तनहुँको बुद्धसिंह मार्गमा कालोपत्र गरिँदै | Khabarhub Khabarhub

तनहुँको बुद्धसिंह मार्गमा कालोपत्र गरिँदै


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

तनहुँ– पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंहमार्गको १० किलोमिटर खण्डमा कालोपत्रका लागि प्रारम्भिक चरणको काम सुरु भएको छ । 

तनहुँको दमौलीबाट चितवनको घुमाउनेसम्म जोड्ने सो मार्गअन्तर्गत दमौलीबाट कालोपत्रका लागि निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालनी गरेको हो ।

दमौलीबाट सुडेसम्मको उक्त खण्ड कालोपत्रका लागि निर्माण सम्झौता भएको एक वर्षपछि निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार उक्त खण्ड ‘आक्सफाल्ट प्रविधि’बाट सडक कालोपत्र गरिनेछ ।

पूर्वाधार विकास कार्यालयले मैनाचुली, सफल जेभी काठमाडौँसँग विसं २०७९ भदौ २७ गते सडक कालोपत्रका लागि सम्झौता गरेको थियो ।

मूल्य अभिवृद्धि करसहित ३४ करोड २७ लाख ५४ हजार पाँच सय ६० मा सम्झौता गरिएको उक्त खण्डको कालोपत्र विसं २०८२ जेठ ३० गतेसम्म सम्पन्न गर्नुपर्ने म्याद रहेको छ । सम्झौताअनुसार पर्खाल निर्माण, कटिङ, कल्भर्ट, कजवे निर्माण गरिनेछ ।

गण्डकी प्रदेश सरकारले यस मार्गलाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले शनिबार उक्त खण्डको अनुगमन गर्दै कामलाई तीव्रता दिन निर्देशन दिएका छन् । 

सो अवसरमा मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डित, पूर्वाधार विकास निर्देशनालयका प्रमुख लक्ष्मीप्रसाद भण्डारीसहितको टोलीले हालसम्मको कामका बारेमा जानकारी लिएको थियो ।

सो मार्गलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्न लागिएको छ । पृथ्वीराजमार्गअन्तर्गत डुम्रे–आँबुखैरेनी हुँदै घुमाउने पुग्न भन्दा बुद्धसिंहमार्गबाट जाँदा २५ किलोमिटर दूरी कम पर्ने जनाइएको छ ।

गण्डकी प्रदेश सरकारले सो मार्गलाई प्राथमिकतामा राखेर यस वर्षका लागि पाँच करोड बजेट विनियोजन गरेको छ । चितवनको घुमाउनेमा पक्की पुल नहुँदा दमौलीबाट गएका सवारीसाधन पार गर्न मिल्दैन । घुमाउनेमा पुल निर्माणमा ढिलाइ भएकाले पनि वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिएको छैन ।

उक्त पुल निर्माणका लागि विसं २०७५ माघमा सम्झौता भएको थियो । एक सय पाँच मिटर लम्बाइ रहेको पुलको लागत नौ करोड ५६ लाख रुपैयाँ रहेको छ । 

गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंहमार्गको घुमाउनेको उक्त मोटरेबल पुल सडक विभागअन्तर्गतको डिभिजन सडक कार्यालय तनहुँको प्राविधिक सहयोगमा निर्माण हुनेछ ।

उक्त पुलको निर्माण सम्पन्न पश्चात पोखरा र दमौलीलाई नारायणगढ आउन जान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २५ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । 

दमौलीबाट घुमाउनेघाटसम्म नियमितरूपमा साना बस तथा दुई पाङ्ग्रे सवारीसाधन आवतजावत गरे पनि अन्य ठूला सवारीसाधन भने पुलको अभावमा उतै रोकिन बाध्य छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ७ : ०० बजे

ट्रकले ठक्कर दिँदा काभ्रेमा मोटरसाइकल चालकको मृत्यु

काभ्रे – अरनीको राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका– ६ केराघारीमा ट्रकको

गण्डकी प्राविधिक प्रतिष्ठानलाई सवा अर्ब अनुदान

काठमाडौं– दक्षिण कोरिया सरकारले नेपाल सरकारलाई गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार

सूचना नपाएको सूचना अधिकारीकै गुनासो

खोटाङ– खोटाङका जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीले आफूहरूलाई प्राप्त जिम्मेवारीअनुसार

भोजपुरको ‘किरातेश्वर ढुङ्गे बगैँचा’ पर्यटकको आकर्षणको केन्द्र बन्दै

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–९ स्थित किरातेश्वर ढुङ्गे बगैँचा पर्यटकको रोजाइको गन्तव्य

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र