अब माओवादी रुपान्तरण हुने सम्भावना छैन | Khabarhub Khabarhub

अब माओवादी रुपान्तरण हुने सम्भावना छैन

'नेपालको लागि कम्युनिस्ट आन्दोलन अभिसाप हो'


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 7 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

नेकपा (एमाले)ले अहिलेको सत्ताको विकल्पका लागि सबै खालका राजनीतिक समीकरणको लागि तयार भएको देखिन्छ। उसले मिसन २०८४ भनिरहेको छ। नेपाली कांग्रेस र माओवादी सत्ता साझेदारीमा छन्। कांग्रेस १० वर्षसम्म चलेको माओवादीको सशस्त्र युद्धताकाको सबैभन्दा ठुलो शत्रुको रूपमा राजनीतिमा अंकित भएको शक्ति हो। यसरी राजनीति गतिहीन अथवा विचारहीन अवस्थाबाट किन अगाडि बढिराखेको छ ? यतिबेला विशेष गरेर माओवादी केन्द्रले सुरु गरेको रूपान्तरण अभियानको सन्देश र उपलब्धि के हो त ? यी र यस्तै विषयमा आधारित रहेर राजनीतिक विश्लेषक मुमाराम खनालसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश:

सरकारमा बसेर माओवादीले सुरु गरेको रूपान्तरण अभियानको राजनीतिक सन्देश के हो ?
अब राजनीतिको बजारमा माओवादीको कुनै पनि भाष्य बिकाउ रहेन। उसका धेरै पहिलादेखि रूपान्तरणका कुराहरू आउँथे। जतिबेला भर्खरै शान्ति प्रक्रियामा आएको थियो। त्यो बेला उसका बैठकले गरेका निर्णयलाई अलि गम्भीरतापूर्वक लिने जमात थियो। तर विस्तारै त्यो पार्टीको निर्णय र त्यसको संरचना आफै असाध्यै व्यक्तिवादी ढाँचामा उनिएर गएका छन्। त्यस्तो पार्टीले गरेका निर्णय गम्भीरतापूर्वक राजनीतिमा लिइँदैन। रूपान्तरणका कुरामा त्यो धेरै ढिलो भइसक्यो। माओवादी जतिबेला शक्तिशाली थियो। त्यो बेला रूपान्तरणको आवश्यकता थियो। अब त समर्थकको असाध्यै बढी जनघनत्व भएको ठाउँबाट पनि माओवादी विस्थापित हुँदै गएको छ। त्यो स्वाभाविक पनि हो। जतिजति मान्छे शिक्षित हुँदै जान्छ त्यति नै माओवादी भाष्य सान्दर्भिक हुँदैन। २१ औं शताब्दीमा त्यत्ति सान्दर्भिक न विचार छ, न त्यही विचार अनुसार ग्रहण गर्ने उनीहरूको संस्कृति र विश्वास छ। त्यस कारण राजनीतिमा यी कुराहरू त्यति धेरै चर्चा गर्न लायक रहेनन्।

माओवादी सरकारमा रहेको र प्रधानमन्त्री भइसकेपछि उसको चर्चा स्वाभाविक हो। त्यो पार्टीका कतिपय निर्णय कता जान्छन् भन्ने चासो हुन्छ। तर माओवादीको रूपान्तरण अब वैचारिक, साङ्गठनिक र नेतृत्वका हिसाबले हुने देखिँदैन। धेरै लामो समयदेखि एक जना मान्छे नेतृत्वमा बसेको हुनाले नेतृत्व गर्न सक्ने अर्को पात्र पनि यो पार्टीमा जन्मिन पाएन। माओवादीको अस्तित्व सानो रुपमा लामो समय रहला तर रूपान्तरण भएर जाने सम्भावना म देख्दिन।

३५ या ३६ वर्षदेखि निरन्तर माओवादी पार्टीको नेतृत्व गरी राखेका प्रचण्ड आजका दिनमा पनि कम्युनिस्ट घटकका एकताको सुत्रधार बन्छु भनेर लागिराखेका छन्। समाजवादी मोर्चा पनि बनाएका छन्। उनको त्यो अभियान सफल होला ?
समाजवादी, वामपन्थी र कम्युनिस्ट छुट्टाछुट्टै चरित्र बोकेका र एउटा राज्य सत्ता र पार्टी सत्ताको फरक प्रवृत्तिलाई बाझिने पदावली हुन। नेपालको सन्दर्भमा समाजवादी, बामपन्थी र कम्युनिस्ट भने पनि कुनै प्रकारको भिन्नता छैन। एउटै चरित्र छ। सरकारमा हुँदा र प्रतिपक्षमा हुँदा पनि एउटै काम गर्ने । नेपालमा कम्युनिष्टले समाजवादको कुरा गर्दा पनि त्यो समाजवाद उनीहरूको त्यही कम्युनिस्टकै आलोपमा लिइने हुनाले तीनै वटा शब्दले नेपालमा अर्थ गुमाएको छ। त्यस कारण उनीहरूले आफ्नो संकटलाई केन्द्रमा राखेर जे मोर्चा भने पनि नेपाली समाजमा त्यसले केही काम गर्दैन। तर एउटा खतरा भनेको हाम्रो समाजको धेरै ठुलो शिक्षित वर्ग देश छोडेर बाहिर गइरहेको छ। अर्कोतिर अर्धशिक्षित वर्ग पनि श्रम गर्न अन्तर्राष्ट्रिय बजारमा निस्किरहेको छ। यहाँ बस्नेलाई कम्युनिष्टहरुले आफ्नो पार्टीमा ल्याउनलाई पूर्णकालीन कार्यकर्ता बनाउन खोजिरहेका छन्।

अहिले पनि माओवादीले आठ लाख सदस्यता वितरण गर्ने भनेको छ। त्यो सबै यहीँ बसेका बेरोजगार जो बाहिर जान पनि नसकेका मान्छेहरूलाई राजनीतिकरणको हतियार बनाउने खतरा कम्युनिष्टहरुको हुन्छ। पहिलेदेखि नै उनीहरूले गर्दै आएको र जानेको यही हो। मानिसहरूलाई काम गर्न होइन कामबाट निकालेर पार्टी कार्यकर्ता बनाउने र त्यो बनाउन यो देश पनि त्यस्तै बन्दै गएको छ। त्यस कारणले त्यो खतरा अझै पनि छ।

यो खतरा बढ्दै जानुको कारण जति अशिक्षित र पिछडिएको वर्ग हुन्छ त्यति नै माओवादी जस्ता पार्टीलाई काम गर्ने कार्यकर्ताहरू भेटिन्छन्। त्यो खतरा एकातिर मुलुकको अवस्थाले बनाइराखेको छ। तर शिक्षित समुदाय र बुझेको मान्छेले त्यस्तो खालको समाजवादको भ्रमबाट जसले आफ्ना पार्टीहरूको निरन्तर सुक्दै गएको मुहान देखेर फेरि जुटेर हामी अलिकति भ्रम छर्न सकिन्छ कि भनेर ती पार्टीहरूको कार्यक्रम अगाडि सरेको देखिन्छ। समाजवादी मोर्चाको नाममा जहाँ सङ्गठित छन् ती सबैको इतिहास हेर्ने हो भने आफ्नै आन्तरिक संकटले क्षतिग्रस्त भएका छन्। कुनै-कुनै ठाउँमा राजमार्गबाट तल झरेका दुर्घटना ग्रस्त भएका गाडी जस्तो भएका छन्।

त्यसो भए श्रमिक वर्गले कहिलेसम्म यो खालको भ्रमपूर्ण राजनीतिलाई पत्याउलान ?
पहिलो कुरा जुन श्रमिक वर्ग कम्युनिष्टले कुरा गर्छन् त्यसको फोटोकपी मात्र हो। यहाँ कहाँ श्रमिक वर्ग छैन। सबै भन्दा पहिला यो मुलुकको विकासका लागि सबै भन्दा दलाल पुँजीवाद चाहिँ कम्युनिष्ट पार्टी नै हो। अहिले भ्रष्टाचारका काण्डमा माओवादी पृष्ठभूमिका मान्छेहरू हेर्ने हो भने जसले सुन दलाली पनि गरेको छ। नक्कली भुटानी शरणार्थीमा पनि लागेको छ। जसले कहीँबाट पनि छोड्दैन।

पुँजीवादले आफूभित्र रहेको कमजोरीहरूलाई विस्तारै आफ्नो एउटा पुनर्निमाणको सिद्धान्तबाट आफै पुनर्जीवित गर्ने प्रयत्न गर्दै आएको छ। कम्युनिष्टले त्यो गर्ने होइन। बरु त्यही पुँजीवादको नवउदारवादी पुँजीवादमा रूपान्तरित भएको विकृतिलाई सबैभन्दा धेरै बोक्ने अहिले कम्युनिस्ट छन्। आफूलाई जुनसुकै नाम दिए पनि एमाले नामको वामपन्थी, माओवादी नामको वामपन्थी छ, अरु तमाम नामका झन्डै एक दर्जनभन्दा बढी वामपन्थी छन्। त्यो भन्दा धेरै एक-एक जनाका पार्टीहरू पनि छन्।

यो कम्युनिस्ट आन्दोलनको कलह हो। त्यही नै दुर्भाग्य हो। मुलुकको लागि कम्युनिष्टहरुले नै सामाजिक रूपान्तरणको यात्रा भन्दै पञ्चायत कालमा भूमिगत राजनीति गरे। त्यो बेलामा लोकतान्त्रिक आन्दोलनमा योगदान गरे। त्यसपछि उनीहरूको नेपालमा सान्दर्भिकता नै सकिएको छ। किनभने उनीहरूले यो विकासलाई हेर्ने दृष्टिकोण, पार्टीलाई हेर्ने दृष्टिकोण, लोकतन्त्रलाई हेर्ने दृष्टिकोण र एउटा सहभागितालाई हेर्ने दृष्टिकोण सबैमा कम्युनिष्टको दुबिधा धेरै प्रखर भएको छ। त्यसले विकासलाई अवरुद्ध गरेको छ।

समाजलाई ध्वस्त गरेर मात्र सक्दिने, सामाजिक शक्तिको ठुलो विनाश तिर लगिदिने यी सबै कम्युनिष्ट नै हुन्। कम्युनिस्ट नाम पनि त्यो मुलुकको लागि एउटा दुर्भाग्य भएको छ। मुलुकको विकासको लागि अभिसाप भएको छ। त्यस कारणले गर्दा कम्युनिष्टहरुको जुन भाष्य हो त्यो अहिले लोकतान्त्रिक भएको छ। त्यस कारणले उनीहरू लोकतन्त्रमा आए र यसलाई पनि उनीहरूले जति बाहिर बसेर संसदीय व्यवस्थाको विरोध गर्थे। त्यही व्यवस्था भित्र पसेर यसलाई पनि विकृत घृणित व्यवस्थामा रूपान्तरण गर्दै कम्युनिष्टले बाहिरबाट भन्दा भित्र आएपछि झन् ठुलो एउटा सामाजिक ध्वंसलाई प्रोत्साहन दिइराखेका छन्। त्यस अर्थमा नेपालका कम्युनिष्टले नेपालको सामाजिक रूपान्तरणको यात्रा गर्न नसक्ने देख्छु।

अझ माओवादी जस्तो पार्टी जसको प्रत्येक वर्ष नीतिहरू, काम गराइको प्रक्रिया बदलिन्छन्। तर पनि उनीहरूको बदला भाव कम्युनिस्ट अधिनायकवादी चिन्तन त्यही नै छ। र उनीहरूको संरचना पनि त्यही नै छ। तर उनीहरू लोकतान्त्रिक परिवेश भित्र काम गर्नु परेकोले लोकतान्त्रिक संस्थाहरूलाई नै कब्जा गर्ने र त्यो संस्थामा यति नालायक मान्छे राखिदिने जसले गर्दा त्यो संस्था र लोकतान्त्रिक पद्धतिसँग कसरी तादाम्य राखेर काम गर्छ भन्ने नै नबुझ्ने मान्छेलाई राखेर शिक्षामा शिक्षा बिगार्ने, स्वास्थ्यमा स्वास्थ्य बिगार्ने जस्तोसुकै मान्छेलाई ल्याएर जिम्मेवारी दिएको छ। त्यसले गर्दा मन्त्री बनाउन आफ्ना कार्यकर्ता बनाओस् ठिक छ। तर सबै संस्थाको संरचना भत्काउनमा माओवादीको र सबै कम्युनिष्टहरूको हात छ।

नेकपा हुँदा वा माले हुँदा वा माओवादी हुँदा हामीले जे देख्यौँ। त्यसले नेपालको सम्पूर्ण लोकतान्त्रिक संस्थालाई भत्काएको छ। अहिले जुन भ्याक्युम देखिन्छ यसको पछाडि कम्युनिष्टहरुको हात छ। उनीहरूले भन्ने र गर्ने कुरामा आकाश जमिनको फरक छ। त्यसकारण उनीहरूले भनेको कुरा नेपाली समाजले पत्याउन छोडेको छ।

माओवादीको १० वर्षे जनयुद्धको अन्त्य नै गलत ढङ्गबाट भएको तपाईंको निष्कर्ष हो ?
मैले पछाडि फर्केर हेर्दा भर्खरै लोकतन्त्र आएको बेला त्यसको कुनै आवश्यकता नै थिएन भन्ने ठान्छु। किनभने त्यो बेला कम्युनिस्ट विचार धाराबाट हुर्केको मान्छे करिब ३० वर्ष जति त्यो विचारधारा भन्दा बाहेक अरु पढेको पनि हुँदैन। विचारधारा भन्दा बाहिरको कुरा पढ्न पनि दिँइदैनथ्यो। त्यसकारण हामी जुन विचार धाराबाट २०३६ सालको आन्दोलनपछि आयौँ त्यसपछि स्वाभाविक रुपले कम्युनिस्ट घटकसँग नजिक भयौँ। २०४८ सालमा प्रचण्डजीको पार्टीसँग पार्टी एकता भइसकेपछि मैले उहाँहरूलाई बुझ्ने मौका पाएको थिएँ। पछि मैले त्यो कम्युनिस्ट पार्टी छोडे। अहिले यो कम्युनिस्ट विचारधारा नेपालमा काम लाग्छ भन्ने पनि लाग्दैन।

त्यो बेला भर्खरै लोकतन्त्र आएको थियो। त्यो बेलाको लोकतान्त्रिक प्रक्रियामा कयौँ लोकतान्त्रिक संस्थामा नेपाली कांग्रेसले अहिले जसरी माओवादीले गरेको छ त्यसरी नै गरेको थियो। त्यसको लोकतन्त्र भित्रको असन्तुष्टिलाई लोकतान्त्रिक तरिकाले नै हल गर्नुपर्छ तब मात्र त्यसले स्वाभाविक कोर्स लिन्छ। तर माओवादीले त्यसलाई हल गर्ने भनेर संसदीय व्यवस्थाको समाजतिर नयाँ जनवादी क्रान्ति गर्ने भनेर युद्धमा गयो। यस्तो बेला गयो कि त्यो बेला संवैधानिक राजतन्त्र र संसदीय व्यवस्थाको बीचमा एकदमै तीव्र रूपमा अन्तर संघर्ष थियो। त्यो संघर्षले एक अर्काका संवैधानिक अधिकारमाथि हस्तक्षेप गर्ने परिपाटी चल्यो। त्यो बेला सरकार परिवर्तन हुने एउटा लहर जस्तै चल्यो। त्यस बेलामा त्यसलाई विकृति ठानेर त्यसविरुद्धमा हतियार उठाउने जुन काम भयो त्यो वास्तवमा गलत भयो भन्ने म ठान्छु। र त्यति ठुलो सामाजिक विद्रोहपछि हामीले केही पाएनौँ। तर धेरै कुरा गुमायौँ। केही राजनीतिक अधिकारको कुरा गर्छन् मान्छेहरू तर राजनीतिक अधिकारहरू पनि आफ्नै विकासको सापेक्षमा हुनुपर्ने रहेछ। अधिकार थोपरेर मात्र हुने रहेनछ। त्यो अधिकारलाई उपयोग गर्न सक्ने हाम्रो क्षमता पनि त्यही अनुसारको हुनुपर्छ। जनताले आफ्नै संघर्षबाट प्राप्त गर्नुपर्छ ।

माओवादीले जुन अधिकार भन्यो त्यो वास्तवमा उसले चाहेको सर्वहारा वर्गको अधिनायक अन्तर्गतको बेलायत क्रान्तिमार्फत अरु समस्याहरू हल गर्न चाहेको थियो तर त्यो सम्झौताबाट आउनु पर्यो। त्यो सम्झौताबाट आउँदा स्वाभाविक हो संसदीय राजनीतिलाई स्वीकार गरेर आएपछि संसदीय राजनीतिमाथि उसको एउटा कम्युनिस्ट दृष्टिकोण अधिनायकवादी दृष्टिकोण नेतृत्व, संरचना र संस्थामा त्यही नै रह्यो। तर उसले प्रक्रियामा ती संस्थालाई मानेको जस्तो देखाउनु  पर्‍यो। ती संस्थाहरूलाई केपी ओलीले त मानेनन्। धेरै आफ्नै संवैधानिक संस्थामा आफै नियन्त्रण कायम गर्न खोजे। प्रचण्डले माने जस्तो गरे पनि आफ्नै पार्टीका झोलेहरू लगेर राखे। निर्णय गर्दा आफैले गरे। त्यसकारण समग्रमा हेर्दा त्यति बेला नेपालको सन्दर्भमा त्यस्तो खालको शसस्त्र द्वन्द्व चाहिएको थिएन। र त्यसले नेपालका लागि राम्रो गरेन र ठुलो सामाजिक विध्वंसर्‍यो

उपलब्धि केलाई मान्ने त?
माओवादीका नाराहरू गणतन्त्र धर्मनिरपेक्षता वा संघीयता कुनै थिएनन्। यी पछि आएका मुद्दा हुन्। साँचो अर्थमा नेपालको राष्ट्र निर्माणको प्रक्रियामा यो कुरा आएका हुन्। त्यो आवश्यक पनि छ। तर अहिले संघीयता छ र त्यो केन्द्रीकृत चाहिँ जुन राज्य सत्ताको चरित्र हो त्यसमा कम्युनिष्टको राजाको मिल्छ। संघीयता हुनु हुँदैन भन्ने कम्युनिष्टको र राजाको मिल्ने हो बरु। किनभने कम्युनिष्टहरूको सत्ता नै त्यही अधिनायकवादी सत्ता नै हुन्छ। त्यसकारण सङ्घीयता पछि मधेश आन्दोलनले ल्याएको हो। मधेसबाहेक अरुले धेरै अभ्यास गरेका पनि होइनन्। मलाई के लाग्छ भने संघीयताले गर्ने शक्ति विकेन्द्रीकरणको कुरा हो। अब त्यसमा अहिले हेर्दा सत्ताको जुन स्वरूप छ। त्यो कतै पनि सम्पूर्ण अधिकारसहितको संघीयकरण भएको छैन। त्यसकारण यो महंगो भएको हिजो कै केन्द्रीकृत सत्ता हो।

हिजो अरु सबै संस्थाहरू थिए। हामीले जिल्लाको अवधारणा फाल्ने जिल्ला प्रशासनसँग जोडिएका सेना र अदालतबाहेक अरु फाल्ने भनेको थियौँ। तर अहिले अरु पनि थपिए त्यस कारण यो महंगो भएको हो। हामीले कम गर्दै जाने होइन नाम मात्रका संस्थाहरू थप्दै गयौँ।

धर्मको कुरामा धर्म राजनीतिबाट जानु धेरै राम्रो कुरा हो। धर्म निरपेक्षता भने पनि जहाँ ८० प्रतिशत हिन्दु छन्। त्यहाँ उनीहरूको व्यक्तिगत आस्थाको कुरा होइन। दक्षिणपन्थी जमातले सबै भन्दा पहिला राजनीतिमा धर्म घुसाउँछ। त्यो धर्म होइन अधर्म हो। त्यसकारण राजनीति र धर्म एकदमै अलक कुरा हुन्। धर्म त्यो राज्यको होइन व्यक्तिको हो। व्यक्तिको आस्थालाई राज्यले संरक्षण गरिदिन्छ। यो कुन धर्मको भनेर समर्थन गर्ने होइन कि धर्म जनताको आफ्नो व्यक्तिगत आस्थाको कुरा हो। राज्यले सबै धर्मलाई सहिष्णु भावनाले हेर्छ। यदि लोकतान्त्रिक राज्य हो भने धर्मको नाममा गरिने राजनीतिकले कहीँ पनि पुर्याउँदै। त्यसले सभ्य र लोकतान्त्रिक समाजको निर्माण पनि गर्दैन। दक्षिण एसियामा नेपाल मात्र छ अलिकति लोकतान्त्रिक प्रक्रियामा सहज भएको कमजोर राज्य भएर पनि होला । यसमा कम्युनिस्टहरुले धेरै खुल्नु नै हुँदैन। किनकी यसलाई जोगाउनु राम्रो कुरा हो।

कम्युनिस्ट नामका पुच्छर झुन्ड्याएका पार्टी वैचारिक हिसाबबाट शून्यतामा गएका छन्। उनीहरू राजनीतिक कार्यदिशाको हिसाबबाट स्खलित भइसकेका छन्। अब जुनसुकै ब्रण्ड राखने पनि कम्युनिस्ट नबिक्ने अवस्था किन आयो ?
हो। वास्तवमै कम्युनिस्टहरु संकटमा छन्। नेपाललाई सामाजिक रूपान्तरणको खाँचो छ। जब की कट्टरभन्दा कट्टर कम्युनिस्टहरू एक-दुई जना मान्छे मारेर आयो त्यसपछि राज्यसँग बार्गेनिङ गरेर आयो। यसका लागि हामीले सामाजिक रूपमा गैर बहुलवादी भँगालोलाई लिएर जहिले पनि त्यस्ता मान्छेलाई समावेशी राज्य हो हाम्रो भनेर तीनैसँग वार्ता गरेर त्यस्तै विजातीय मान्छेहरूलाई सेटलमेन्ट गराउने अभियान कहिलेसम्म चलाउने ? आज विप्लव आएका छन्। उसलाई गद्दार भनेर अर्को निस्क्यो अर्को आउँछ।

अनि यिनले समाजमा काँडा रोप्छन्। आफूलाई पायक पर्ने ठाउँमा गएर दुई जना मान्छे मार्‍यो र राज्यसँग आएर मन्त्री चाहियो भन्यो। त्यहाँबाट भ्रष्टाचार गरेर घर बनायो र बस्यो त्यही त गरेका छन्। यो भन्दा माथि उठेर देशलाई कसरी समृद्ध बनाउने भनेर एक ठाउँमा आउनन् तर उनीहरूको व्यक्तिगत स्वार्थ यति हुन्छ कि मैले सत्ता पाउँछु कि पाउँदिन भन्ने छ। जुन मान्छेले जीवनभर केही गरेन भने अब गर्छ भनेर हामीले कति आशा गर्ने ? त्यस कारण नेपालका वामपन्थीको विश्वास छैन। मलाई के लाग्छ भने नेपाली समाजको विकृतिकरण गर्नको लागि नेपालको कम्युनिस्ट आन्दोलन नेपालकै लागि अभिशाप सिद्ध भए।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  १२ : २९ बजे

साइबर अपराधको आरोपमा एक महिला पक्राउ

काठमाडौं – सामाजिक सञ्जालबाट चरित्र हत्या हुने अभिव्यक्तिहरू प्रसारण गरी

पाकिस्तानका शिक्षकले ८ महिनादेखि पाएनन् तलब

काठमाडौं – आठ महिनादेखि तलब नपाएको भन्दै पाकिस्तानको खैबर पख्तुनख्वाका

भारत र अस्ट्रेलियाका सेना पुणेमा संयुक्त सैन्य अभ्यास गर्दै

काठमाडौं – भारत र अस्ट्रेलियाले तेस्रो संस्करणको संयुक्त सैन्य अभ्यास

आजदेखि ऐतिहासिक नमोबुद्ध जात्रा

काभ्रेपलाञ्चोक – नमोबुद्ध नगरपालिका–११ स्थित ऐतिहासिक त्था पर्यटकीयस्थल नमोबुद्धमा आज

शान्तिश्री र नेत्रको स्वरमा ‘आधा मुटु’ सार्वजनिक (भिडियो)

काठमाडौं – अभिनेता सुशान्त कार्की र मोडल तथा अभिनेत्री गरिमा