दियालो बङ्गला सर्वसाधारणको लागि खुला हुँदै, के छ दरबारमा ? | Khabarhub Khabarhub

दियालो बङ्गला सर्वसाधारणको लागि खुला हुँदै, के छ दरबारमा ?


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

चितवन- भरतपुर महानगरपालिकाको आग्रहपछि यहाँको दियालो बंगला सर्वसाधारणका लागि सन् २०२४ को प्रारम्भदेखि खुला गरिने भएको छ । नेपाल ट्रष्टको बुधबार बसेको ७८ औँ सञ्चालक समितिको बैठकले दियालो बंगला सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिका सदस्य देवीचन्द्र उपाध्यायका अनुसार यसको सञ्चालनका सम्बन्धमा अर्को बैठकमा निर्णय गरिँदै छ ।

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाउँदै छ । महानगरपालिकाको अनुरोधमा दियालो बंगला सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

उनका अनुसार भरतपुर महानगरपालिकासँग सहकार्य गरेर सर्वसाधारणका लागि प्रवेशको व्यवस्था मिलाइनेछ । जीर्ण रहेको संरचनाको मर्मतसम्भार र अत्यावश्यक थप संरचनासमेत निर्माण गरेर खुला गरिने उनको भनाइ छ ।

सञ्चालक सदस्य उपाध्यायले भने, ‘भरतपुर भ्रमण वर्षमा सर्वसाधारणले दियालो बंगला हेर्न पाउँछन् ।’ ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला तत्कालीन राजा महेन्द्रले निर्माण गरेका हुन् ।

तत्कालीन राजा महेन्द्रको निधन भएको दियालो बंगला ३५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । तत्कालीन राजपरिवार यही दरबारमा आएर बस्ने, नारायणी नदी किनार क्षेत्रमा घुम्ने गर्थे ।  अहिले यस दरबार क्षेत्रमा नेपाल ट्रष्टका केही कर्मचारी व्यवस्थापनका लागि छन् भने सुरक्षा तथा संरक्षण नेपाली सेनाले गर्दै आएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षमा थप महत्वपूर्ण गन्तव्य दियालो बंगला  दरबारलाई बनाइएको बताइन् । महानगरले लिखितरुपमा नेपाल ट्रष्टलाई आग्रह गरेपछि खुला गर्ने निर्णय गरिएको हो ।

नगरप्रमुख दाहालले नेपाल ट्रष्टसँग सहकार्य गरेर सर्वसाधारणका लागि दियालो बंगला खुला हुने बताए । उनले भनिन्, ‘भ्रमण वर्षलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेमा हामी लागिरहेका छौँ ।’

नेपाल ट्रस्ट प्रधानमन्त्री कार्यालयअन्तर्गत पर्छ ।  महानगरले दियालो बंगलालाई खुला गर्न अधिकतम प्रयास गरेपछि ट्रष्टले निर्णय गरेको हो ।

के छ दरबारमा ?
दियालो बंगला क्षेत्र देवघाट प्रवेशद्वारमा छ । ऐतिहासिकरूपले निकै महत्वपूर्ण मानिएको दरबार यतिबेला प्रयोगविहीन भएकाले ओझेलमा छ । दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा राजा महेन्द्र र वीरेन्द्रको तस्बिर देख्न सकिन्छ । भर्याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको राखिएको छ ।

दरबारमा पाँचवटा खोपी छन् । १ नम्बरको खोपी मुमा रत्नराज्यको हो भने २ नम्बरको राजा र ३ नम्बरको रानी तथा ४ र ५ नम्बरको खोपी राजपरिवारका अन्य सदस्यका हुन् । सबै खोपीमा भित्रै शौचालय पनि छ ।

राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको त्यस्तै राखिएको छ । दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि आवास  पनि छ । साथै सो क्षेत्रमा ‘ग्यारेज’ र त्यसको छेउमा ‘स्विमिङ पुल’ पनि छ ।

ऐतिहासिक यो दरबार सर्वसाधारणको पहुँचभन्दा बाहिर छ । शान्त एवं रमणीय यो बंगलाको पश्चिम भएर बग्ने नारायणी नदीले दरबार क्षेत्रको सौन्दर्य बढाएको छ भने दरबारको बगैँचाले जोकोहीलाई आकर्षित गर्छ । 

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ९ : ५७ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार