आज दिनभर देश सफा गर्न नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने मेयर बालेनको टिप्पणी, भ्रष्टचारीलाई जवाफ नदिने बरु जेल कोच्ने रास्वपा सभापति लामिछानेको उद्घोष,नेकपा एसका वरिष्ठ नेता न्यौपानेद्वारा पार्टी परित्याग, एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाबाट जोगियो, थप ६४ जनामा कोरोना संक्रमण पुष्टिलगायत समाचारले प्रमुख स्थान पाए ।
देश सफा गर्न नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने मेयर बालेनको टिप्पणी
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजनीतिक दलको नेतृत्व प्रति असन्तुष्टि जनाउँदै कडा टिप्पणी गरेका छन् ।
काठमाडौँको फोहोर उठाउने सन्दर्भमा मेयर साहले शनिबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेखेर राजनीतिक दलका नेतृत्व प्रति कडा टिप्पणी गरेका हुन् ।
उनले आजदेखि सिंहदरबारको फोहोर नउठ्ने बरु त्यहाँका नेताहरूलाई सिस डोलमा डम्प गर्नु पर्ने बताएका छन् ।
‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। ‘साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।’
भ्रष्टचारीलाई जवाफ नदिने बरु जेल कोच्ने रास्वपा सभापति लामिछानेको उद्घोष
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले भ्रष्ट मानिस र युवाहरूलाई पलायन गर्ने राजनीतिक दलका नेतालाई जवाफ दिन नसकिने बताएका छन ।
चितवन-२ को उपनिर्वाचनका लागि आयोजना गरिएको आबुखैरेनी सभालाई सम्बोधन गर्दै ३० वर्ष सरकारको नेतृत्व गर्नेहरूले युवाहरूलाई देशबाट पलायन गराएको उनको आरोप पनि छ ।
नौ महिनाअघि खुलेको पार्टी र ३० दिन मात्र सरकार चलाएको पार्टीलाई प्रश्न गर्ने ठाउँ नभएको पनि उनको भनाइ छ ।
‘हामीलाई त्यस्ता मान्छेहरुले आलोचना गरिरहेका छन्, जसलाई हामीले जेल कोच्ने भनेर लिस्ट बनाई राखेका छौं,’ लामिछानेले भने, ‘त्यसैले भ्रष्ट मानिसहरूले सोधेको जवाफ एउटा पनि दिन्न किनकी तीनलाई जेल कोच्ने हो, जवाफ दिएर हिँडने होइन ।’
उपनिर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरूको चुनावी सभाहरू सुरु हुन थालेका छन् ।
नेकपा एसका वरिष्ठ नेता न्यौपानेद्वारा पार्टी परित्याग
नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन् ।
शनिबार पत्रकार सम्मेलन गर्दै न्यौपानेले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। भविष्य नभएको पार्टीमा बस्नुभन्दा सम्मानित नागरिक भएर बस्नु ठीक भएको भन्दै उनले पार्टी परित्याग गरेका हुन्। एकीकृत समाजवादीले परिचय दिए पनि पहिचान दिन नसकेको, अवसरवादमा लिप्त् भएको उनको आरोप छ ।
उनले देशभरका नेता कार्यकर्ता समेटेर एमालेमा समाहित हुने तयारी रहेको समेत पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाबाट जोगियो
धुम्बाराहीरस्थित ह्याम्स अस्पतालमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाबाट जोगिएको छ ।
अस्पतालको छतमा हरेको हेलिप्याडमा अवतरणका क्रममा उक्त हेलिकप्टर दुर्घटनामा परेको भन्ने जानकारी पाएपछि सम्बन्धित अधिकारीले घटनाको अनुसन्धान गरिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले ह्याम्स अस्पतालमा एयरडाइनेस्टीको हेलिकप्टरमा प्राविधिक समस्या आएको जानकारी पाइएको बताए । घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न सम्बन्धित एयरलाइन्सका अधिकारी अस्पताल पुगेका छन् ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार उक्त हेलिकप्टर अहिले पनि अस्पतालको हेलिप्याडमा नै रहेको छ । अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टरको पछाडिको पङ्खा खुस्किएर नजिकैको घरको छानामा खसेको बताइएको छ ।
हेलिकप्टरको अहिले प्राविधिकले मर्मत गरिरहेका छन् । दुर्घटनामा कुनै पनि क्षति नभएको र थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ । ह्याम्स अस्पतालका एक कर्मचारीले छतमा हेलिकप्टर अवतरणका क्रममा केही प्राविधिक समस्या देखिएको जानकारी पाएको बताए ।
“हामीले हेलिकप्टरमा समस्या आएको भन्ने जानकारी पाएका हौँ, हेलिकप्टर कम्पनीका अधिकारी अस्पताल आउनुभएको छ ।” उनले भने ।
उक्त हेलिकप्टर चिकित्सकसहितको टोलीसहित बिरामी लिनका लागि चितवनको भरतपुर जान विमानस्थलबाट ह्याम्स अस्पताल उडेको विमानस्थलले जनाएको छ ।
एनओसी प्राप्त गर्न सरकारले कडाइ गरेपछि व्यवसायीको आपत्ति
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९’ मा समेटिएका विषयप्रति व्यवसायीले आपत्ति जनाएका छन् ।
नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को आज डिल्लीबजारमा बसेको बैठकले विदेश अध्ययनका लागि आवश्यक अनुमतिपत्र (नो अब्जेक्सन लेटर–एनओसी) प्राप्त गर्न जारी निर्देशिकामार्फत सरकारले कडाइ गरेपछि आपत्ति जनाएको हो ।
इक्यानका कार्यवाहक अध्यक्ष देवीदास भट्टराईको अध्यक्षतामा बसेको सल्लाहकार तथा पदाधिकारीको बैठकले निर्देशिकामा भएका केही प्रावधान सच्याउनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेको छ ।
निर्देशिकाले विदेश पढ्न जाने विद्यार्थीको सङ्ख्या बर्सेनि बढ्दै जाँदा अनुमति लिने चरण, शिक्षण संस्था र विषय छनोट, विदेशी मुद्रा सटहीलगायत प्रक्रियामा कडाइ गरेको इक्यानको आरोप छ । निर्देशिकामार्फत गरिएको कडाइलाई सच्याउन माग गर्दै इक्यानले सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।
आजको बैठकले इक्यान एक्लै र अरु छाता संगठनको सहकार्यमा ज्ञापनपत्र बुझाउने निर्णय गरिएको कार्यवाहक अध्यक्ष भट्टराईले बताए। उनले भने, ‘एनओसी सबैका लागि सर्वसुलभ हुनुपर्छ, शिक्षा नागरिकको अधिकार हो, संसारमा जहाँ गएर भए पनि पढ्न पाउनुपर्छ, अहिले जारी गरिन लागेको एनओसी स्नातक वा सोभन्दामाथि अध्ययन गर्न विदेश जाने विद्यार्थीलाई मात्र दिइने भनिएको छ, चाहे स्वदेशमा होस वा विदेशमा नेपालीले पढ्न पाउनुपर्छ, किन नियोजन गर्न खोजिँदैछ, हामी अचम्मित छौँ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेको समयमा गत फागुन १८ गते निर्देशिका स्वीकृत भएको थियो । निर्देशिकामा उल्लेख गरिएको उच्च शिक्षा (स्नातक र त्यसभन्दा माथि) को परिभाषा नमिलेको, एनओसी लिँदा परामर्शदाताले सिफारिस पत्र दिनुपर्ने, विदेश जानुअघि यहाँको परीक्षा पास गरेको हुनुपर्ने प्रावधान हटाउन पर्ने इक्यानको माग छ ।
यसैगरी मन्त्रालयले गठन गर्ने परामर्श समितिमा परामर्शदाताको पनि सहभागिता हुनपर्ने भन्दै ज्ञापनपत्र बुझाउने निर्णय गरिएको इक्यानले जनाएको छ । निर्देशिका आगामी वैशाख २ गतेदेखि लागू हुने जनाइएको छ ।
तीन दलका शीर्ष नेताबीच भएको भेटवार्तामा टीआरसी विधेयकबारे सहमति जुटेन
सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने तीन ठूला दलका शीर्ष नेताबीच भेटवार्ता छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायतको सहभागिता रहेको छ ।
भेटवार्तामा सङ्क्रमणकालीन न्याय निरूपण (टिआरसी) सम्बन्धी विधेयकलाई द्रुतमार्ग (फास्ट ट्याक) बाट पारित गर्ने विषयमा शीर्ष नेताबीच सहमति हुन सकेन ।
सङ्क्रमणकालीन न्याय निरूपण (टिआरसी) सम्बन्धी विधेयकलाई द्रुतमार्ग (फास्ट ट्याक) बाट पारित गर्ने विषयमा सत्तारुढ दल कांग्रेस र माओवादीबाट आएको प्रस्तावलाई प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीले अस्वीकार गरेका थिए ।
प्रमुख विपक्षी दलका नेता ओलीले टिआरसीलाई पहिले संसदीय समितिमा लैजानुपर्ने अडान राखेका थिए । बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले भने, “सदनका काम कारबाहीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा नै छलफल भयो, यो प्रारम्भिक छलफल हो, छलफल सकारात्मक छ, टिआरसीको विषयलाई समितिमार्फत लैजानुपर्ला ।”
प्रधानमन्त्री दाहालले द्रुतमार्गबाट पारित गर्ने प्रस्तावमा एमालेले नमानेपछि विज्ञको सहायतामा बीचको बाटो खोज्ने प्रयास भइरहेको जानकारी दिए । प्रधानमन्त्री दाहालले भने, “खासगरी यो टिआरसीसम्बन्धी वियेयक, संवैधानिक परिषद् र सम्पत्ति शुद्धीकरणसम्वन्धी विधेयकलाई राष्ट्रको निम्ति जतिसक्दो चाँडो टुङ्ग्याउन जरुरी छ भन्ने विषयमा गम्भीर छलफल भयो, त्यसमा सहमति बनाउने भन्ने विषयमा सैद्धान्तिकरुपमा सहमत नै छौँ, तर यस्का केही प्राविधिक पक्ष पनि छन् ।” शीर्ष नेतृत्वमा सोही विषयमा चैत २८ गते पुनः छलफल हुने भएको छ ।
सबै षडयन्त्र चिर्न सफल भएको ओलीको दाबी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई ध्वस्त पार्ने सबै षडयन्त्रलाई चिर्न सफल भएको बताएका छन् ।
शनिबार काठमाडौंमा अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटनमा अध्यक्ष ओलीले एमालेलाई सिध्याउन र ध्वत पार्न अनेक षडयन्त्र भएको भन्दै त्यसलाई चिरेर अहिले एमालेलाई बलियो र सबल पार्टी बनाएको बताए ।
आजको अवस्थामा पार्टी सुरक्षित भएर देशको प्रमुख पार्टीको हैसियतमा उभिन सफल भएको उनको भनाइ छ। उनले एमाले फुटाउनका लागि विचार नभई पद बाँड्ने खेल भएको र त्यसलाई पनि पराजित गरिएको उल्लेख गरे ।
ओलीले आज एमालेभित्र कुनै गुटबन्दी नरहेको भन्दै स्वार्थका आधारमा नचल्न निर्देशन दिए । उनले समृद्ध नेपाल सुखी नेपाली बनाउने लक्ष्य र नेपाली जनतालाई भ्रमबाट मुक्त गर्नका लागि महिला संघ एकढिक्का भएर लाग्न आग्रह गरे ।
थप ६४ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १ हजार १७० नमुना परीक्षण गर्दा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार हाल देशभरमा ३५७ सक्रिय संक्रमित रहेका छन् । उनीहरूमध्ये १५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् भने १५ जनाको आईसीयू र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
उपराष्ट्रपति यादवद्वारा जानकी मन्दिरमा विशेष पूजाअर्चना
उपराष्ट्रपति रामसहाय यादवले जनकपुरधामको जानकी मन्दिरमा आज विशेष पूजाअर्चना गरी प्रसाद ग्रहण गरेका छन् ।
उपराष्ट्रपति यादव जानकी मन्दिरमा आइपुग्दा मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवसहितका साधुसन्तले स्वागत गरेका थिए। उपराष्ट्रपति यादवलाई उत्तराधिकारी महन्थ रामरोशन दासले मन्दिरका बारेमा संक्षिप्तरुपमा जानकारी गराए ।
उपराष्ट्रपति सिरहा जिल्लामा आयोजना हुने कार्यक्रममा सरिक हुन जनकपुरधाम आउनुभएका बेलामा जानकी मन्दिरमा विशेष पूजा गरेका हुन्। सो अवसरमा प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मधेस प्रदेश सरकारका सामाजिक विकासमन्त्री सुरिताकुमारी साह, प्रदेशसभाका सदस्य रामअशिष यादव, धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल अन्य सुरक्षा निकायका प्रमुख सहभागी थिए ।
महिला फुटबलमा नेपाल पराजित
नेपाल फ्रान्सको पेरिसमा अर्को वर्ष आयोजना हुने महिला ओलम्पिक फुटबल प्रतियोगिताको एसियाली छनोटको पहिलो चरणबाट बाहिरिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको समूह सीअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेपाल भियतनामसँग २–० गोलअन्तरले पराजित भएपछि ओलम्पिक छनोटको पहिलो चरणबाटै बाहिरिएको हो ।
यस जितसँगै भियतनाम भने समूह सीबाट ओलम्पिकको एसियाली छनोटको दोस्रो चरणमा प्रवेश गर्न सफल भयो । यसअघि बुधबार भएको पहिलो खेलमा भियतनामले नेपाललाई ५–१ गोलअन्तरले पराजित गरेको थियो ।
पहिलो खेलभन्दा निकै नै सुधारिएको प्रदर्शन गरेको नेपालले खेलको छैटौँ र सातौँ मिनेटलाई जोगाउन नसक्दा प्रतियोगितामा हार बेहोर्न बाध्य बन्यो । खेलमा भियतानमले खेलको पहिलो हाफमा नै दुई गोल गर्यो । भियतनामका लागि दुबै गोल फाम हाइ यनले गरिन । उनले खेलको छैटौँ मिनेटमा गुएँ थि माइ आङको कर्नरमा गोल गरेकी हुन् ।
त्यसको एक मिनेट पनि बित्न नपाउँदै भियतनामले अग्रता दोब्बर बनायो । खेलको सातौँ मिनेटमा फामले व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टोलीको अग्रता पनि दोब्बर बनाइन । उनले ट्रान थि थु थाओको लामो पासलाई सदुपयोग गर्दै गोल गरेकी हुन ।
त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र भियतनामले नेपालमाथि २–० को सहज जित निकाल्यो । समूह सिमा रहेको अफगानिस्तान र प्यालेस्टाइनले खेल नखेल्ने भन्दै नाम फिर्ता लिएपछि नेपाल र भियतनामले मात्र समूह सीबाट प्रतिस्पर्धा गरेका हुन् ।
प्रतिक्रिया