बदाम खेतीबाट मनग्य आम्दानी  | Khabarhub Khabarhub

बदाम खेतीबाट मनग्य आम्दानी 


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

बझाङ- खप्तडछान्ना गाउँपालिका वडा नं ५ कालुखेतीका नारु गिरीले बदाम खेती गर्न थालेको दुई दशक भइसक्यो । विसं २०५८/५९ सालतिर खानेपानी कार्यालय बाजुराबाट फर्किएपछि व्यावसायिक रूपमा कृषि खेती सुरु गरेकी गिरीले मौसमी तरकारी, उन्नत जातको खाद्य बाली आफैँ पटक–पटक परीक्षण गर्दै खेती बढाएकी हुन् ।उनी व्यावसायिक रूपमा बदाम खेती गर्ने एक्ली किसान हुन् ।

विभिन्न तरकारी, खाद्य बाली र फलफूलको परीक्षण गरेका उनलाई सबैभन्दा बढी सफलता भने बदाम खेतीबाटै मिलेको छ । एक बोरा धान फल्ने गह्रामा तीन बोरा बदाम फल्ने भएपछि उनी बदामतर्फ आकर्षित भएकी हुन् ।

‘बाजुराबाट आइसकेपछि तरकारी खेतीतर्फ लागेँ, त्यस बेलामा मेरै बारीमा हरियो साग, गोलभेडा र आलु राम्रो उत्पादन हुन्थ्यो’, उनले भनिन्, ‘गाउँमा सबैले तरकारी खेतीमा लागेपछि हामीले आफूलाई पुग्ने मात्रै तरकारी खेती गरेर बाँकीमा बदाम खेती सुरु गर्‍यौँ ।’

गिरीलाई बदाम खेती गर्न धेरै सङ्घर्ष गर्नुपरेन । वर्षौँदेखि बाँझो रहेको जमिनमा बदाम लगाएपछि सुरु कै वर्ष आकर्षक उत्पादन भएको थियो । त्यो बेलाको अवस्था सम्झँदै गिरी भन्छिन्, ‘पहिलो वर्ष उत्पादन भएको एक बोरा बदाम त धनगढी पनि पुर्‍याएको थिएँ ।’

गिरीले हरेक पटक फरक–फरक खेती गर्छिन् । उनले हरेक खेती पटक–पटक राम्रो हुँदैन भन्ने बुझेकी छिन् । ‘एक वर्ष धान रोपे अर्को वर्ष मकै, त्यसपछि आलु, अदुवा, लसुन, प्याज । केही न केही फरक खेती लगाएकै हुन्छु । त्यसले उत्पादन कहिल्यै घट्दैन’, उनले भनिन्। हरेक वर्ष फरक–फरक खेती गरेमा बेसा (खाद्यान्न) गर्नु नपर्ने उनी बताउँछिन् ।

गिरीको अनुभवमा ठाउँ परिवर्तन गर्दै र तातो ठाउँमा बदाम धेरै फल्छ । नयाँ बारीमा सुरु गर्दा एक बोरा धान फल्ने ठाउँमा पाँच बोरासम्म उनले बदाम फलाएकी छिन् । बगरको ठाउँ, सडक खनेको माटोमा बदाम राम्रो फल्ने गरेको उनको अनुभव छ । ‘हरेक खेती जति फेरबदल भयो त्यति राम्रो हुन्छ’, उनले भनिन् ।

खप्तडछान्ना गाउँपालिकाका कृषि शाखाका निमित्त प्रमुख गौरीशङ्कर रोकायाले पनि बदामका लागि ठाउँ फेरिनुपर्ने बताउँछन् । ‘बदाम बगर क्षेत्र र गर्मीमा राम्रो उत्पादन हुन्छ,’ उनले भने, ‘ताप बढी भइरहने ठाउँ बदाम खेतीका उपयुक्त मानिन्छ ।’ बदाम खेती बढाउनका लागि पालिकाले किसानलाई पनि सल्लाह तथा सुझाव दिनुका साथै अनुदानका कार्यक्रम पनि ल्याएको छ ।

खप्तडछान्ना गाउँपालिकामा व्यावसायिक रूपमा गिरीबाहेक बदाम खेती अरू कसैले गरेको छैन । गिरीले पनि आफ्नै बारीमा मात्रै बदाम खेती गरिरहेकी छिन् । ‘मैले पनि धेरै लगाउन सकेको छैन,’ गिरीले भनिन्, ‘एक त हाम्रो तिर ठाउँ पनि खासै छैन । भएको जमिनमा पनि फरक-फरक खेती गरिएको छ ।’

गिरीले स्थानीय सरकारले पनि बजारका लागि सहयोग गर्ने आश्वासन दिएकाले अर्को वर्षदेखि थप जमिनमा बदाम लगाउने तयारी गरेको बताइन्। कृषि शाखाका निमित्त प्रमुख रोकायाले व्यावसायिक कृषि खेती गर्ने किसानका लागि पालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘हामीले यसभन्दा अगाडि पनि सहयोग गर्दै आएका हौँ । यस पटक पनि अनुदानका कार्यक्रम ल्याएका छौँ । किसानले बजारको चिन्ता लिनुपर्दैन’, उनले भने ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ७ : ०४ बजे

मुस्ताङ कारागार : एउटै भवनमा कैदीबन्दी र सुरक्षाकर्मी

मुस्ताङ– जोमसोमस्थित कारागारमा कैदीबन्दी र सुरक्षाकर्मी एउटै भवनमा बस्न बाध्य

मल्टीपर्पस फाइनान्सको सिइओमा सिंह

काठमाडौं– मल्टीपर्पस फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा रजनीश

किमकी छोरी पहिलो पटक अन्तर्राष्ट्रिय मञ्चमा, उत्तराधिकारी बनाउने अड्कल झन् बलियो

बेइजिङ – चीनको ‘भिक्ट्री डे’ सैन्य परेडमा सहभागी हुन उत्तर

लाखे जात्रा व्यवस्थित बनाउन सरोकारवालाबीच छलफल 

काठमाडौं– काठमाडौंको ऐतिहासिक तथा महत्वपूर्ण चाड इन्द्रजात्रा सभ्य र भव्य बनाउने

समता घरेलु लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ? 

काठमाडौं– समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री