काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गण्डकी र कर्णाली प्रदेशका प्रमुख सडकहरू आंशिक तथा पूर्ण रूपमा प्रभावित भएका हुन्।
गोरखाको आरुघाट गाउँपालिका-२, ३ र धार्चे गाउँपालिका-९ नयाँपुल जोड्ने सोतिस्थित फलामे पुल तथा आरुघाटबाट धादिङ जोड्ने सडक बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।
यसैगरी, म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीस्थित बेनी-जोमसोम सडक खण्डमा खसेको पहिरोका कारण सडक एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको छ। यता कर्णाली प्रदेशअन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका-७ औलिसेस्थित कर्णाली राजमार्गमा पनि पहिरो जाँदा यातायात एकतर्फी रूपमा सुचारु गराइएको छ।
अवरुद्ध बनेका सडकहरूलाई पूर्ण रूपमा सुचारु गराउन सम्बन्धित निकाय र प्रहरी टोली खटिरहेको जनाइएको छ। साथै, जोखिमपूर्ण सडक खण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ।














प्रतिक्रिया