनशन सुरु गरेको उनका वकिलले बताएका छन् ।

सन् २०१५ मा सिरियाबाट अपहरणमा परेका गद्दाफी सन् २०१५ देखि लेबनानको जेलमा रहेका छन् । करिब ४५ वर्षअघि लिबियामा बेपत्ता भएका एक शिया धर्मगुरुको अवस्थाबारे जानकारी माग्दै लेबनानी लडाकुले उनलाई अपहरण गरेका थिए ।

गद्दाफीलाई पछि लेबनानी अधिकारीहरूले नियन्त्रणमा लिएका थिए र बिना कुनै सुनुवाइ राजधानी बेरुतको जेलमा राखिएको थियो ।

अधिवक्ता पल रोमानोसले बताएअनुसार उनका सेवाग्राही गद्दाफीले शनिबार बिहान भोक हडताल सुरु गरेका हुन् । उनले आन्दोलन अन्त्यसम्म जारी राख्ने बताएको रोमानोसले बताए ।

अधिवक्ता रोमानोसले यस मामिलामा सञ्चारमाध्यमसँग विस्तृत विवरण राख्ने अधिकार नभएको भन्दै थप कुरा नगर्ने बताए । यद्यपि, गद्दाफीले एक विज्ञप्ति जारी गर्दै आफ्नो अवस्थाको वर्णन गरेका छन् ।

लेबनानी महिलासँग विवाह गरेका गद्दाफीको विज्ञप्तिमा भनिएको छ, “यतिका वर्षसम्म निष्पक्ष सुनुवाइ बिना नै राजनीतिक बन्दीलाई कसरी राख्न सकिन्छ ?’’

लिबियाली नागरिक रहेका गद्दाफिले आफू भोक हडतालमा रहेको र आफूविरूद्ध अन्यायपूर्ण व्यवहार गर्नेहरू नै नतिजाका लागि जिम्मेवार हुने बताएका छन् । उनले ‘वर्तमान (शासक) राजनीतिज्ञहरूको हातबाट कानूनलाई मुक्त गर्ने समय आएको’ बताए ।

रोमानोसका अनुसार आफ्ना सेवाग्राहीलाई वर्षौंसम्म सानो कोठामा हिँडडुल गर्न वा व्यायाम गर्न पनि नमिल्ने गरी राख्दा ढाड दुख्ने समस्या भएको छ ।

सन् १९७८ मा लेबनानका प्रमुख शिया धर्मगुरु मौसा अल–सदर बेपत्ता हुनु लेबनानमा लामो समयदेखि पीडादायी विषय बनेको छ । धर्मगुरुको परिवारले उनले अझै पनि लिबियाको जेलमा जीवितै रहेको हुनसक्ने विश्वास गरेका छन्, यद्यपि अधिकांश लेबनानीहरूले अल–सदरको मृत्यु भएको अनुमान गरेका छन् । उनी जीवितै रहेमा उनी अहिले ९४ वर्ष पुग्नेछन् ।

अल–सदर एक शिया राजनीतिक र सैन्य समूहका संस्थापक थिए र उनले १९७५ मा सुरु भएको लामो लेबनानी गृहयुद्धमा भाग लिएका थियो ।

इरानको पवित्र शहर कोममा जन्मिएका अल–सदर सन् १९५९ मा लेबनानको दक्षिणी बन्दरगाह शहर टायरमा शियाहरूको अधिकारका लागि काम गर्न आएका थिए ।

सन् १९७४ मा लेबनानको १५ वर्षे गृहयुद्ध सुरु हुनुभन्दा एक वर्ष अघि अल–सदरले ‘मुभमेन्ट अफ डिप्राइभ’ को स्थापना गरेका थिए । जसले हजारौं अनुयायीहरूलाई आकर्षित गरेको थियो ।

‘मुभमेन्ट अफ डिप्राइभ’ को स्थापना भएको अर्को वर्ष उनले अमाल नामक सैन्य एकाईको स्थापना गरेका थिए । अमालको अर्थ अरबी भाषामा ‘आशा’ हो र यही नामको लडाकू समूहको नाममा उनको समूह लेबनानको गृहयुद्धमा लडेको थियो । यस समूहको नेतृत्व लेबनानको शक्तिशाली संसदका सभामुख नाबिह बेरीले गरिरहेका छन् ।

बिहारमा गंगा नदीमा निमार्णाधीन चार लेनको पुल भाँच्चियो

भारतको बिहारको भागलपुरमा गंगा नदीमा निर्माण भइरहेको पुल आइतबार तासको घर ढले जसरी भत्किएको छ।

सन् २०१४ मा बिहारमा मुख्यमन्त्री नितिश कुमारले शिलान्यास गरेको पुल दोस्रो पटक भत्किएको हो। सो पुल भत्केको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

भिडियोमा देखिए अनुसार पुलको एउटा पिलरको ३० भन्दा बढी स्ल्याब गंगा नदीमा खसेको देखिन्छ। यो पुल निर्माणको जिम्मा निजी कम्पनीलाई दिइएको थियो।

गत ३० अप्रिल २०२२ मा यस पुलको पियर नम्बर ४०५ र ६ बीचको सुपर स्ट्रक्चर हावाहुरीले भत्काएको थियो। त्यसबेला पनि यो पुल निर्माण कार्यमा गम्भीर प्रश्न उठेको थियो।

प्राप्त जानकारी अनुसार सुल्तानगञ्जदेखि खगरिया बिच निर्माण भइरहेको यो पुल चार लेनको थियो। निर्माणाधीन यो पुलको सुपर स्ट्रक्चर खोलामा खसेको छ। हालसम्म प्राप्त जानकारी अनुसार यस घटनामा कसैको हताहत भएको जानकारी छैन। पुलको केही भाग खोलामा परेको देखेपछि घटनास्थलबाट केही दूरीमा उभिएका मानिसहरुमा भागदौड मच्चिएको थियो।

बिहार सरकारले भागलपुरको गंगा नदीमा निर्माण भइरहेको पुल भत्किएपछि छानबिन गर्न आदेश दिएको छ। बिहार सरकारले जारी गरेको विज्ञप्तिमा अनुसन्धानका क्रममा पुल भत्किनुको कारण पत्ता लगाउने र दोषी पाइएमा कडा कारबाही गरिने उल्लेख गरिएको छ।

भागलपुरमा गंगा नदीमा निर्माण भइरहेको पुल भत्किएको विषयमा सञ्चारकर्मीसँग कुरा गर्दै बिहारका उपमुख्यमन्त्री तेजस्वी यादवले यस्तो पहिलोपटक नभएको बताएका छन्। उनका अनुसार सन् २०२२ मा पनि आँधीका कारण यसको माथिल्लो भाग खसेको जानकारी दिए।

‘त्यसबेला प्रतिपक्षमा हुँदा पनि हामीले प्रश्न उठाएका थियौं’ उनले भने। सो बेला सरकारले आईआईटी रुर्कीलाई छानबिनको जिम्मा दिएको थियो, जसमा धेरै सुझावहरु पनि दिईएको थियो, सोही सुझावका आधारमा केही निर्माण कार्य भत्काइएको थियो।

सो पुल भत्किए पछि भाजपाले मुख्यमन्त्री नितिश कुमारमाथि हमला सुरु गरेका छन। गंगामाथी भएको पुल भ्रष्टाचारको सिकार परेको भाजपाद्धारा जारी विज्ञप्तिमा भनिएको छ।

अन्तरिक्षबाट ६ महिना पछि फर्के तीन चिनियाँ अन्तरिक्ष यात्री

अन्तरिक्षमा ६ महिना बिताएर तीन चिनियाँ अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्केका छन्।

चाइना म्यान्ड स्पेस एजेन्सी (सीएमएसए) ले हालै सार्वजनिक गरे अनुसार सेन्झाउ–१५का अन्तरिक्ष यात्रीहरु फेइ जुनलोङ, देङ छिङमिङ र झाङ लु ६ महिना पछि पृथ्वीमा फर्केका हुन्। उनीहरू बेइजिङ समय अनुसार हिजो बिहान ६: ३३ भित्री मङ्गोलियाको डोङफेङ ल्यान्डिङ साइटमा सुरक्षित अवतरण गरेका हुन्।

सो मिसनका कमाण्डर फेइले भने, ‘हामीले निर्धारित सबै काम पूरा गरेका छौं।’ अमेरिका र रुस पछि चीनले पनि अन्तरिक्षमा आक्रामक अनुसन्धान सुरु गरिरहेको छ ।

दुर्घटनाको ५१ घण्टा पछि उडिसामा एक लेनको रेल सेवा सुचारु

रेल दुर्घटना पछि अवरुद्ध उडिसाको रेल सेवा ५१ घण्टा पछि सुचारु भएको छ।

बालासोर जिल्लाको बहंगा बजारमा शुक्रबार भयानक रेल दुर्घटना हुँदा पूर्वी र दक्षिणी भारतलाई जोड्ने रेल सेवा अवरुद्ध भएको थियो।

आइतबार राती मुख्य ट्रंक लाइनबाट क्षतिग्रस्त रेलका कोचहरू हटाइएर दुई वटा ट्र्याकहरू मर्मत गरिएसँगै एक लाइनको रेल सेवा सञ्चालनमा आएको छ।

दुर्घटना लगत्तै घटनास्थलमा पुगेका रेल मन्त्री अश्विनी वैष्णव आफैँ उपस्थित भएर रेल्वे सेवा सुचारु गराएका थिए। ‘यस दुर्घटनामा ज्यान गुमाएका परिवारहरूप्रति म धेरै दुःखी छु। तर हामी यो घटनाको जरासम्म जान्छौँ। दोषी जोसुकै भए पनि कडा भन्दा कडा कारबाही हुन्छ,’ मन्त्री वैष्णवले सञ्चारकर्मीसँग भने, ‘रेल पुनः सञ्चालनमा आएकोमा सबैलाई बधाई छ, अब दोस्रो लाइनबाट पनि रेल सेवा चाँडै सुरु गर्नुपर्छ।’

रेल मन्त्री वैष्णवले दुर्घटनाको कारण पत्ता लगाइएको र यसको लागि जिम्मेवार व्यक्ति पहिचान गरिएको पनि जनाएका छन्। ‘यो दुर्घटना इलेक्ट्रोनिक इन्टरलकिङ र प्वाइन्ट मेसिनमा गरिएको परिवर्तनका कारण भएको हो,’ रिर्पोटवारे प्रारम्भिक जानकारी दिँदै उनले भने, सोही बिन्दुबाट अनुसन्धान थालिएको छ।’

गत शुक्रबार राति तीनवटा रेल एक आपसमा ठोक्किँदा तीन सय बढीको मृत्यु भइसेको छ एक हजारको हाराहारीमा घाइते भएका छन्।

सुडानमा युद्धविरामका लागि दबाब

संयुक्त राज्य अमेरिका र साउदी अरबले सुडानका युद्धरत जनरलहरूबीच युद्धविराम वार्ताका लागि आइतबार पुनः दबाब दिएका छन् ।

धेरै पटक युद्धविराममा सहमति भएको छ र भङ्ग भएको छ । वासिङ्टनले गत हप्ता दुई युद्धरत जनरलहरूमाथि प्रतिबन्ध लगाएको थियो र दुवै पक्षलाई ‘भयानक’ रक्तपातको लागि दोषी ठहराएको थियो ।

सुडानको आधिकारिक सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) का प्रतिनिधिहरू साउदी अरबको तटीय शहर जेद्दाहमा रहेका छन् ।

रियादले भनेको छ, “विदेशी मध्यस्थहरूले ‘शत्रुताको स्थायी अन्त्यको लागि निर्माण गर्ने उद्देश्यका साथ नयाँ युद्धविरामका लागि पक्षहरू सहमत हुन र प्रभावकारी रूपमा कार्यान्वयन गर्न’ आह्वान गरेका छन् ।

अमेरिका र साउदी अरबको मध्यस्थतामा जारी युद्धविरामको पाँच दिनको समयावधि औपचारिक रूपमा शनिबारसकिएको छ, तर द्वन्द्व कम हुने कुनै सङ्केत देखिएको छैन ।

“आर्म कन्फ्लिक्ट लोकेसन एण्ड इभन्ट प्रोजेक्ट’का अनुसार एक हजार ८०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार १२ लाख मानिस आन्तरिक तथा बाह्यरूपमा विस्थापित भएका छन् भने चार लाख २५ हजारभन्दा बढी विदेश पलायन भएका छन् ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ६ : ५९ बजे

कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा झापा र भोजपुर

खोटाङ – खोटाङको बुइपामा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको

देशका विभिन्न स्थानमा रहेका ८० खानी खोजतलास गर्न अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले देशका विभिन्न स्थानमा रहेका

बाँझो जमिनमा रोपियो २८ सय सुन्तलाका विरुवा

बागलुङ – गाउँमामा बसाइँसराइको दर बढ्दो छ । बसाइँसराइले उजाडिदै

बाबुरामको कटाक्ष : प्रचण्डलाई देखेर लेनिनले के भन्दा हुन् ?

काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिबारे सर्वोच्चले दियो अन्तरिम आदेशलाई निरन्तरता

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति प्रक्रियाबारे अगाडि