कालीगण्डकी प्रसारण लाइन निर्माणको अवरोध हटाउन पहल « Khabarhub

कालीगण्डकी प्रसारण लाइन निर्माणको अवरोध हटाउन पहल


२३ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणमा पर्वतको फलेवासमा भइरहेको अवरोध हटाउन पहल गरेको छ । 

देवीस्थानस्थित विद्यालय र रंगशालामा क्षति पुग्ने भन्दै स्थानीय बासिन्दाले विगत तीन वर्षदेखि प्रसारण लाइनको रुट सार्न माग गर्दै निर्माणमा अवरोध गर्दै आएका छन् । स्थानीयको अवरोधका कारण फलेवासमा प्रसारण लाइनका चारवटा टावरहरू निर्माण हुन सकिरहेको छैन । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान, आयोजना प्रमुख चन्दन घोष सम्मिलित उच्चस्तरीय टोलीले निर्माणमा अवरोध भइरहेको फलेवास-६ देवीस्थानको स्थलगत निरीक्षण गरेको छ। 

टोलीमा पर्वतका जिल्ला समन्वय प्रमुख बिष्णुराम बिक, फलेवासका नगरप्रमुख गंगाधर तिवारी, उपप्रमुख शोभा कुमारी क्षेत्री, प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, निवर्तमान नगर प्रमुख पदमपाणी शर्मा प्रहरी नायब उपरीक्षक मधुसोधन न्यौपाने, वडाध्यक्ष नवीन श्रेष्ठलगायतको सहभागिता थियो । टोलीले प्रसारण लाइन निर्माण स्थलको स्थलगत निरीक्षण गरी स्थानीय बासिन्दाहरूसँग छलफल गरेको थियो ।

टोलीले कालीगण्डकी र यसका सहायक खोलानालामा  निर्माण हुने जलविद्युत आयोजनाहरूका विद्युत् प्रवाहका लागि यो लाइन महत्वपूर्ण रहेकाले निर्माणमा अवरोध नगरिदिन आग्रह गरेको थियो । लाइन अभावमा जलविद्युत आयोजनाहरूको विद्युत् मुख्य रुपमा वर्षायाममा प्रवाह गर्न नसकिएको भन्दै टोलीले यसबाट राष्ट्रलाई ठूलो क्षति भइरहेकोले निर्माणमा सहयोग गरिदिन अनुरोध गरेको थियो । 

प्रसारण लाइनको टावर सार्न सम्भव भए-नभएको विषयमा प्राविधिक टोलीले ४-५ दिनभित्रमा सर्वेक्षण सम्पन्न गर्ने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । 

‘प्रसारण लाइन मूनि विद्यालय पर्छ भन्ने स्थानीयको कुरा थियो तर स्थलगत निरीक्षणबाट मार्गधिकारमा विद्यालय नपर्ने देखिएको छ’ घिसिङले भने, ‘सर्वेक्षण सम्पन्न भएपछि विद्यालयलाई प्राथमिकतामा राखी प्राविधिक रुपमा सम्भव भएसम्म टावरलाई रंगशालाको डिलतर्फ च्यापेर टावर निर्माण गर्ने सहमति भएको छ, रंगशालाभन्दा तल भीर रहेकोले टावर धेरै तलसम्म लैजाने सम्भावना देखिँदैन ।’

उनले विद्यालयलाई जोगाएर प्राविधिक रुपमा सम्भव भएसम्म रंगशालालाई पनि कम असर पर्ने गरी टावर निर्माण गरिने प्रष्ट पारे । कालीगण्डकी र यसका सहायक नदीहरूमा  निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो । 

आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानाबाट पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको ३९.६ किलोमिटर पहिलो खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा छ । खुर्कोटमा २२०-१३२ केभी र दानामा २२०-१३२-३३ केभी सबस्टेसन निर्माण गरिएको छ । 

करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको सुनवल नगरपालिका–१३ भुमहीस्थित (नयाँ बुटवल सबस्टेसन) सम्मको ८८ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । यस खण्डमा पर्ने २३५ वटा टावरमध्ये फलेवासमा पर्ने चारवटाको निर्माण बाँकी रहेको छ । प्रसारण लाइन निर्माण असारभित्रमा सम्पन्न गर्ने गरी काम भइरहेको आयोजना प्रमुख चन्दन घोषले बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  १ : ०२ बजे

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका

संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माले पेस गरे १८ बुँदे कार्ययोजना

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतमा वर्षौँदेखि

ट्राफिक प्रहरीबाट एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी

चितवनका बजारमा याक चिज उपलब्ध

चितवन– चितवनका बजारमा याक चिज उपलब्ध हुन थालेको छ ।

बलिउडको कायाकल्प गरेर अस्ताएका कलाकार

भारतीय सिनेमा र सङ्गीत उद्योगले संसारभर करोडौँ दर्शकको मन जितेको