काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित नौजना पक्राउ परेका छन् ।
जुम्लाको चन्दननाथ नगरपालिका-६ विजयनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्रामसहित सोही नगरपालिका-१० बस्ने १८ वर्षीय किशोरसमेत दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरको हो ।
सर्लाहीको मलंगवा नगरपालिका-१ स्थितबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित सोही नगरपालिका-८ बस्ने २७ वर्षीय सरोज साहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोरखाकाली र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको संयुक्त टोलीले भारततर्फ जाँदै गरेका उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ३ सय ३० मिलिग्रामसहित गोदावरी नगरपालिका-५ बस्ने २९ वर्षीय दीपक रानालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०१० प ४५३७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा ऐनाभित्र लुकाई ल्याएको उक्त लागूऔषधसमेत उनलाई पक्राउ गरेको हो ।
यसैगरी कैलाली, गोदावरी नगरपालिका-२ अत्तरियाबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ८ सय २० मिलीग्रामसहित सोही नगरपालिका-२ तेघरी बस्ने २७ वर्षीय तेज बहादुर खड्का समेत तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
चितवनको रत्ननगर नगरपालिका-२ टाँडीचोकबाट अवैध लागूऔषध चरेशजस्तो देखिने पदार्थ करिब ५ किलो १ सय ग्रामसहित धादिङ थाक्रे गाउँपालिका-३ बस्ने ३२ वर्षीय भिमलाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले बा.८७ प २१०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापाको झापा गाउँपालिका-४ सुकुमबासी बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ४ सय ५० मिलिग्रामसहित इलाम मङसेबुङ गाउँपालिका-९ बस्ने ३० वर्षीय युवराज लिम्बुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट र सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट पन्थपाडाबाट संयुक्त रुपमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया