तातोपानी नाका खुलाउन कूटनीतिक पहल आवश्यक छ: मन्त्री बस्नेत | Khabarhub Khabarhub

तातोपानी नाका खुलाउन कूटनीतिक पहल आवश्यक छ: मन्त्री बस्नेत


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले २०७२ सालको विकासकारी भूकम्पपछि पूर्णरुपमा सञ्चालनमा आउन नसकेको चीनसँगको तातोपानी नाका खुलाउन कूटनीतिक पहल आवश्यक रहेको बताए।

भोटेकोशी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन आज उद्घाटन गर्दै मन्त्री बस्नेतले उक्त नाका खुलाउन सरकारले चीनलाई आश्वस्त पार्नसक्नुपर्ने बताए । “हामीले लामो समयदेखि पहल गर्दा पनि तातोपानी नाका सहज रुपमा सञ्चालन हुन सकेको छैन । नाका खुलाउन सरकारले कूटनीतिक ढङ्गले चीन सरकारलाई विश्वस्त गर्न सक्नुपर्छ”, उनले भने, “राजनीतिक तहमा कुरा भइरहेको छ । तर सुरक्षाको विषयलाई लिएर रोकिएको हामीले बुझेका छौँ ।”

भूकम्पअघि चीनसँगको मुख्य व्यापारिक नाका रहेको तातोपानी त्यसयता बन्दप्राय छ । नाका बन्द हुँदा उक्त क्षेत्रका बासिन्दाको जनजीवनमा त्यसको असर देखिएको उनको भनाइ छ । “नाका सञ्चालन नहुँदा जनताले दुःख पाएका छन् । बस्ती मसानजस्तो भएको छ । यहाँ वैकल्पिक उद्यम व्यवसायका लागि अरु विकल्प पनि छैनन्”, मन्त्री बस्नेतले भने ।

मन्त्री बस्नेतले सडकलगायत पूर्वाधार निर्माणमा गुणस्तरीय काम हुन नसकेको र वर्षान्तमा हुने बजेट खर्च पनि रोक्न नसकिएको बताए । “प्राविधिक सल्लाहविना सडक संरचना बनाउँदा पहिरोको जोखिम बढेको छ । गुणस्तर निरीक्षणको काम पनि प्रभावकारी छैन । सडक, पुल बनाउँदा गुणस्तर पुर्याइएको छ वा छैन भनेर निरीक्षण गर्ने काम पनि निष्पक्ष रुपमा हुन सकेको छैन”, स्वास्थ्यमन्त्री बस्नेतले भने । हतारमा काम गरेर आर्थिक वर्षको अन्त्यमा भुक्तानी गर्ने प्रवृत्ति रोक्न नसकिएको पनि उनल स्वीकार गरे।

नागरिकलाई आधारभूत तहको शिक्षा र स्वास्थ्य सुविधाको प्रत्याभूति गराउन सरकारले पहल गरिरहेको र आर्थिक रुपमा विपन्नलाई यस्तो सुविधाको ग्यारेन्टी सरकारले गर्ने मन्त्री बस्नेतको दाबी छ । “आर्थिक रुपमा कमजोर र विपन्न नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन अस्पतालले १० प्रतिशत बिरामीलाई निःशुल्क सेवा दिनुपर्ने व्यवस्था सरकारले कडाइका साथ कार्यान्वयन गरिरहेको छ । अबको तीन महिनाभित्रमा नेपालको स्वास्थ्य क्षेत्रमा ठूलै परिवर्तन गर्छौँ”, उनले भने । चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षका लागि स्वास्थ्य मन्त्रालयका लागि न्यून बजेटका बाबजुद पनि राम्रो नतिजा निकाल्ने गरि काम गरिरहेको स्वास्थ्यमन्त्री बस्नेतले बताए । भोटेकोशी गाउँपालिकाकाले कक्षा १२ सम्मको पढाइ निःशुल्क गरेकोमा उक्त कदम सराहनीय रहेको पनि उनको भनाइ छ ।

नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले नागरिकलाइ सेवा प्रवाहमा थप सहजता आउने विस्वास व्यक्त गर्नुभयो । “नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्नु हाम्रो पहिलोे कर्तव्य हो । अब पालिकाबाट हुने सेवा प्रवाहमा सहजता आउनेछ र प्रशासनिक झन्झट कम हुने विश्वास छ”, उनले भने । गाउँपालिका अध्यक्ष शेर्पाले पनि तातोपानी नाका सहज रुपमा सञ्चालनमा आउन नसक्दा त्यहाँको व्यावसायिक गतिविधि ठप्प भएको र मानिसहरु पलायन हुनुपरेको बताए ।

विसं २०७२ सालको भूकम्पका कारण तातोपानी नाकाको चीनतर्फको क्षेत्र खासा बजार पनि निकै प्रभावित भएको थियो । अहिले उक्त बजार पूर्णरुपमा बन्द छ । चीनले त्यहाँबाट बस्तीसमेत हटाइसकेको छ । भौगर्भिक अध्ययनपछि उक्त क्षेत्र मानव बसोबासका हिसाबले असुरक्षित देखिएको भन्दै चीनले बस्ती सारेको हो । अहिले त्यहाँ चिनीयाँ सुरक्षाकर्मीको क्याम्प मात्र रहेको छ । चीनतर्फको भन्सार कार्यालयसमेत हटिसकेको छ ।

खासा क्षेत्रमा बजार बसाउन भौतिक संरचना निर्माण र सडक सञ्जाल निर्माणमा चीनले चाँसो देखाएको छैन । नेपालका लागि चीनसँगको व्यापारमा रसुवागढी भन्सार भन्दा तातोपानीबाट सामान आयात गर्दा ढुवानी भाडा सस्तो हुने र पूर्वाधारका हिसाबलेसमेत त्यहाँ उपयुक्त भएपनि चीनको बेवास्ताका कारण त्यहाँबाट हुने व्यापार खुम्चिँदै गएको छ । हाल तातोपानी नाकाबाट स्याउ, खुद्रा सामान, जलविद्युत् आयोजनाका मेसिनलगायत सामान फाट्टफुट्ट रुपमा मात्रै आइरहेको र नेपालबाट हुने निर्यात भने ठप्प भएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत उदयसिंह विष्टले जानकारी दिए ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  १० : ०९ बजे

मेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन

चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१