एक महिने स्वस्थानी व्रत आजदेखि आरम्भ हुँदै « Khabarhub

एक महिने स्वस्थानी व्रत आजदेखि आरम्भ हुँदै


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु गरिँदै छ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ। बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ।

एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन एक सय आठ जनै, एक सय आठ सुपारी, एक सय आठ पान, एक सय आठ फूल, एक सय आठ रोटी, एक सय आठ अक्षता विभिन्न थरिका फलफूल, धुप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दुर, वस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ। चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मितछोरालाई एवं मितछोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि छ।

सय रोटी ब्रतालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ। जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ। यसो गरेमा बर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ। स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ। आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो। उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास गरिन्छ। यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ।

सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रशन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। “स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ”, उनले भने।

यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ। रोगव्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत नेपाली समुदायमा प्रचलित छ। सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ। व्रतपछि बिछोडमा परेका नाग–नागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ।

गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ले जानकारी दिए।

शालि नदीमा माधवनारायण एवं स्वस्थानी व्रत
यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तरपूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालि नदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्छ। प्राचीनकालदेखि लाग्दै आएको मेलामा महिनाभर लाखौँ भक्तजनको उपस्थिति रहन्छ।

“माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिइ पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन्”, इतिहासकार प्रकाश श्रेष्ठले भने। बर्तालुका लागि साँखुस्थित शालिनदीमा सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालि नदी सुधार समितिले जनाएको छ। बर्तालु आज बेलुकीदेखि नै साँखुमा बास बस्न आउँछन्। बेलुकी मामधवनारायणका पुजारीबाट जल ग्रहण गरेपछि व्रतविधि सुरु हुन्छ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ९ : १४ बजे

समस्याग्रस्त सहकारीको ऋण असुल्दै, बचत फिर्ता गर्दै सरकार

काठमाडौँ – सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम

कोशी प्रदेशसभाको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

विराटनगर – कोशी प्रदेशसभाको आज बसेको बैठकमा कोशी प्रदेश सरकारको

आईपीएल क्वालिफायर–१ : बेङ्गलुरुले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–१ अन्तर्गत आज भइरहेको

गाजामा इजरायली हवाई आक्रमण : ७ जनाको मृत्यु

गाजा – गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार मंगलबार इजरायली हवाई आक्रमणमा

अस्वस्थकर खानपानका कारण उच्च रक्तचापका बिरामी बढदै

काठमाडौं – अस्वस्थकर खानपानका कारण उच्च रक्तचापका बिरामी बढिरहेको हुन्