छरुवा (डिआरएस) प्रविधिले धानको उत्पादन बढ्दो « Khabarhub

छरुवा (डिआरएस) प्रविधिले धानको उत्पादन बढ्दो


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुरबेदकोट नगरपालिका-८ का रणबहादुर मल्ल सेवानिवृत्त कृषि अधिकृत हुन् । लिजमा जग्गा लिएर उन्नत प्रविधिको प्रयोग गरी कम मिहिनेतमै बढी धान उत्पादनमा उनी लागेका छन् ।

धानको उत्पादन बढाउनका लागि उनले छरुवा धान खेती प्रणाली (डिआरएस) अपनाएका छन् । रोपेको धानभन्दा खेतमा छरेको धान फस्टाउँदो छ । कृषक मल्लले चिस्यानयुक्त खेतमा उपकरणको सहायताले सिधै उन्नत जातको युएस तीन सय पाँच जातको धान छरेका हुन् । 

‘यस प्रविधिबाट  धान रोप्न खेत हिल्याउनु पर्दैन’, कृषक मल्लले भने, ‘रोपाहाको खोजी गरी खेतमा धान रोप्नुभन्दा सिधै खेतमा सिड ड्रिल मेसिन प्रयोग गरी धानको बीउ र मल राख्ने गरिन्छ ।’ परम्परागत विधिको तुलनामा यस प्रविधिबाट लगाइएको धान खेतीको लागत खर्च तीन गुणाले कम हुने गर्दछ ।

एक बिघा जग्गामा परम्परागत विधिमा लगाइएको धानभन्दा यस प्रविधिबाट  लगाइएको धानका लागि रु १५ हजारदेखि रु २० हजार कम लाग्ने गरेको उनले बताए। ‘छरुवा विधिबाट लगाइएको धानको बालामा तीन सय ८० देखि चार सय दाना लागेका छन्’, कृषक मल्लले भने , ‘परम्परागत विधिबाट रोपाइँ गरी लगाइएको धानमा अधिकमा एकसय ६० दाना मात्रै छन् तर यो प्रविधिबाट लगाइएकोे धानको उत्पादन दोब्बरले बढी भएको छ ।’

चार बिघा जग्गामा छरुवा विधिबाट धान खेती गरेका उनमा धानको उत्पादन बढ्दो रुपमा रहेकाले अर्को वर्ष बढी जग्गा लिजमा लिएर धान खेती गर्ने सोच पलाएको छ । 

कृषक मल्लकै प्रेरणाले बेदकोट नगरपालिका–३ का किसान दीपेन्द्र रावलले पनि छरुवा विधि प्रयोग गरी एक हेक्टर जमिनमा धान खेती गरेका छन्  । उपकरणको प्रयोगबाट  खेतमा धान छर्न थालेपछि छिमेकीले जग्गा बाँझो राख्ने भो भनेर मुखामुख गरेको उनी स्मरण गर्छन् ।

‘धानका बोटले गाँड फोडेर जब बाला लाग्न सुरु भए मुखामुख गर्नेहरु यसै प्रविधिको प्रयोग गरी अर्को वर्षदेखि धान खेती गर्छौं भन्न थालेका छन्’, रावलले भने, ‘अर्को वर्षदेखि छिमेकका २५  किसानले यही प्रविधिबाट  धान खेती गर्ने भएका छन् ।’ डेढ बिघा जग्गामा रोपाइँ गरेर धान खेती गर्दा मुस्किलले २० देखि २२ बोरी मात्रै धान उत्पादन हुने गरेको उनले बताए  । 

आधुनिक तरिकाले थोरै श्रममा धान खेती गर्दा यस वर्ष धानको उत्पादन बढेर दोब्बर बढी हुनेमा उनी विश्वस्त छन् । ‘खेतमा झुलेका धानका बाला हेर्न दैनिक खेतमा पुग्ने गरेको छु’, कृषक रावलले भने, ‘यसरी खेतमा धान झुलेको पहिलो पटक नै हो, लोभलाग्दो छ, नगरपालिकका कृषि जेटिए पनि हप्तामा एक पटक धान नियाल्नका लागि पुग्ने गरेका छन् ।’

पहिलो वर्ष भएकाले झारपात व्यवस्थापन भनेजस्तो गर्न नसकिएको उल्लेख गर्दै उनी अर्को वर्षदेखि व्यवस्थित तरिकाले खेती गरी बढी उत्पादन लिने बताउँछन् । यस प्रविधिबाट धान खेती गर्दाप्रति हेक्टर पाँच मेट्रिकटन धान उत्पादन हुने सेवा निवृत्त कृषक मल्लको भनाइ छ । 

थोरै सिँचाइ गरे पुग्ने, कम बीउ लाग्ने, न्यून श्रमशक्ति प्रयोग हुने भएकाले यस प्रविधिमा धान खेती गर्दा लागत खर्च घट्ने उनले बताए । ‘जलवायु परिवर्तका कारण केही वर्षयतादेखि मनसुनी वर्षा ढिलो हुँदै आएको छ’, कृषक मल्लले भने, ‘परम्परागत प्रविधिले धानबाली प्रणालीमा नकारात्मक असर गरेको छ, यस्तो अवस्थामा छरुवा धान खेती प्रविधि उपयुक्त छ ।’

कृषक मल्लले आफूले मात्रै यस्तो प्रविधिबाट  धान खेती नगरेर अरू किसानलाई पनि यसबारे जानकारी गराई उन्नत धान खेती गर्नतर्फ किसानलाई उत्प्रेरित गर्दै आएका छन् । बर्सातका बेला डिआरएस प्रविधिमा धान खेती र हिउँदमा रैथाने जातको आलु खेती गरी आम्दानी लिँदै आएका कृषक मल्ल वर्षमा दुवै खेतीबाट १५ देखि २० लाख जति आम्दानी हुने गरेको बताउँछन् ।

 उन्नत प्रविधिमा खेती गर्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन कञ्चनपुर इकाइले मलखाद र बीउमा सहयोग पुर्‍याउँदै आएको छ । 

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ११ : ५९ बजे

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार

मनकामना माइक्रो दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस