कर्णालीमा खाद्यान्न अभाव, मुगुको गोदाम बन्द  « Khabarhub

कर्णालीमा खाद्यान्न अभाव, मुगुको गोदाम बन्द 


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुको छायाँनाथ रारा नगरपालिका–१० घट्टलेखकी उब्जी सेजुवाल सदरमुकाम गमगढी बजारमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा पगिन् । तर, चामल नपाएपछि रित्तो हात घर फर्किइन् । कर्णालीका हिमाली जिल्लाहरूमा खाद्यान्नको अभाव सुरु भएको छ । साविकका कर्णालीका जिल्लाहरूमा पर्याप्त मात्रामा खाद्यान्न मौज्दात नहुँदा अभाव सुरु भएको हो । मुगुमा भने चामल नहुँदा खाद्य कार्यालयको गोदाम नै बन्द भएको छ ।   

कर्णालीका जिल्लाहरूमा पछिल्लो समय बाढीपहिरोको उच्च जोखिममा रहेका छन् भने किसानले लगाएका बालीनालीहरु बाढीपहिरोले बगाएपछि खाद्यान्नको झनै सास्ती भएको छ । एकातिर खाद्यान्न डिपोमा चामल सकिएको छ भने अर्कोतिर चाडबाड नजिकिँदै छ । बहुसंख्यक स्थानीय बजारको महंगो चामल किनेर खान सक्ने अवस्थामा छैनन् । बजारबाट महंगोमा चामल किनेर खान सक्ने अवस्था नरहेको छायाँनाथ रारा नगरपालिका–७ पिनाका आशा साहनीले बताउँछिन् । 

मुगुमा गत आर्थिक वर्षको खाद्यान्न ढुवानी कोटा सकिएको छ । अहिले ६८० क्विन्टल मात्र चामल कार्यालयमा मौज्दात रहेको छ भने डिपो कार्यालय सबै रित्तो भएका छन् । कार्यालयमा खाद्यान्न अभाव सुरु हुने भएपछि कार्यालयले साउन १० गतेसम्म मात्र बिक्री गरेको थियो भने ११ गतेबाटै खाद्यान्न बिक्री वितरणमा बन्द गरेको छ । मौज्दात रहेको  ६८० क्विन्टल चामल विपदको लागि राखिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुका कार्यालय प्रमुख पुष्कर भामले बताए । 

कर्णालीका मुगु, हुम्ला, डोल्पामा प्राय चाडबाडको समयमा खाद्यान्न अभाव हुने गरेको छ । डोल्पामा भने अहिले सदरमुकाम दुनै र जुफाल गोदाममा ३ हजार ३०० क्विन्टल मात्र चामल मौज्दात  छ । त्यही चामल पनि दुईदेखि तीन महिनासम्म मात्र धान्ने अवस्था रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय डोल्पाका कार्यालय प्रमुख विष्णुप्रसाद घिमिरेले जानकारी दिए ।

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा खाद्यान्नको अभाव देखिने अवस्था छ । अहिले हुम्लाका ताजाकोटमा ९००, अदानचुलीमा ८००, सलिसल्ला ३ हजार, सर्केगाडमा १ हजार, चंखेलीमा ६५० र शाखा कार्यालय सिमकोट हुम्लामा १ हजार ६०० क्विन्टल चामल मौज्दात छ ।

 हुम्लामा भने जिल्ला खाद्य सुरक्षा समितिको निर्णय नै गरी शुक्रबार मात्र आपतविपदमा परेकालाई प्रमुख जिल्ला अधिकारीको समन्वयमा चामल दिने गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाका प्रमुख कृष्णप्रसाद अधिकारीले जानकारी दिए । 

 जुम्लामा १ हजार ५८ क्विन्टल चामल मौज्दात छ । ३ वडा डिपो कार्यालय र १ बिक्री केन्द्र रहेको कालिकोटमा ६४८ क्विन्टल चामल मौज्दात छ । उक्त चामल विपद व्यवस्थापनको लागि मौज्दात राखिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय कालिकोटका प्रमुख कमल राज पाण्डेले जानकारी दिए । 

कर्णालीमा अहिले १२ हजार ६०० क्विन्टल मात्र चामल मौज्दात छ । अघिल्लो आर्थिक वर्षमा टेण्डर गरिएका कोटाको चामल सकिएको छ । नयाँ टेण्डर अह्वानका लागि प्रक्रिया अगाडि बढेको  र निश्चित समयमा कर्मचारी अभाव, मूल्यवृद्धि र खाद्यान्नमा चाप बढेकाले कर्णालीमा खाद्यान्न अभाव हुने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड  कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख महादेव मिश्रले बताए । 

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ५ : ०८ बजे

वन संरक्षणलाई आयआर्जनमुखी बनाउन आग्रह

रसुवा– जिल्लामा सामुदायिक वन व्यवस्थापनलाई थप सुदृढ बनाउँदै स्थानीय समुदायको

लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन

सिरहा– यहाँको लहान नगरपालिकाले सगरमाथा चौधरी आँखा अस्पतालसँगको सहकार्यमा वडा

बढ्दै औलोको सङ्क्रमण

चितवन- चितवन जिल्लाका अस्पतालहरूमा उपचारका लागि आएका बिरामीमध्ये चालु आर्थिक

कालीगण्डकी नदीले बगाउँदा एक बालकको मृत्यु

मुस्ताङ– कालिगण्डकी नदीले बगाउँदा आज एक बालकको मृत्यु भएको छ

सुदूरपश्चिममा औलो सङ्क्रमण : निवारणको लक्ष्यप्राप्ति चुनौतीपूर्ण

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा औलोको ग्राफ पुनः बढ्न थालेको छ ।