प्रतिनिधिसभाको शून्य समयमा कुन सांसदले के भने ? | Khabarhub Khabarhub

प्रतिनिधिसभाको शून्य समयमा कुन सांसदले के भने ?


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नागरिकता विधेयक, सडकलगायत पूर्वाधार निर्माणमा भएको ढिलासुस्ती, मल तथा बीउबिजनमा देखिएको अभावदेखि सुकुम्बासी र भूमिहीनका विषय उठान गरिएका छन् ।

बैठकको शून्य समयमा बोल्दै सांसद अच्युतप्रसाद मैनालीले तराईका विभिन्न जिल्लामा रहेका स्वास्थ्य संस्थामा भएका उपकरण कामविहीन अवस्थामा रहेको र नारायणी क्षेत्रीय अस्पतालको एमआरआई मेसिन नचलेको विषय उठाए । गर्मी बढ्दा मधेशमा जनजीवन प्रभावित भएको पनि बताए ।

सांसद अनिसा नेपालीले जातीय छुवाछुत दण्डनीय भए पनि यो विभेद अन्त्य हुन नसकेको बताइन् । छुवाछुतविरुद्धको कानुन बलियो हुन नसकेकोले संसद्ले यो विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनको धारणा थियो ।

सांसद अमरबहादुर थापाले दैलेखमा पेट्रोलियम अन्वेषणका लागि चिनियाँ टोलीले काम गरिरहेको भए पनि त्यहाँ जानका लागि सडक पहुँच नरहेको र जग्गा अधिग्रहणको काम नसकिएको धारणा राखे । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा खानी उत्खनन गर्ने विषय राखेको भए पनि त्यसलाई कार्यान्वयनका लागि पूर्वाधार निर्माणमा ध्यान पुर्‍याउन नसकेको बताए ।

सांसद अम्मरबहादुर रायमाझीले पशु चौपायामा देखिएको ‘लम्पी स्किन’ रोगका विषयमा संसद्‌मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

सांसद अमरेशकुमार सिंहले सवारी दुर्घटना बढ्न थालेकाले सडक सुरक्षामा ध्यान दिन नसकेकाका कारण धेरै जनाले ज्यान गुमाउनु परेको बताए । सडक सुरक्षाको मापदण्ड पूरा नभएको विषयलाई गम्भीररूपमा लिइनुपर्ने उनको भनाइ छ । सांसद एकनाथ ढकालले पनि सडकका खाल्डाखुल्डी बढेको र सरकार तथा मातहतका निकायको कमजोरीका कारण सडक दुर्घटना बढेको धारणा राखे ।

सांसद अमृतादेवी अग्रहरीले बर्खेबाली लगाउने बेलामा किसानले मलखाद र बिउबिजन पाउन नसकेको विषय उठाए । तराईका जिल्लामा भारतसँगको सीमा नाकाबाट मल तथा बिउबिजन चोरी निकासी हुने गरेको र सरकारका सम्बन्धित निकायले यो विषयलाई ध्यान पुर्‍याउन नसकेको उनको भनाइ छ ।

सांसद अर्जुन नरसिंह केसीले सहकारी संस्थाका बचतकर्ताको १० अर्बभन्दा बढी रकम डुब्ने अवस्थामा रहेकाले सरकारले गठन गरेको अध्ययन समिति प्रभावकारिताबारे प्रश्न गरे ।

सांसद अस्मा कुमारी चौधरीले भूमिहीन र सुकुम्बासीको समस्या देशभर रहेकाले यो समस्या समाधानका लागि शक्तिशाली आयोग बनाएर जानुपर्ने माग गरिन् ।

सांसद अशोककुमार चौधरीले सुनसरीको रामधुनी– ९ मा निर्माणाधीन पुल अलपत्र परेको भन्दै काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्न माग गरे ।

सांसद असिम शाहले साझा यातायातले बिजुली बस सञ्चालनमा ल्याउन नसकेको विषय उठाए । साझा यातायातले ३७ वटा बिजुली बस किनेकोमा जम्मा तीन वटा मात्रै सञ्चालनमा ल्याएको र ३४ वटा अझै सञ्चालनमा आउन नसकेको बारे चासो व्यक्त गरे । रुट पर्मिट, चार्जिङ सुविधा, पार्किङलगायतका सुविधा नपाउँदा साझा यातायातले आफ्नो सेवा दिन नसकेको उनको भनाइ छ । 

सांसद ईश्वरबहादुर रिजालले दोलखा, सिन्धुपाल्चोक र रामेछापमा गौरीशङ्कर संरक्षण क्षेत्रका कारण स्थानीयले बारीमा उम्रेको रूखबिरुवा समेत काट्न नपाउँदा त्यसले धेरै किसानका बारी जङ्गलमा परिणत भएको बताए ।

सांसद ईश्वरी घर्तीले सगरमाथा आरोही हरि बुढामगरलाई सरकारले बर्सेनि कुनै सेवा सुविधा उपलब्ध गराउने गरी सम्मानित गर्नुपर्ने र माध्यमिक तहको पाठ्यक्रममा उनको जीवनी समावेश गरिनुपर्ने माग राखिन् । 

सांसद गोकुलप्रसाद बाँस्कोटाले पाँचखालमा तरकारी बालीमा कीरा लागेकाले कीटनाशक औषधिको सहज उपलब्धताका लागि माग गरे ।  

सांसद चित्रबहादुर केसीले मध्यपहाडी लोकमार्गको काममा भएको ढिलाइको विषय उठाए । मध्यपहाडी राजमार्गमा काम नगर्ने ठेकेदारसँगको ठेक्का खारेज गरी अर्को ठेक्का लगाएर तत्काल काम सुरु गर्न उनले माग गरे । 

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  १ : १३ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको