दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार | Khabarhub Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 7 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

आज दिनभर आजबाट निर्वाचन आचारसंहिता लागू,सरकारले परराष्ट्र नीति निर्माणमा राष्ट्रिय सहमति कायम गर्ने,सङ्क्रमणकालीन न्यायको काम दुई वर्षभित्र पूरा हुने प्रधानमन्त्रीको दाबी, थप ९९ जनामा कोरोना संक्रमण पुष्टि, दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर २ रुपैयाँ अनुदानलगायत समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू :

आजबाट निर्वाचन आचारसंहिता लागू

आउँदो बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि आजबाट आचारसंहिता लागू भएको छ ।

चितवन, बारा र तनहुँ जिल्लाभर निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा ९२० ले दिएको अधिकार प्रयोग गरी चितवन, बारा र तनहुँ जिल्लाभर देहायका व्यक्ति, निकाय तथा अधिकारीलाई संवत् २०७९ साल चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय गरेको छ।’

सरकारले परराष्ट्र नीति निर्माणमा राष्ट्रिय सहमति कायम गर्ने

सरकारले परराष्ट्र नीति निर्माणमा राष्ट्रिय सहमति कायम गर्ने जनाएको छ । सरकारले आज ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ सार्वजनिक गर्दै संयुक्त राष्ट्रसङ्घको वडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्त, विश्व शान्तिका मान्यता, अन्तर्राष्ट्रिय कानुन एवं पारस्परिक हित र लाभका आधारमा परराष्ट्र नीति सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ठूला र साना देशहरूबीच सार्वभौम समानता तथा एक अर्काको आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको पक्षपोषण गर्ने, भूपरिवेष्ठित देशको अधिकारको सुनिश्चितताका लागि आवश्यक कार्य गर्ने जानकारी गराए ।

दिगो शान्ति, आर्थिक रूपान्तरण र जनताको समृद्धिका लागि छिमेकीलगायत विश्वका सबै मित्र राष्ट्रहरूसँगको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउने, आपसी सहयोगका क्षेत्रहरू विस्तार गरी सहकार्य र अन्तर आबद्धतालाई बढावा दिने वर्तमान सरकारले नीति लिएको छ ।

देशको द्रूततर आर्थिक विकासका लागि वैदेशिक लगानी प्रवर्द्धन गर्न, अन्तर्राष्ट्रिय श्रम बजारमा पहुँच पुर्‍याउन, नेपाली वस्तुको बजारीकरण गर्न तथा नेपाललाई पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्न आर्थिक कूटनीतिलाई अगाडि बढाउने मन्त्री शर्माले बताए।

क्षेत्रीयस्तरमा तनावरहित मित्रताका निम्ति आवश्यक पहलकदमी लिने, नेपालको भूमि कुनै पनि विदेशी मुलुकको विरुद्ध प्रयोग हुन नदिने, सार्क, बिमिस्टेक, आईबिबिएन जस्ता क्षेत्रीय संस्थालाई गतिशील बनाउन प्रभावकारी भूमिका खेल्ने सरकारको प्रतिबद्धता छ ।

सङ्क्रमणकालीन न्यायको काम दुई वर्षभित्र पूरा हुने

सरकारले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम दुई वर्षभित्र पूरा गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित विशेष समारोहमा संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले द्वन्द्व पीडितलाई क्षतिपूर्ति, पुनःस्थापना र परिपूरणको व्यवस्था गर्ने बताइन् ।

‘शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम दुई वर्षभित्र पूरा गरिनेछ’, सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, ‘द्वन्द्व पीडितलाई क्षतिपूर्ति, पुनःस्थापना र परिपूरणको व्यवस्था गरिनेछ ।’ सरकारले आन्दोलनका क्रममा घाइते तथा अङ्गभङ्ग भएका व्यक्तिलाई उपचार, रोजगारी, स्वरोजगारका अवसर र पुनःस्थापनासम्बन्धी कार्य गर्ने उल्लेख छ ।

तत्कालीन सरकार र नेकपा (माओवादी) बीच भएको विस्तृत शान्ति सम्झौताको बाँकी काम तथा तराई-मधेसलगायत आन्दोलनका क्रममा सरकार र आन्दोलनकारबीच भएका सहमति र सम्झौतालाई तदारुकताका साथ कार्यान्वयन गर्ने उल्लेख रहेको छ ।

संसद्मा विचाराधीन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयक यथाशीघ्र पारित गरी आयोग गठन गर्ने र आयोगलाई आवश्यक स्रोतसाधन र जनशक्ति उपलब्ध गराउने उल्लेख छ ।

देशका विभिन्न भागमा भएका आन्दोलनको क्रममा लगाइएका मुद्दाको पुनरावलोकन गर्ने, झुठा मुद्दा खारेज गर्ने र राजनीतिक प्रकृतिका बन्दीलाई रिहाइ गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

बिमामार्फत पाउने आर्थिक सहायता लिन बिचौलियाको भर नपर्न अनुरोध

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार बोर्ड र बिमामार्फत पाउने आर्थिक सहायता लिन कसेले पनि बिचौलियाको भर नपर्न अनुरोध गरेको छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता डण्डुराज घिमिरेद्धारा आज जारी विज्ञप्तिमार्फत वैदेशिक रोजगारीमा ज्यान गुमाएका मृतक श्रमिकका परिवारले वैदेशिक रोजगार बोर्ड र बिमामार्फत पाउने रकम पछिल्लो समय बिचौलियाले ठगी गर्ने गरेको भन्दै बोर्ड र बिमामार्फत पाउने रकम लिन कसैको पनि भर तथा दबाबमा नपर्न अनुरोध गरिएको हो ।

वैदेशिक रोजगारीमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई बिचौलियाले अनावश्यक हस्तक्षेप गर्दा पाउनु पर्ने पुरा रकम परिवारका सदस्यले नपाएको गुनासो बढेको र यदि कोही कसैले त्यस्तो प्रलोभनमा पारेर ठगी गरेमा मन्त्रालयमा सिधै जानकारी गराउनसमेत उक्त विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।

“विदेशबाट शवसँग आएका कागजातसहित मृत्यु दर्ताको प्रमाणपत्र, पालिकाको सिफारिस लगायतका कागजात आवश्यक पर्छ, यी कागज आफ्नो पालिकाबाट सहजै बनाउन सकिन्छ, तर पनि केही बिचौलियाहरुले अनावश्यक हस्तक्षेप गर्ने, श्रमिकका परिवारलाई विभिन्न बहानामा सहयोग गरेको जस्तो गरेर पनि रकम ठगी गर्ने प्रवृत्ति बढ्दो रहेको र श्रमिक तथा निजका आफ्न्तहरुले अनावश्यक झन्झट एवंम् दुःख व्यहोर्नुपरेको र मर्का परेको भन्ने जस्ता खबरप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ ।

यस्तो समस्या आफैँलाई परेमा वा नजिकका आफन्तले भोग्न परेमा निःशुल्क नम्बर १६६००१५०००५११४१, विदेशबाट अथवा सःशुल्क नम्बर ९७७१५९७०००८ वा भाइवर र इमोमा कल तथा म्यासेज ९८०१८०००१३, ९८५११८०९५९ नम्बरमा गर्न सकिने समेत मन्त्रालयले जनाएको छ ।

बिचौलियाले अनावश्यक हस्तक्षेप गर्ने, श्रमिकका परिवारलाई विभिन्न बहानामा सहयोग गरेको जस्तो गरेर पनि रकम ठगी गर्ने कार्यमा कोही संलग्न भए वा यस्तो कार्य गरेमा कडा कारवाही गर्ने मन्त्रालयले चेतावनीसमेत दिएको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको रोजगारीकै सिलसिलामा श्रम स्वीकृतिको अवधि सकिएको एक वर्षभित्र कोही कसैको ज्यान गएमा वैदेशिक रोजगार बोर्डले रु सात लाख र म्यादी जीवन बिमाबाट रु १४ लाख गरी रु २१ लाखसम्मको रकम श्रमिक वा निजका श्रीमती वा निजका एकाघरको नाताको खातामा स्वतः स्थानान्तरण गर्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।

यस्तो आर्थिक सहायताका लागि आफ्नो पालिकाको सिफारिसमा पालिकाबाटै बोर्डमा निवेदन पठाउन मिल्ने जनाइएको छ । साथै श्रम स्वीकृतिको अवधि सकिएको एक वर्षपछि कोही श्रमिकको रोजगारीको सिलसिलामा ज्यान गएमा बोर्डले मृतक परिवारलाई एकमुष्ट रु २५ हजार उपलब्ध गराउने गरेको छ । यो आर्थिक सहायता लिन कोही कसैलाई भनसुन गर्न नपर्नेसमेत मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको आरोपमा प्रहरीले छजनालाई पक्राउ गरी आजै सार्वजनिक गरेको थियो ।

दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर २ रुपैयाँ अनुदान

कोशी प्रदेश सरकारले छ जिल्लामा दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर दुई रुपैयाँका दरले अनुदान दिएको छ ।

स्थानीय तथा ग्रामीण क्षेत्रमा भैँसी तथा गाईपालन गरेर दूध उत्पादन गर्दै आएका किसानलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि दूधमा प्रतिलिटर दुई रुपैयाँका दरले अनुदान रकम प्रदान गरिएको हो । शुक्रबार नवयुग दुग्ध सङ्कलन तथा वितरण केन्द्र इनरुवा–५ बलाहामा कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाको हातबाट किसानलाई अनुदान रकम प्रदान गरिएको छ ।

डेरीमा प्राप्त दूधको विवरणानुसार अनुदान रकम प्रदान गरिएको नवयुग दुग्ध सङ्कलन तथा वितरण केन्द्रका सञ्चालक गोविन्द पोखरेलले जानकारी दिए । केन्द्रमा दूध दिने दुई सय किसानलाई अनुदान रकम हस्तान्तरण गरिएको उनले बताए । ग्रामीण क्षेत्रमा भैँसी तथा गाईपालन गरेर दूध उत्पादन गर्दै आएका किसानलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि प्रदेश सरकारले चालू आवमा १२ करोड ५० लाख रुपैयाँ अनुदानका लागि विनियोजन गरेको छ ।

कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा र इलामका चिस्यान केन्द्र, डेरी तथा सहकारीका माध्यमबाट किसानलाई अनुदान दिइने कार्यक्रम रहेको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका प्रमुख सचिव मेघनाथ तिमिल्सिानाले बताए ।

जिल्लाका भेटेरिनरी अस्पतालबाट सूचना नै जारी गरेर दूध सङ्कलन गर्ने संस्थासँग आवेदन माग गरेको र आवेदनबाट सुनसरीको हकमा १८ संस्था छनोटमा परेकाले सोही संस्थामार्फत किसानको तथ्याङ्क सङ्कलन गरेर उनीहरुलाई अनुदान रकम वितरण गरिएको जानकारी दिए ।

थप ९९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एक हजार ६३५ वटा नमुना परीक्षण गर्दा ९९ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा २६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३७३ पुगेको छ ।

शुक्रबारसम्म अस्पतालमा भर्ना भएका १७ जनामध्ये चार जना आईसीयू तथा एक जना भेन्टलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारीमा मृत्यु भएकाहरुको सूचना बेच्ने सरकारी कर्मचारी पक्राउ

वैदेशिक रोजगारीमा मृत्यु भएकाको सूचना बेचेर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले आज एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डका नायब सुब्बा पशुपति अधिकारी रहेका छन् ।

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको सूचना बेच्ने गरेको खुलेपछि आज नासु अधिकारीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक डा. मनोज केसीले बताए ।

उनले भने, “वैदेशिक रोजगारीमा मृत्यु भएका मान्छेको नाममा रकम असुलेर ठगी गर्ने कार्यमा संलग्न गिरोहका छ जना पक्राउ गरी आज सार्वजनिक गरेपछि उनीहरुले दिएको बयानका आधारमा हामीले अधिकारीलाई पक्राउ गरेका हौं ।”

अधिकारीसहित सबै अभियुक्तमाथि थप अनुसन्धान भइरहेको वरिष्ठ प्रहरी उपरीक्षक डा. केसीले जानकारी दिए ।

देशभर सेवा बिस्तार गर्दै आँखा अस्पताल

नेपाल आँखा अस्पतालले देशभर सेवा विस्तार गर्न स्थानीय तहको सरकारसँग सहकार्य गर्ने भएको छ । देशमा आँखाको उपचार सेवा व्यापक गर्न, दुर्गम र सुविधाविहीन क्षेत्रमा आँखा उपचार शिविर सञ्चालनका लागि स्थानीय तहसँगको सहकार्य जरुरी भएको अस्पतालको भनाइ छ ।

अस्पताल स्थापनाको स्वर्ण महोत्सव शुभारम्भको अवसरमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष गोपालप्रसाद पोखरेलले अस्पतालको उद्देश्य आँखाकाे उपचारमा सबैको सहज पहुँच पुर्‍याउने रहेको बताए । ‘आँखा उपचारमा सबैको पहुँचमा आवश्यक छ, विशेष गरी दुर्गम र सुविधाविहीन क्षेत्रमा उच्च गुणस्तरको उपचार सेवा उपलब्ध गराउन स्थानीय तह र सरकारसँग समन्वय गरी काम गर्ने तयारी भइरहेको छ’, उनले भने ।

विसं २०३० चैत २६ मा त्रिपुरेश्वरमा स्थापना भएको नेपाल आँखा अस्पतालले आइतबार स्थापनाको स्वर्ण महोत्सव मनाउँदै छ । अस्पतालले हालसम्म ३१ लाख ८२ हजार पाँच सय ७९ जनालाई सेवा उपलब्ध गराएको छ भने एक लाख २५ हजार तीन सय ७९ जनाको आँखाको शल्यक्रिया गरेको छ ।

हाल १४ नेत्ररोग विशेषज्ञ रहेको अस्पतालमा कर्निया, मोतियाविन्दु, जलविन्दु, रेटिना, अकुलोप्लाष्टी एवं बाल आँखा उपचारलगायतका सेवा उपलब्ध छन् । हाल अस्पतालबाट दैनिक सात सय बिरामीले बहिरङ्ग सेवा लिने गरेका छन् । अस्पतालले विभिन्न समयमा विद्यार्थीका लागि निःशुल्क आँखा परीक्षणका साथै चस्मा वितरण गर्दै आएको अध्यक्ष पोखरेलको भनाइ छ ।

उनका अनुसार काठमाडौँको त्रिपुरेश्वरस्थित अस्पतालसहित अन्य छ शाखाबाट विभिन्न ठाउँमा सेवा उपलब्ध गराइरहेको छ । आगामी दिनमा सेवा विस्तार गर्ने बारे योजना बनाइरहेको उनले जानकारी दिए ।

अस्पतालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत एमडी, अप्टोमेट्री र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत नेत्र सहायक तालिम दिँदै आएको छ ।

‘सेवा उपलब्ध गराउन एवम् जनशक्ति उत्पादनका लागि भौतिक पूर्वाधार अभाव छ । सेवा विस्तारका लागि छिट्टै नै थप भवन तथा पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ’, अध्यक्ष पोखरेलले भने । उनका अनुसार अस्पतालले सरकारबाट सञ्चालनका लागि पुँजीगत अनुदान प्राप्त गर्दै आएको छ ।

वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेका परिवारलाई ठगी गर्ने गिरोह सार्वजनिक

वैदेशिक रोजगारीमा क्रममा मृत्यु हुनेका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले आज दिउँसो पत्रकार सम्मेलन गरी काठमाडौँको गोङ्गबु बस्ने रामबहादुर तामाङसहित छ जनालाई सार्वजनिक गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसीका अनुसार पक्राउ परेकाहरूमा सर्लाही लालबन्दी–८ का विनोदकुमार लामा, डिकबहादुर मल्ल, रविन भन्ने रवीन्द्र मोक्तान, प्रकाशबहादुर गोले र रुद्रमान गोले छन् ।

उनीहरूका साथबाट विदेशमा ज्यान गुमाएका व्यक्तिहरूको नागरिकता, राहदानी, जन्ममिति, विवाहदर्ता र मृत्युदर्ता, वडा कार्यालयको सिफारिस लगायतका कागजात बरामद भएको प्रहरीले पत्रकार सम्मेलनमार्फत जनाएको छ । पक्राउ परेकाहरूले वैदेशिक रोजगारीमा गई मृत्यु भएकाका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

वैदेशिक रोजगारीका लागि विदेशमा काम गर्दागर्दै केही कारणले मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरूले बीमाबापत पाउने बीमा रकम मृतकका आफन्तहरूलाई दिलाई दिने भन्दै उनीहरूले ठगी गर्ने गरेको र त्यसबापत उनीहरूले प्रतिमृतक सात लाख रुपैयाँ सम्म ठगी गरेको खुलेको एसएसपी केसीले दाबी गरे । यसबारे अपराध अनुसन्धान कार्यालयमा उजुरी परेपछि विशेष अनुसन्धान टोलीले उनीहरूको खोजतलास थालेको थियो ।

वैदेशिक रोजगारीमा गई कार्यस्थलमा मृत्यु भएकाको परिवारले १४ लाख रुपैयाँ र नेपालमा छुट्टीमा आउँदा मृत्यु भएमा १३ लाख रुपैयाँ बीमाबापतको क्षतिपूर्ति पाउने व्यवस्था छ ।

यस्तै, वैदेशिक रोजगार बोर्डबाट अतिरिक्त सात लाख रुपैयाँ पनि पाउने व्यवस्था छ । उनीहरूका परिवारले स्वतः पाउने रकममा पनि प्रलोभनमा पारेर ठगी गर्ने गरेको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरूलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ८ : ५९ बजे

गाजा युद्धको विरोध भएपछि अमेरिकाका विश्वविद्यालयबाट सयौं विद्यार्थी पक्राउ

न्युयोर्क – अमेरिकाको विश्वविद्यालयहरुमा गाजा युद्धको विरोध हुन थालेपछि सयौं

कालिकामा एकल, दलित र विपन्न महिलालाई सवारी चालक तालिम

नारायणगढ– कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४

गर्मी बढेपछि बङ्गलादेशका सबै विद्यालय बन्द : तीन करोड बढी विद्यार्थी प्रभावित

काठमाडौं – बङ्गलादेशमा अत्यधिक गर्मी भएपछि तीन दिनको लागि सबै

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक