विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

आज साउन २४, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अगस्ट ९, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

चिनियाँ उपभोक्ता मूल्यमा गिरावट
चीनको उपभोक्ता मूल्यमा दुई वर्षभन्दा बढी समयपछि पहिलो पटक गत महिना सङ्कुचन आएको सरकारी तथ्याङ्कले बुधबार देखाएको छ ।

मुद्रास्फीतिको मुख्य मापन गर्ने उपभोक्ता मूल्य सूचकाङ्क जुलाईमा ०.३ ले घटेको राष्ट्रिय तथ्याङ्क विभागले जनाएको छ । ब्लुमबर्गले गरेको सर्वेक्षणमा विश्लेषकहरूले ०.४ प्रतिशतले गिरावट आउने अनुमान गरेका थिए ।

चिनियाँ उत्पादनको विश्वव्यापी माग घट्दै जाँदा गत महिना चीनको निर्यात तीन वर्षयताकै सबैभन्दा तीव्र गतिमा घटेको समाचार सार्वजनिक भएको एक दिनपछि यो आँकडा सार्वजनिक भएको हो । कमजोर आन्तरिक मागका कारण आयात पनि लगातार नवौं महिना घटेको छ ।

वस्तुको मूल्यमा आएको गिरावट क्रयशक्तिका लागि फाइदाजनक देखिए तापनि अपस्फीतिले अर्थतन्त्रका लागि व्यापक खतरा उत्पन्न गर्छ किनभने उपभोक्ताहरू थप कटौतीको आशामा खरीद स्थगित गर्छन् ।

मागको कमीले कम्पनीहरूलाई उत्पादन घटाउन, रोजगारी कम गर्न वा रोक्न र कामदारहरूलाई हटाउन बाध्य पार्छ, साथै उनीहरूको भण्डार बेच्न नयाँ छुट दिन तयार हुन्छ । लागत समान हुँदाहुँदै पनि लाभप्रदतामा तौल गर्दछ ।

चीनले सन् २०२० को अन्त्य र सन् २०२१ को सुरुमा छोटो अवधिको अपस्फीतिको अनुभव गरेको थियो, जसको मुख्य कारण सुँगुरको मासुको मूल्यमा गिरावट आएको थियो । चीनमा सबैभन्दा बढी खपत हुने सुँगुरको मासु हो ।

महात्मा गान्धीका पनाति तुसार पक्राउ
महात्मा गान्धीका पनाति तुसार गान्धी पक्राउ परेका छन् । सान्टाक्रुज प्रहरीले उनलाई आज बिहान पक्राउ गरेको हो ।

‘भारत छोडो आन्दोलन’ स्मृति दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन क्रान्ति मैदानतर्फ गइरहेका बेला उनलाई पक्राउ गरिएको हो ।

सामाजिक सञ्जालमा गान्धीका पनातिले ‘यो ऐतिहासिक दिनमा बापु र बालाई बेलायतका प्रहरीले पक्राउ गरेका थिए, म पनि पक्राउ परेँ, यसमा मलाई गर्व छ,’ लेखेका छन् ।

आजै मध्याह्नतिर सामाजिक सञ्जालमा नै अर्को विवरण प्रस्तुत गर्दै तुसारले ‘अन्ततः मलाई रिहा गरिएको छ, इन्कलाब जिन्दाबाद’ लेखेका छन् । सन् १९४२ मा आजकै दिन अर्थात् ९ अगष्टमा महात्मा गान्धीको नेतृत्वमा भारत छोडो आन्दोलन प्रारम्भ भएको थियो ।

बेइजिङमा मुसलधारे वर्षाका कारण पाँच उद्धारकर्मीसहित ३८ जनाको मृत्यु
भारी वर्षाका कारण चीनको राजधानी बेइजिङमा आएको भीषण बाढी, डुबान र पहिरोमा परी ३३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् ।

उक्त प्राकृतिक विपत्तिपछिको उद्धार तथा राहत कार्यमा सहभागी पाँच जनाको पनि मृत्यु भएको चिनियाँ प्रशासनले जनाएको छ । बेइजिङका उपमेयर जिया लिनमाओका उद्धारकर्तासहित अन्य १८ जना अझै हराइरहेका छन् । मुख्यतया, गत हप्ता परेको बर्षापछि आएको बाढी र घर भत्किएका कारण उनीहरूका ज्यान गएको हो ।

जुलाई २९ देखि अगष्ट २ सम्म बेइजिङमा आएको ‘डोक्सुरी आँधी’ का कारण मुसलधारे वर्षा भएको थियो । बेइजिङमा १४० वर्षअघि रेकर्ड सुरु भएयताको यो सबैभन्दा ठूलो वर्षा हो । वर्षाका कारण आएको बाढीले करिब १२ लाख ९० हजार मानिस र करिब १५ हजार हेक्टर जमिनमा लगाइएको बालीनालीमा क्षति पुर्‍याएको छ ।

जियाका अनुसार, सम्पत्ति र भौतिक क्षतिको आँकलन भइरहेको र घोषित मृतक सङ्ख्यामा वृद्धि हुने सम्भावना देखिएको छ । मुसलधारे वर्षाका कारण हिमाली क्षेत्रका पूर्वाधारमा ठूलो क्षति पुगेको छ, ५०७ गाउँमा पानी आपूर्ति प्रभावित भएको छ, २७३ गाउँ र १६ आवासीय समुदायमा विद्युत् कटौती भएको छ भने ३४२ गाउँमा सञ्चार सेवा अवरुद्ध भएको छ ।

वर्षाले सडक र पुलहरूमा क्षति पुगेपछि २५६ वटा गाउँमा यातायात सञ्चालनमा समस्या भएको छ अथक उद्धार र पुनर्स्थापना गर्ने प्रयासहरू जारी रहेको र अधिकांश गाउँहरूमा सफलतापूर्वक बिजुली आपूर्ति, खानेपानी, दूरसञ्चार सेवा र यातायात बहाल भएको छ ।

बेइजिङले प्रभावित जनसङ्ख्याका लागि अत्यावश्यक दैनिक आवश्यकता, आपतकालीन आपूर्ति र चिकित्सा उपचार उपलब्ध भएको सुनिश्चित गरेको छ र विपद्पछिको महामारी रोकथाम कार्य सुरु गर्न द्रूत कदम चालेको उपमेयरको दाबी छ । “बेइजिङ शहरले पुनरुत्थान र पुनर्निर्माण योजना बनाएको छ र यसको कार्यान्वयनलाई गति दिनेछ,” उपमेयर जियाको भनाइ छ ।

सिचुवानमा बाढीका कारण सात जनाको मृत्यु

त्यस्तै, चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तमा बुधबार आएको बाढीमा परी सात जनाको मृत्यु भएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

सरकारी प्रसारक सीसीटीभीले सात जनाको मृत्यु भएको र अन्य चार जनालाई पानीबाट उद्धार गरिएको उल्लेख गर्दै ‘स्थानीय सार्वजनिक सुरक्षा, अग्नि नियन्त्रक र अन्य विभागहरूले खोजी र उद्धार कार्य जारी राखेको’ जनाएको छ । प्रान्तीय राजधानी छेन्दुको दक्षिणपश्चिममा रहेको तटबन्ध नजिकै बिहान १० बजे अप्रत्यासित आएको बाढीले १० जनाभन्दा बढी मानिसलाई बगाएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

बाढीआउँदा फोटो खिचिरहेका ती व्यक्ति स्थानीय एक लोकप्रिय स्थलको भ्रमण गर्ने पर्यटकहरू थिए । सीसीटीभीले शेयर गरेको भिडियोमा शक्तिशाली धारले पानीलाई तल धकेलेको र पानीको किनाराबाट मानिसहरू चिच्याएका कारण धेरै मानिसहरु आफ्नो टाउको पानीमाथि राख्न सङ्घर्ष गरिरहेको देखिएको छ । जलप्रलयको कारण तत्काल स्पष्ट हुन सकेको छैन ।

राष्ट्रपति सीको असफल भ्रष्टाचारविरोधी अभियान र चीनमा मौलाउँदो भ्रष्टाचार

पछिल्लो समय चीनमा भ्रष्टाचार मौलाउन थालेको पाइएको छ । सत्तारुढ कम्युनिष्ट पार्टीका सदस्यहरु भ्रष्टाचारमा मुछिन थालेसँगै चिनियाँ समाजका लागि यो मुद्दा टाउको दुखाइ बन्न पुगेको छ । चीनका सरकारी संस्थानहरु, सरकार सञ्चालित कम्पनीहरु र समाजका अन्य क्षेत्रमा भ्रष्टाचार मौलाइरहेको छ । चीन सरकारले भ्रष्टाचारविरुद्ध अभियान चलाएपनि यस्ता घटना बारम्बार दोहोरिरहेका छन् ।

सन् २०१२ मा सत्ता सम्हालेयता राष्ट्रपति सी जिन्पिङले भ्रष्टाचारविरोधी अभियानलाई तीव्र बनाइरहेका छन् । उनको प्रशासनले सञ्चालन गरेको उच्चस्तरीय भ्रष्टाचारविरोधी अभियानका क्रममा पार्टीका पदाधिकारी एवम् कर्मचारीहरु परिसकेका छन् । यस अभियानका क्रममा केही उच्चपदस्थसहित धेरै पदाधिकारी र कर्मचारीहरु छानबिनको दायरामा आइसकेका छन् ।

भ्रष्टाचार निवारणका लागि सन् २०१२ पछि कम्युनिष्ट पार्टीका उच्च पदस्थ पदाधिकारी बो सिलाई र उनका उत्तराधिकारी सुन जेङसेईको राजनीतिक सफाया गरिएको थियो । त्यसबाहेक चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो स्थायी समितिका पूर्वसदस्य एवम् पार्टीको केन्द्रीय राजनीतिक तथा कानूनी मामिला आयोगका पदाधिकारी झोउ योङकाङलाई भ्रष्टाचार, घुसखोेरी र शक्तिको दुरुपयोग गरेको आरोपमा जन्मकैदको फैसला सुनाइएको थियो ।

उच्च पदस्थ पदाधिकारीको राजनीतिक सफायापछि सीको प्रशासनमा चिनियाँ समाजमा भ्रष्टाचार कम हुने अपेक्षा गरिएको थियो । यद्यपि पछिल्ला केही वर्षमा चिनियाँ जनमुक्ति सेना र जनमुक्ति सेनाको रकेट बलका सैनिक अधिकारीहरु भ्रष्टाचारमा मुछिएको घटना बाहिरिएका छन् ।

यसबाट सी जिन्पिङले थालेको भ्रष्टाचारविरोधी अभियानको सफलतामाथि प्रश्न उठेको छ । हाल जनमुक्ति सेनाको रकेट बलका विभाग प्रमुख ली युचाओ र उनी मातहतका कर्मचारीविरुद्ध सैनिक आयोगअन्तर्गतको भ्रष्टाचारविरोधी एकाईले अनुसन्धान गरिरहेको छ । यो चीनमा हालसम्मकै सबैभन्दा ठूलो प्रकरण रहेको हुनसक्ने धेरैको आशंका छ ।

यस प्रकरणलाई लिएर आफ्नै राजनीतिक साझेदार र उच्चपदस्थ अधिकारीलाई कारवाही गर्ने राष्ट्रपति सीको कठोर भ्रष्टाचारविरोधी अभियानमाथि पनि धेरैले प्रश्न उठाएका छन् । आफ्ना राजनीतिक प्रतिस्पर्धीको सफाया गर्नेबाहेक उनको अभियानबाट अपेक्षा अनुसारको परिणाम आउन नसकेको भनी आलोचना समेत हुने गरेको छ ।

त्यस्तै, भ्रष्टाचारविरोधी निकायका रुपमा राष्ट्रय निगरानी आयोगको स्थापना गर्ने कमदबाट पनि विपरीत नतिजा आएको विश्लेषकहरु बताउँछन् । सीको यस रणनीति पार्टी, समाजमा र सरकारमा व्याप्त भ्रष्टाचार उन्मूलन एवम् निवारण गर्ने भन्दा पनि राजनीति

मणिपुर हिंसाप्रति प्रधानमन्त्री मोदीले ‘निष्क्रियता’ देखाए : राहुल गान्धी
भारतका विपक्षी नेता राहुल गान्धीले देशको उत्तरपूर्वी क्षेत्रमा भएको घातक जातीय द्वन्द्वका विषयमा प्रधानमन्त्री नरेन्द्र मोदीले ‘निष्क्रियता’ देखाएको आरोप लगाएका छन् ।

मणिपुर राज्यमा कम्तीमा १२० जनाको ज्यान जाने गरी भएको हिंसालाई लिएर विपक्षी दलहरूले गरेको आलोचनाप्रति मोदी प्रशासनले विपक्षीहरूको आरोपको खण्डन गरेको छ ।

संसदमा गान्धीले गरेको सम्बोधन महिनौंसम्म अशान्ति लाई भड्काउन दिएकोमा सरकारको राजिनामाको मागसहित दर्ता भएको अविश्वास मतको बहसमाथिको एक हिस्सा हो ।

उनले भने, “तपाईंहरू देशैभरि मट्टितेल फ्याँक्दै हुनुहुन्छ । तपाईंले मणिपुरमा मट्टितेल फ्याँक्नुभयो यसबाट आगो दन्किएको छ,” गान्धीले समर्थकको जयजयकार र प्रतिद्वन्द्वी सांसदहरूको कटाक्षबीच भने ।

भारतमा अर्को वर्षको सुरुमा आम निर्वाचन हुनेछ । मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी ९भाजपा० लाई विपक्षीहरूले चुनावी उद्देश्यका लागि विभाजन भड्काएको आरोप लगाउँदै आएका छन् ।

भाजपाको बृहत् बहुमत रहेको ५४३ सदस्यीय तल्लो सदनमा अविश्वासको मतलाई भाजपाले सहजै बहुमतद्वारा असफल पार्ने अपेक्षा गरिएको छ ।

‘भारतीय सेनाले एक दिनमा शान्ति ल्याउन सक्छ, तर तपाईंहरूले त्यसको प्रयोग गरिरहनुभएको छैन,’ गान्धीले भने ।

गान्धीले भने, ‘यदि प्रधानमन्त्री मोदीले भारतको आवाज सुन्नुहुन्न भने कसको आवाज सुन्नुहुन्छ ?’

हिंसा नियन्त्रणका लागि भारतका अन्य भागबाट सैनिकहरू तैनाथ गरिएको छ र राज्यका अधिकांश भागमा कर्फ्यु लगाइएको छ भने इन्टरनेट बन्द भएको छ।

भारतको सर्वोच्च अदालतले गत साता ‘मोदी’ समुदायको आलोचना गरेको भन्दै गान्धीविरूद्धको मानहानिको सजाय स्थगन गरेपछि गान्धीलाई सोमबार संसदमा पुनः स्थापित गरिएको थियो ।

विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा राजनीतिक विरोधलाई दबाउने प्रयासको रूपमा आलोचकहरूले उठाएको मुद्दामा गान्धीलाई मार्चमा दुई वर्षको जेल सजाय सुनाइएको आरोप लगाइएको छ ।

त्रिपन्न वर्षीय गान्धी भारतीय स्वतन्त्रताका नेता जवाहरलाल नेहरुदेखि सुरु भएका तीन पूर्वप्रधानमन्त्रीका छोरा, नाति र पनाति हुन् । राहुलका मावली हजुरबुवा नेहरू, हजुरआमा इन्दीरा गान्धी र पिता राजिब गान्धीले भारतको प्रधानमन्त्रकिो जिम्मेवारी बहन गरिसकेका छन् ।

कुनै समय भारतको प्रमुख राजनीतिक शक्ति रहेको गान्धीको दल भारतीय काङ्ग्रेसले भाजपाविरुद्ध दुई पटक पराजय भोगिसकेको छ ।

गान्धी र उनका सहयोगीहरूले अर्को वर्ष हुने राष्ट्रिय चुनावअघि साना पार्टीहरूको ठूलो गठबन्धन बनाउने प्रयास गरिरहेका छन् भने भारतीय प्रधानमन्त्री मोदीले लगातार तेस्रो कार्यकालका लागि निर्बाचन अभियानमा जाने तयारी गरिरहेका छन् ।

मणिपुरमा हिन्दू बहुल मेइतेई बहुल र इसाईसमुदायको बाहुल्यता रहेको कुकी समुदायबीच गत मे महिनायता भएको सशस्त्र झडपमा कम्तीमा १२० जनाको मृत्यु भइसकेको छ ।

विरोधी समुदायका सदस्यहरूलाई बाहिर राख्न प्रतिद्वन्द्वी मिलिशियाहरूले नाकावन्दीहरू खडा गरेपछि राज्य जातीय आधारमा विभाजित भएको छ ।

झडप सुरु भएदेखि नै द्वन्द्वबारे बोल्न दुई महिनाभन्दा बढी समय लागेको भन्दै विपक्षीहरूले मोदीको आलोचना गर्दै आएका छन् ।

अविश्वासको बहसको अन्त्यमा प्रधानमन्त्रीको सम्बोधन हुने र सम्भवतः बिहीबार मतदान हुनेछ ।

पूर्वी अमेरिकामा आएको आँधीले १० लाख भन्दा बढी मानिस प्रभावित

पूर्वी अमेरिका अहिले गम्भीर आँधीको चपेटामा छ। न्यूयोर्कदेखि अलाबामासम्म करिब १० लाख घर र व्यवसायी विद्युत सेवाबाट वञ्चित छन्।

ठूलो आँधीका कारण हजारौं उडान पनि रद्द भएका छन् । आँधीका कारण करिब पाँच करोड मानिस समस्यामा परेका छन् ।

मंगलबार बिहानसम्म उत्तरी क्यारोलिनामा १ लाख, पेन्सिलभेनियामा ९५ हजार र मेरिल्याण्डमा ६४ हजार मानिसहरू अझै पनि बिजुली विहीन अवस्थामा छन् ।

हिजो एक हजारभन्दा बढी उडान स्थगित भएका थिए भने संघीय उड्डयन प्रशासनले न्यूयोर्क, फिलाडेल्फिया, एटलान्टा र वाशिङ्टन डीसीका एयरपोर्टहरूको उडान स्थगित गरेको थियो ।

यो दशकमा पहिलो पटक मौसम विभागले डिसी सहरमा चार–पाँच तहको जोखिम जारी गरेको छ। मौसम विभागको चेतावनी अनुसार सरकारी कर्मचारीलाई चाँडै घर फर्काइएको छ । मौसमविद् इलिन व्हेलनले भने जति क्षति आशंका गरिएको थियो त्यति ठूलो नभएको बताए।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ७ : ५९ बजे

ग्रीन सिफ्ट परियोजनालाई ईयूको १ करोड २० लाख अनुदान 

काठमाडौं– युरोपियन युनियन (ईयू) ले क्रिएसन नेपालले सञ्चालन गरिरहेको ग्रीन

खानेकुरा खेर जानबाट यसरी बचाउनुहोस्  

काठमाडौं– हाम्रो भान्सामा दैनिक धेरै खानेकुरा खेर गइरहेको हुन्छन् । सागसब्जी,

जंगली च्याउ खाँदा एकै परिवारका सातजना बिरामी

बागमती– जंगली विषालु च्याउ खाँदा मकवानपुरको भिमफेदी गाउँपालिकामा एकै परिवारका

प्रधानमन्त्री दाहाललाई राजीनामा दिन गगन थापाको सुझाव

विराटनगर– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई राजीनामा

जसपाले बोलायो कार्यकारिणी समिति बैठक, नयाँ सरकारबारे निर्णय गर्ने

काठमाडौं–  अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपाले कार्यकारिणी समितिको