विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

आज असार २४, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई ९, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

अफगानिस्तानमा ७७ किलो हेरोइनसहित एक जना पक्राउ

दक्षिण अफगानिस्तानको उरुज्गान प्रान्तबाट प्रहरीले ७७ किलो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।

अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले ७७ किलो हेरोइनसहित एक व्यक्तिलाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।

पछिल्लो २४ घण्टामा उरुज्गान प्रान्तबाट लागुऔषधसहित ती व्यक्ति, पूर्वी खोस्त प्रान्तबाट थप तीन जना र परवान प्रान्तबाट एक जना लागूऔषध तस्करलाई पक्राउ गरिएको कानीले बताए ।

प्रवक्ताले थप विवरण नदिइकन प्रहरीले पक्टिका र परवान प्रान्तमा लागूऔषधविरोधी अभियान अन्तर्गत २०० एकडमा लगाइएको अफिमखेती पनि नष्ट गरेको बताए ।

अफगानिस्तानको राजधानी काबुल शहरमा पछिल्लो २४ घण्टामा लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै हेरात प्रान्तमा पछिल्लो एक सातामा करिब एक दर्जन लागूऔषध तस्करलाई प्रहरीले पक्राउ गरेको छ ।

अफगानिस्तानको कार्यवाहक प्रशासनका सर्वोच्च नेता मुल्लाह हैबतुल्लाह अखुन्दजादाले गत वर्ष अप्रिलमा जारी गरेको आदेशमा अफिमलगायत अवैध बालीको खेती, लागूऔषध प्रशोधन र ओसारपसारमा प्रतिबन्ध लगाइएको घोषणा गरेका थिए ।

अफगानी दोभासेलाई अमेरिकामा गोली हानी हत्या

सन् २०२१ मा परिवारसहित अफगानिस्तानबाट अमेरिका बसाइँ सरेका एक पूर्व अफगान दोभासेलाई सोमबार वासिङ्टन डिसीमा गोली हानी हत्या गरिएको सीएनएनले जनाएको छ ।

प्रहरीले अहिले शंकास्पद व्यक्तिको खोजी गरिरहेको छ । ३१ वर्षीय नसरत अहमद यारको गाडीमा गोली लागेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनलाई उपचारका लागि अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु भएको थियो ।

तालिवानले अफगानिस्तानको सत्ता कब्जा गर्नुअघि एक दशकसम्म अफगानिस्तानमा अमेरिकी सेनाको विशेष फौजसँग काम गरेका यारले गोली चलाउँदा अतिरिक्त राइडशेयर सिफ्टमा काम गरिरहेका थिए ।

प्रहरीले सार्वजनिक गरेको भिडियोमा उहाँलाई गोली हानेको केही समयपछि चार जना व्यक्ति घटनास्थलबाट भागेको देखिएको छ । शङ्कास्पद व्यक्तिको नाम भने खुलाइएको छैन ।

प्रहरीले आक्रमणकारी पक्राउ गर्ने वा सूचना दिने व्यक्तिलाई २५ हजार अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ ।

लिफ्टका प्रवक्ताले सीएनएनसँग भने, “हामी यस दुःखद घडीमा यस अकल्पनीय त्रासदीको सामना गरिरहेका नसरतका प्रियजनहरूप्रति समवेदना प्रकट गर्दछौँ ।”

ब्राजिलमा भवन भत्किँदा एघार जनाकाे मृत्यु, तीन बेपत्ता

उत्तरपूर्वी ब्राजिलको पेर्नम्बुकोको राजधानी रेसिफेमा शनिबार आवासीय भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने तीन जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् ।

पाउलिस्टा नगरपालिकामा रहेको उक्त भवन शुक्रबार बिहान अज्ञात कारणले भत्किएको हो । वारुणयन्त्र विभागका अनुसार शुक्रबार सात जना मृत अवस्थामा फेला परेका थिए भने अर्को एक जनाको अस्पतालमा मृत्यु भएको थियो । शनिबार बिहान उद्धार टोलीले थप तीन जनाको शव फेला पारेको थियो ।

सन् २०१० मा अदालतको आदेशमा उक्त भवनमा बसोबासमा प्रतिबन्ध लगाइएको थियो तर २०१२ यता कैयौँ परिवार त्यहाँ अवैध रूपमा बसाइँ सरेका थिए ।

सुडानमा भएको हवाई आक्रमणमा २२ जनाको मृत्यु

सुडानमा जारी द्वन्द्वका कारण भएको हवाई आक्रमणमा २२ जना मारिएका छन् । समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी) ले स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो।

एपीकाअनुसार राजधानी खार्तुमको छिमेकी सहर ओमदुरमानको आवासीय क्षेत्रमा हवाई आक्रमण भएको हो । देशमा जारी द्वन्द्वकाबीच राजधानी नजिकै भएको यो सबैभन्दा घातक हमला हो ।

प्रत्यक्षदर्शीसँग कुरा गर्दै बीबीसीले ज्यान गुमाउनेमा महिला र बालबालिका पनि रहेको बताए । उही समयमा र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले ज्यान गुमाउनेको संख्या ३१ रहेको बताएको छ।

समाचार अनुसार सुडानमा देशको सेना र अर्धसैनिक बल (र्‍यापिड सपोर्ट फोर्स) बीच विगत केही दिनदेखि घातक द्वन्द्व चलिरहेको छ, जसमा मानिसहरूले लगातार ज्यान गुमाइरहेका छन्।

सुडानको राजधानी खार्तुम र ओमदुरमानमा आरएसएफको नियन्त्रण छ। १२ साताभन्दा लामो समयदेखि जारी आन्दोलनका कारण जनताले धेरै समस्या भोग्दै आएका छन् । 

पसल, बजार र औषधि पसल पनि दिनको अधिकांश समय बन्द रहन्छन् । बीबीसीको एक रिपोर्ट अनुसार देशमा द्वन्द्वका कारण ३० लाख मानिसले आफ्नो घरबार छोड्नु परेको छ ।

हिमाचल प्रदेशमा घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु

भारतको हिमाचल प्रदेश राज्यको शिमलामा आइतबार भारी वर्षाका कारण घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । घटनामा अरु दुई जना घाइते भएका छन् ।

मुसलधारे वर्षाका कारण आइतबार बिहान शिमलाको कोटगढ गाउँमा उक्त दुर्घटना भएको सरकारी अधिकारीहरूले बताएका छन् । भग्नावशेषबाट  दुई जना घाइतेलाई बाहिर निकालेर नजिकैको अस्पताल पुर्‍याएको छ ।

यसैबीच, भारत उत्तर प्रदेशको मैनपुरी जिल्लामा चट्याङ लागेर एक महिलासहित तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको मैनपुरीका अतिरिक्त जिल्ला मजिस्ट्रेट रामजी मिश्राले एएनआईलाई बताएका छन् ।

ईयूको विदेश मामिलाका लागि शीर्ष प्रतिनिधि बोरेलको चीन भ्रमण रद्द

युरोपेली सङ्घ ईयूका विदेश मामिला र सुरक्षा नीतिका लागि शीर्ष प्रतिनिधि जोसेप बोरेलको चीन भ्रमण रद्द भएको छ । चीन र इयूबीच व्यापार, मानव अधिकार र युक्रेन द्वन्द्वमा चलिरहेको असहमतिलाई लिएर बेइजिङले यो भ्रमण रद्द गरेको हो ।

चीनका लागि युरोपेली सङ्घका राजदूत राजदूत जर्ज टोलेडोले जोसेप बोरेल चिनियाँ विदेशमन्त्री छिन गङ र अन्य अधिकारीसँग वार्ता गर्न बेइजिङको भमण गर्ने कार्यक्रम रहेकामा त्यो अब रद्द भएको बताएका छन् ।

चिनियाँ र युरोपेली कूटनीतिज्ञ व्यापार, मानवअधिकार र रुस–युक्रेन जारी द्वन्द्वमा चीनको अडानलगायत विषयमा छलफल गर्ने ‘एजेन्डा’ मा काम गरिरहेका थिए । चीनले बोरेलको भ्रमण रद्द गरेको युरोपेली सङ्घले औपचारिकरूपमा जनाएको छ तर भ्रमण रद्द गर्नुको कारण भने खुलाइएको छैन ।

चिनियाँ पक्षले नै भ्रमण रद्द हुनुको कारणबारे जानकारी नदिएको जनाइएको छ । नयाँ मितिमा बोरेलको भ्रमण हुने अपेक्षा गरिएको सङ्घका प्रवक्ता नबिला मस्रालीले बताएकी छन् ।

यसैबीच, चिनियाँ विदेशमन्त्रीका प्रवक्ता वाङ वेनबिनले पनि इयूसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिएको बताउँदै दुवै पक्षलाई सहज हुने मितिमा उच्च प्रतिनिधि बोरेललाई चीनमा स्वागत गरिने स्पष्ट पारेका छन् ।

इयूसँग विभिन्न क्षेत्रमा र सबै तहमा भ्रमण आदानप्रदान गर्न चीन इच्छुक रहेको बताउँदै उनले ब्रसेल्ससँग बेइजिङ सम्पर्कमा रहिरहने स्पष्ट गरे ।

युरोपेली सङ्घका सदस्य राष्ट्रको शिखर सम्मेलनले चीन बाहेक अन्य स्रोतबाट महत्वपूर्ण सामग्री खरिद गर्ने रणनीतिप्रति समर्थन जनाएपछि बेइजिङ बिच्किएको अनुमान गरिएको छ ।

चिनियाँ व्यापार र आपूर्ति शृङ्खलामा निर्भरता कम गर्ने युरोपेली सङ्घको निर्णयप्रति पनि उसको विमति छ । जोसेप बोरेल युक्रेन द्वन्द्वमा चीनको अडानको विशेष आलोचक हुन् ।

इयूले ताइवान मामिलाप्रति बेइजिङको रबैयालाई लिएर असहमति जनाउँदै आएको छ । बेजिङले बल प्रयोग गरेर भएपनि ताइवानलाई जनवादी गणतन्त्रमा गाभ्ने धम्की दिँदै आएको छ ।

इयूले युक्रेनबाट तत्काल र बिनाशर्त आफ्ना सेना फिर्ता गर्न रुसलाई दबाब दिन चीनसमक्ष आग्रह गर्दै आएको छ ।

चीन भ्रमणका क्रममा युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले त्यस्तै अनुरोध गरेका थिए ।

अमेरिकामा विमान दुर्घटना, ६ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्निया एयरपोर्ट नजिकैको एउटा मैदानमा सानो विमान दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।

अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार दुर्घटना लस एन्जलसबाट करिब १३० किलोमिटर दक्षिणपूर्वमा रहेको मुरिएटामा भएको हो ।

अमेरिकामा विमान दुर्घटना, ६ जनाको मृत्यु उक्त विमानमा सवार सबैको घटनास्थलमै मृत्यु भएको थियो । मृतकहरूको अझै सनाखत हुन सकेको छैन । 

रिभरसाइड काउन्टी फायर डिपार्टमेन्टका अनुसार आगो निभाउन अग्नि नियन्त्रकहरूलाई एक घण्टाभन्दा बढी समय लागेको थियो ।

आगलागीले व्यवसायिक जेट विमान पूरै जलेको थियो। दुर्घटनाका कारण फ्रेन्च भ्याली एयरपोर्ट नजिक केही क्षति भएको जानकारी आएको छ ।

अमेरिकाको संघीय नागरिक उड्डयन विभागले राष्ट्रिय यातायात सुरक्षा बोर्डको टोलीसँग यस हवाई दुर्घटनाको अनुसन्धान गरिरहेको छ ।

सिएननको रिपोर्ट अनुसार सेस्ना सि ५५० विमान लस भेगासबाट क्यालिफोर्निया जाँदै थियो। विमान लस भेगासको ह्यारी रीड अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सवा ३ बजे उडेको थियो, जुन क्यालिफोर्नियाको मुरिएटा विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटना पछिको आगलागीका कारण करिब एक एकडमा लगाएका रुख तथा बोटबिरुवा पनि जलेका थिए ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ७ : ५९ बजे

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

प्रकाशमानले छुट्याए गणेशमानको नाम जोडिएका ५० आयोजनामा बजेट

काठमाडौं– सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्ना पिता तथा २०४६

नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य

तीन लाख किम्बुका बेर्ना बिक्रीका लागि तयार 

चितवन– व्यवसायिक किट विकास फर्म भण्डाराले तीन लाख बढी किम्बुका

उद्योगीलाई जग्गा किन्न लगाउने होइन, कन्ट्रयाक्टमा दिने व्यवस्था राम्रो हुन्छ

काठमाडौँ – नेपालको भूमिको वितरण सामन्ती प्रणालीमा आधारित रहेको यथार्थ