विपद् जोखिममा रहेका पालिकामा साइरन जडान गरिँदै « Khabarhub

विपद् जोखिममा रहेका पालिकामा साइरन जडान गरिँदै


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

टीकापुर– कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा प्रकोपको जोखिम रहेका स्थानमा सूचना प्रवाहका लागि साइरन जडान गर्न थालिएको छ । यी पालिकामा सबैखाले विपद् तथा प्रकोपका समयमा सहज सूचना प्रदान गर्नका लागि बहु–विपद् पूर्व सचेतना उपकरण साइरन जडान गर्न थालिएको हो ।

जानकी गाउँपालिकाका तीन स्थानमा साइरन जडान गरिएको छ भने टीकापुरमा तीन स्थानमा जडान गर्ने तयारी छ । जानकी–४, ६ र ९ मा साइरन प्रणाली जडान भएको पालिकाले जानकारी दिएको छ । विपत् तथा प्रकोपका बेला आइपर्ने सम्भावित जोखिमबाट बच्न तथा क्षति न्यूनीकरण गर्नका लागि स्थानीयवासीलाई सहज र छिटो सूचना दिन साइरन प्रणाली जडान गरिएको गाउँपालिकाका विपद् फोकल पर्सन नेत्रप्रसाद जैशीले बताए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको  १० लाख रुपैयाँ सहयोगमा वडा नं ४ को वडा कार्यालय मुनुवा, वडा नं ६ को बालज्योति आधारभूत विद्यालय जगतपुर र वडा नं ९ को वडा कार्यालय खैरीफाँटामा साइरन जडान गरिएको छ । उनले भने, ‘विपत‍्का बेला प्रयोगमा आउने गरी अहिले साइरन जडान भएको छ ।’

साइरन प्रणालीमार्फत विपद् जोखिम क्षेत्रमा रिमोट कन्ट्रोल, एसएमएस, अनलाइन र साइरनको आवाजमा सूचना सम्प्रेषण हुनेछ । यो प्रणालीमार्फत विपद्का बेला स्थानीय पालिका, जिल्ला, प्रदेश वा केन्द्रबाट सूचना प्रवाह गर्न सकिनेछ । सूचना प्रवाहका लागि पाँच सय मिटर पेरिफेरीमा रिमोटमार्फत वडा कार्यालय, एसएमएस र अनलाइन जानकारीका लागि गाउँपालिका विपद् शाखा र साइरनका लागि सम्बन्धी ठाउँका सम्बन्धित व्यक्तिमार्फत हुने जैशीले बताए ।

यसरी विपत‍्का बेला साइरनबाट प्रवाह हुने, जानकारी दुई किलोमिटरको दुरीसम्म सुन्न सकिने र सोहीअनुसार पूर्वतयारी, सजग तथा सचेत रहनमा सहयोग पुग्नेछ । विगतमा विपद् आउँदा समुदायका सरोकारवाला व्यक्ति तथा बड्घर, जनप्रतिनिधि कहाँ एसएमसमार्फत जानकारी दिने गरिएको थियो । यी दुवै पालिकामा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रमार्फत २४सै घण्टा विपद्सम्बन्धी सूचना प्रवाह भइरहेका छन् ।

‘अब साइरनमार्फत सबैलाई एकै पटक सूचना प्रवाह गर्न सकिन्छ’, जानकी–६ का वडाध्यक्ष इन्द्र चौधरीले भने, ‘सबैले बुझ्न सकिने गरी स्थानीय भाषामा सूचना सम्प्रेषण हुने भएकाले यो धेरै उपयोगी हुनेछ ।’

टीकापुरकासमेत तीन स्थानमा साइरन जडान हुँदैछ । टीकापुरका विजयनगर सहरी स्वास्थ्य केन्द्र, भानु पुस्तकालय सत्ती र वडा नं ६ को वडा कार्यालयमा साइरन जडान गर्ने निर्णय भएको विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले जानकारी दिइन् ।

‘टीकापुर–८ स्थित सत्ती पुलको पोलमा गेज स्केल निर्माण गर्ने भएका छौँ’, उनले भनिन्, ‘टीकापुरले कर्णाली नदी तल्लो तटीय क्षेत्रमा पानीको सतह मापन गर्नका लागि गेज स्केल निर्माण गर्दै छ ।’

यसका साथै टीकापुरमा सञ्चालित एम्बुलेन्सलाई व्यवस्थित गर्न जिपिएस जडान गर्ने प्रदेशको निर्णय कार्यान्वयन गराउन पालिकाले पहल गर्ने भएको छ । नगर प्रमुख रामलाल डगौरा थारुले नगरपालिकाको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्न थालेको बताए । योजना अद्यावधिक गर्न वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक बलिराम चौधरीको संयोजकत्वमा नौ सदस्यीय समिति गठन भएको छ ।

नगर प्रमुख थारुले भने, ‘वडास्तरीय विपद् व्यवस्थापन समिति र समुदायलाई विपद् जोखिम व्यवस्थापनमा मौसम पूर्वानुमानमा आधारित पूर्व कार्य, पूर्व सूचना संयन्त्र तथा विपद् उत्तरदायी सामाजिक सुरक्षासम्बन्धी अभिमुखीकरणसमेत गर्ने तयारी भएको छ ।’

कैलालीका यी पालिका हरेक वर्ष आउने विपद्को जोखिमबाट जोगिन पूर्व तयारीमा जुटेका छन् । बाढीको जोखिम बढी झेल्दै आएका पालिकामा बाढीको समयमा आवश्यक पर्ने सामान, समुदायलाई सचेत गराउन विभिन्न तालिम, विपद्मा खट्ने जनशक्ति तयार जस्ता कार्य भइरहेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  २ : ४८ बजे

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की– पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित

टोलीभित्र कुनै तनाव छैन, रोनाल्डो हाम्रा रोल मोडल हुन्: प्रशिक्षक मार्टिनेज

काठमाडौँ – पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो टोली पहिलेभन्दा

चट्याङ लागेर एक युवकको मृत्यु

झापा– झापाको गौरीगञ्जमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ

सुकुम्वासी व्यवस्थापनमा पन्छिँदै प्रधानमन्त्री

काठमाडाैँ– काठमाडौँ महानगर प्रमुखको कार्यकालमा नै वालेन्द्र शाहले २०८२ साउन

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल