आम्दानीको स्रोत बन्यो कागती खेती « Khabarhub

आम्दानीको स्रोत बन्यो कागती खेती


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

मलेखु – धादिङको नीलकण्ठ नगरपालिका–१२ साङ्कोषका रामशरण लम्सालको बारीमा अहिले लटरम्मै कागती फलेको छ । सदरमुकाम धादिङबेँसीमा ग्रिल व्यवसाय गर्दै आएका उनको व्यवसाय कोरोना महामारीमा ठप्प बनेपछि कागती खेती थालेका हुन् ।

लम्सालले भने, ‘यो कागती मलाई लकडाउनले दिएको उपहार हो ।’ अहिले उनको साँझ–बिहान कागती खेतीमै बित्ने गरेको छ । विसं २०७६ मा कोरोना भाइरसको महामारीले देश ठप्प बन्यो । व्यापार–व्यवसाय सुनसान भए । कोरोनाले कोही कतै हिँड्डुल गर्ने अवस्था रहेन । त्यही फुर्सदको समय सदुपयोग गर्दै बाँझो बारीमा लगाएको कागतीले उत्पादन दिन थालेपछि लम्साल अहिले दङ्ग छन्। तीन रोपनी बारीमा सुन कागतीको तीन सय बोट छ । एउटै बोटमा २० किलोसम्म कागती फलेको छ । उनले भने, ‘लकडाउनले दिएको उपहार कागती अहिले अतिरिक्त आम्दानीको स्रोत बनेको छ ।’

बाह्रैमास फल्ने कागतीको कतै चिचिला लाग्दैछ कतै पाक्दैछ । दैनिक ४० किलो कागती बिक्री भइरहेको छ । धादिङबेँसीका कतिपय तरकारी व्यापारी कागती लिन बारीमै पुग्छन् । बारीमा पुग्न नसक्नेलाई मागअनुसार टिपेर पुर्याइदिने गरिरहेको लम्सालले बताए ।

बर्खाले गर्दा मुख्य पेसा सुस्ताए पनि लकडाउनको समय सदुपयोग गरेर रोपेको कागतीले दैनिक चार हजारसम्म आम्दानी दिइरहेको छ । कृषि प्राविधिकसँगको परामर्शबाट कागतीको बिरुवा लगाएका लम्सालले मनग्य आम्दानी लिन थालेका छन् । लम्सालले भने, “थोरै बोट भए पनि उत्पादन राम्रै रहेको छ ।”

“झाडी बन्दै गएको जग्गालाई सदुपयोग गरी कागतीका बिरुवा तीन वर्षअघि मात्रै लगाएको थिएँ, अहिले कागतीका बोट हुर्कँदैछन्, पोहोरभन्दा यो वर्ष उत्पादन निकै बढेको छ, अर्को वर्ष व्यावसायिक उत्पादन हुनेमा विश्वस्त छु”, उनले भने, “सबै बिरुवाले पूर्णरूपमा उत्पादन दिन थालेमा धादिङबेँसीको बजारले उत्पादन थेग्न सक्दैन ।”

कोरोना महामारीकै बेला बिरुवा हुर्काएका नीलकण्ठ नगरपालिका–१० ज्यामरुङका ईश्वरी लम्सालको बारीमा पनि कागती लटरम्मै फलेको छ । परीक्षणको रूपमा लगाएको कागतीले दुई वर्ष अघिदेखि उत्पादन दिन थालेको हो । अघिल्लो वर्ष रु दुई लाखको कागती बिक्री भए पनि यो वर्ष रु चार लाख कमाउने उनको लक्ष्य छ ।

एक सय ५० बोट कागतीले तीन वर्षमै उत्पादन दिन सुरु गरेको छ । कागती खेतीको परीक्षण सफल भएपछि लम्सालले अहिले फेरि ६० बोट कागती थपेका छन् । लकडाउनअघि ठेक्कापट्टाको काम गर्दै आएका लम्सालले कागती खेतीको सम्भावना र जग्गा व्यवस्थापनका विषयमा अध्ययन गरेर खेती गरिरहेका छन् । हालसम्म कागतीमा रु १० लाखबराबरको लगानी भएको लम्सालको भनाइ छ । दाना बिक्री नभएको बेला निचोरेर रस बनाई बेच्ने गरेका छन् । रस निचोरेर बेच्दा लिटरको रु दुई हजारसम्ममा गाउँमै बिक्री हुने गरेको छ ।

सानो क्षेत्रबाट कागतीखेती थाले पनि अहिले ज्यामरुङका धेरै किसानले व्यावसायिक कागती खेती थालेका छन् । कागतीलाई बाँदरले पनि क्षति नगर्ने भएकाले धमाधम व्यावसायिक खेती थालिएको छ । यो वर्षमात्रै ज्यामरुङका चन्द्र लम्साल, रोहिणी लम्साल, हेमबहादुर ढकाल, बिएन ढकाल, दिनेशचन्द्र ढकालले गरी करिब दुई हजार बोट कागती लगाएका छन्  । अन्य बालीमा बाँदरले अत्यधिक क्षति गर्ने भएकाले पनि ईश्वरी लम्सालले गरेको कागती खेती देखेर आफूहरूले पनि सिकेको उनीहरूको भनाइ छ ।

जिल्लामा पछिल्लो समय कागती खेतीलाई व्यावसायिक गर्ने किसानको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । कुनै समय सामान्य घरायसी प्रयोजनका लागि मात्र दुई-चार बोट बिरुवा रोप्ने प्रचलन भए पनि पछिल्लो समयमा कागती खेतीको व्यावसायिक खेती र उत्पादन बढ्दै गएको कृषि ज्ञान केन्द्र धादिङका कृषि प्रसार अधिकृत कमलराज शर्माले जानकारी दिए ।

धुनीबेँसीमा करिब दुई सय जनाले कागती खेती गरेका छन् । थाक्रे, नेत्रावती र बेनिघाट रोराङमा पनि कागती खेतीलाई कृषकले व्यावसायिक खेतीका रूपमा अघि बढाउन थालेका छन् । बजारमा कागतीको माग दैनिक बढ्दै गएपछि पछिल्लो समय जिल्लामा कागती खेतीलाई नगदेबालीका रूपमा समेत किसानले लिन थालेका छन् ।

कागती खेतीलाई सम्बन्धित निकायले चासो दिन सके मकै, कोदोलागायत बाँदरले हैरान पार्न थालेकाले कागतीको बिरुवा लगाउने कृषकको सङ्ख्या अझ बढ्ने कृषि प्रसार अधिकृत शर्माको बुझाइ छ । बजारमा कागतीको मूल्य प्रतिकिलो रु दुई सयभन्दा बढी रहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  १० : २४ बजे

चीनमा डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता

कुन्मिङ- दक्षिणपश्चिम चीनको युन्नान प्रान्तमा निजी स्वामित्वको डुङ्गा डुब्दा दुई जनाको

परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात् गरेर

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका