छरुवा धानखेतीबाट किसान लाभान्वित « Khabarhub

छरुवा धानखेतीबाट किसान लाभान्वित


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको कनकाई र शिवसताक्षी नगरपालिकामा कम लागतमा हुने छरुवा धानखेतीको प्रयोग सफल भएको छ । यो प्रविधिबाट गरिएको खेतीले उल्लेखनीय लाभ हुने भएकाले किसान र विज्ञ उत्साही बनेका छन् ।

कनकाई नगरपालिका–५ का ज्ञानेन्द्र शिवाकोटीले पहिलोपल्ट छरुवा धान लगाएका थिए । ‘डुब्नु होला, कस्तो फल्ला भनेर सुरुमा गाउँलेले सचेत गराएका थिए’, उनले भने, ‘अहिले खेतमा अरु प्रविधिबाट गरिएको खेतीले भन्दा बढी उत्पादन दिएको देखेपछि गाउँले हामीलाई पनि सिकाइदिनुपर्यो भन्दै धाउन थालेका छन् ।’

ब्याडमा बेर्ना उमारेर रोप्ने परम्परागत प्रविधिमा नेपालमा धानखेती आधारित छ । तर छरुवा प्रविधिमा धानको बीउ ९बेर्ना० रोप्ने झन्झट नै गर्न पर्दैन । सिधैँ खनजोत गरेको जमिनमा धानको बीउदानालाई मकै छरे जसरी छरिन्छ ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले छरुवा प्रविधिबाट गरिएको धानखेतीमा परम्परागत रोपुवा धानखेतीको तुलनामा आधा लगानीले पुग्ने बताए । ‘रोपुवा खेतीमा भन्दा आधा कम लगानीमै खेती हुने भएकाले छरुवा धानखेतीको फाइदै फाइदा छन्’, उनले भने, ‘परम्परागतरूपमा गरिँदै आएको रोपुवा विधिमै किसान अभ्यस्त भएकाले नयाँ प्रविधिमा जान केही समय लाग्छ । तथापि छरुवा प्रविधिले कम लगानीमा धेरै उत्पादन दिन्छ भन्ने कुरा हामी बुझाउने काम गर्दैछौँ ।’

कनकाई नगरपालिकाका कृषि शाखाका प्रमुख ध्रुवकुमार उप्रेतीले आफ्नै खेतमा यसपालि नयाँ प्रयोगको रूपमा छरुवा धान लगाएका छन् । खेतमा झुलेका धानका बाला देखेर उप्रेती दङ्ग छन् । ‘छरुवा धानखेतीबाट फाइदा हुन्छ भनेर किसानलाई बुझाउन अब सजिलो भएको छ’, उनले भने, ‘किनकि म आफैँले पनि छरुवा प्रविधिबाट धानखेती गरिरहेको छु ।’

कनकाईका धेरै किसानले उप्रेतीसँग छरुवा धानखेतीबारे जिज्ञासा राख्ने गरेका छन् । मौखिकरूपमा कुरा बुझाएरमात्र नपुग्ने भएकाले आफ्नै खेतमा लगेर अवलोकन गराएपछि किसानहरूमा नयाँ प्रविधिप्रति आकर्षण बढेको उनले बताए। एक बिघा १५ कठ्ठा जग्गामा छरुवा धान लगाएको र उत्पादन राम्रै  रहेको उनले जानकारी दिए। 

अर्को वर्ष खेती विस्तार गरेर आठ बिघा जग्गामा छरुवा धान लगाउने सोच रहेको उप्रेतीले बताए । कृषि शाखाले छरुवा धानखेती गर्न इच्छुक किसानलाई परामर्श र अनुदानसमेत दिएर प्रोत्साहित गर्ने नीति लिएको जनाएको छ ।

जोत्ने, हिल्याउने, ब्याड राख्ने, बीउ काड्ने, रोप्ने र गोडमेल गर्नेलगायतका काममा बढी जनशक्ति लाग्ने भएकाले अधिकांश किसान परम्परागत धानखेती घाटादायी भएको गुनासो गर्छन् । 

कतिपयले महँगो खेती भएकै कारण धानखेत मासेर अन्य बाली र नगदे बालीको बगान लगाउन थालेका छन् । छरुवा धानखेतीमा कम जनशक्ति लाग्ने भएकाले किसानका लागि यो प्रविधि बरदान नै हुने विज्ञको भनाइ छ । यसबाट उत्पादनमा वृद्धि हुने र किसानको पलायन रोक्ने उनीहरू बताउँछन् ।

गौरादहको महारानीझोडा कृषि सहकारी संस्थाले जग्गा लिजमा लिएर धेरै क्षेत्रफलमा नमूनाका रुपमा छरुवा धानखेती गरिरहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख विष्टले बताए। बढ्दो वैदेशिक रोजगारीका कारण युवा जनशक्ति विदेश पलायन भएको हुँदा कृषि क्षेत्रमा जनशक्तिको अभाव छ ।

 यस्तो बेला थोरै जनशक्तिले धेरै उत्पादन हुने छरुवा धानखेतीले किसानलाई आकर्षित गरेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ७ : ४७ बजे

बाढी प्रभावित ऋणीलाई राहत: सावाँ-ब्याज किस्ता भुक्तानीको म्याद पुस मसान्तसम्म थप

काठमाडौँ – भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित

दसैँ मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो, दुई दिनमै एक लाखबढीले छाडे काठमाडौं

काठमाडौं– बडादशैंको आगमनसँगै राजधानी काठमाडौं छाडेर गाउँ फर्किनेको चहलपहल बढेको

अटो र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

भैरहवा- रुपन्देहीको रोहिणी गाउँपालिका–३ टुलटेलसस्थित भैरहवा–परासी हुलाकी सडकखण्डमा अटो र मोटरसाइकल

कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री (महिला)