कालीगण्डकी प्रसारण लाइन : तीन वर्षदेखिको अवरोध हटाइँदै « Khabarhub

कालीगण्डकी प्रसारण लाइन : तीन वर्षदेखिको अवरोध हटाइँदै


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

पर्वत – राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी प्रसारण करिडोरअन्तर्गत कुश्मा–बुटवल खण्डको फलेवासमा भइरहेको अवरोध हट्ने भएको छ । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणमा तीन वर्षदेखि फलेवास नगरपालिका–६ मा स्थानीयले अवरोध गरेपछि काम ठप्प बनेको थियो ।

फलेवास–६ देवीस्थानस्थित विद्यालय र रङ्गशालामा क्षति पुग्ने भन्दै स्थानीयले प्रसारण लाइनको रुट सार्न माग गर्दै निर्माणमा अवरोध गरेका थिए । स्थानीयको अवरोधका कारण फलेवासमा प्रसारण लाइनका चार टावर निर्माण हुन सकेका छैनन् । लामो समयसम्म काम अघि बढ्न नसकेपछि नेपाल विद्युत् प्राधिकरणको टोलीले पहल थालेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान, आयोजना प्रमुख चन्दन घोषसहितको टोलीले स्थलगत निरीक्षण गरी काम अघि बढाउन पहल गरेको हो । टोलीले स्थानीयसँग छलफल गरेको थियो ।

कालीगण्डकी र यसका सहायक खोलामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि यो लाइन महत्वपूर्ण रहेकाले निर्माणमा अवरोध नगरिदिन टोलीले आग्रह गरेको छ । लाइन अभावमा जलविद्युत् आयोजनाको विद्युत् मुख्यरुपमा वर्षायाममा प्रवाह गर्न नसकिएकाले यसबाट मुलुकलाई ठूलो क्षति भइरहेकाले निर्माणमा सहयोग गर्न कार्यकारी निर्देशक कुलमान घिसिङले अनुरोध गरेका छन् ।

प्रसारण लाइनको टावर सार्न सम्भव भए-नभएको विषयमा प्राविधिक टोलीले चार-पाँच दिनभित्रमा सर्वेक्षण सम्पन्न गर्ने सहमति भएको छ । “प्रसारण लाइनमुनि विद्यालय पर्छ भन्ने स्थानीयको कुरा थियो । तर स्थलगत निरीक्षणका क्रममा विद्यालय नपर्ने देखिएको छ”, घिसिङले भने– “सर्वेक्षण सम्पन्न भएपछि विद्यालयलाई प्राथमिकतामा राखी प्राविधिकरुपमा सम्भव भएसम्म टावरलाई रङ्गशालाको डिलतर्फ च्यापेर टावर निर्माण गर्ने सहमति भएको छ ।”

विद्यालयलाई जोगाएर प्राविधिकरुपमा सम्भव भएसम्म रङ्गशालालाई पनि कम असर पर्ने गरी टावर निर्माण गरिने घिसिङको भनाइ छ । कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि नेपाल सरकार, प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो ।

आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको ३९ दशमलव छ किलोमिटर खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । खुर्कोटमा २२०-१३२ केभी र दानामा २२०-१३२-३३ केभी सवस्टेसन निर्माण गरिएको छ । करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको सुनवल नगरपालिका–१३ भुमहीस्थित (नयाँ बुटवल सवस्टेसन)सम्मको ८८ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । यस खण्डमा पर्ने दुई सय ३५ टावरमध्ये फलेवासमा पर्ने चारवटाको निर्माण बाँकी छ । प्रसारण लाइन निर्माण असारभित्रमा सम्पन्न गर्ने गरी काम भइरहेको आयोजना प्रमुख चन्दन घोषले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ९ : ५० बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको