ठुलो विपद्पछि स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ | Khabarhub Khabarhub

ठुलो विपद्पछि स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ

‘विपद्पछिको एउटा समस्या डिप्रेशन हो, यस्तो समयमा विज्ञको परामर्श आवश्यक हुन्छ’



जाजरकोट भूकम्पले पश्चिमको पहाडी क्षेत्र अहिले पीडामा छ। स्वास्थ्यको पहुँचको हिसाबबाट पछि परेको भूगोललाई केन्द्रबिन्दु बनाएर गत शुक्रबार गएको शक्तिशाली भूकम्पपछिको राहत र आवासका लागि विभिन्न खालका सहयोग जुटिराखेका छन्। संकटको समयमा पहिलो प्राथमिकतामा गाँस, बास र कपास परे पनि स्वास्थ्यलाईसमेत प्राथमिकता दिनुपर्ने विज्ञको मत छ। संकटको समयमा सरुवा रोगको जोखिम बढ्ने हुन्छ। मौसम चिसो हुँदै गएको छ। सहरी क्षेत्र वा ग्रामीण क्षेत्रमा चिसो मौसममा कस्ता कस्ता सरुवा रोगको महामारी हुनसक्छ ? त्यसबाट जोगिन के गर्नुपर्छ ? भूकम्पको विपद्पछि कस्ता स्वास्थ्य समस्या देखिन सक्छन् ? यी र यस्तै विषयमा आधारित रहेर सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

विकट पहाडी क्षेत्र, चिसो मौसम अनि भूकम्पको प्रकोप- यस्तो समयमा जनस्वास्थ्यमा कस्ता समस्या देखिन्छन् ?
भूकम्पले मानवीय क्षति भएको छ। तर त्यसबाट जो जो बच्नु भएको छ उहाँहरुको पीडा र आवश्यकता पहिलो प्राथमिकतामा पर्छन्। त्योबाहेक दोस्रो लहरमा अर्को विपत्ति आउन सक्ने भनेको स्वास्थ्यसँग सम्बन्धित समस्या नै हो। यसमा सर्ने र नसर्ने रोग जोडिएर आउँछन्। संकटको समयमा सरुवा रोगले प्रकोपको रुपम लिने खतरा हुन्छ। यसमा विशेष गरी झाडापखाला, हैजा र टाइफाइटको लक्षण देखिने गर्छन्। बाहिर बस्दै गर्दा किरा किर्नाहरूले टोकेर सर्ने रोगहरूको प्रकोप देखिन्छ भने त्योसँगै दीर्घरोगी र बालबालिकामा चिसोले गर्दा निमोनिया, भाइरल इन्फेक्सन हुनसक्छ। हावाबाट सर्ने रोग पनि लाग्नसक्छ। यसमा भूकम्पले गर्दा चिन्तित हुने समस्या पनि आउनसक्छ। ठूलो विपद्पछि सामान्य औषधि उपचारसँगै मनोचिकित्सकको पनि आवश्यकता पर्छ।

संकटको समयमा सरसफाइ पुग्दैन। खानपान र आवास प्राथमिकतामा पर्दा औषधि नपाउने अवस्था छ। यस्तो समयमा पीडितलाई स्वास्थ्यको विषयमा कसरी जानकारी गराउन सकिन्छ ?
भूकम्पले घर भत्किएको छ। कहाँ बस्ने भन्ने चिन्ता छ। सहयोग गर्न पुग्ने सरोकारवाला निकाय र व्यक्तिले राहतसँगसँगै औषधिजन्य सामग्री पनि आवश्यकता अनुसार वितरण गर्नुपर्छ। भूकम्पको केन्द्रबिन्दु जाजरकोट जहाँ पहिला सरुवा रोगले प्रकोपको रूप लिएको थियो। त्यो ठाउँमा अहिले भूकम्प गएको छ। त्यस कारणले सरोकारवाला निकाय र सहयोगी हात पनि समयमै सचेत हुनुपर्छ। राहत वितरणमा पुगेका व्यक्तिबाट पनि यस्तो प्रकोप फैलन सक्छ। पीडित भएको ठाउँमा ओहोरदोहोर हुने भएकाले त्यहाँ नभएको रोग पनि पुर्याउन सक्ने सम्भावना हुन्छ। यसमा हामीले सहयोग गर्दै गर्दा स्वास्थ्यलाई ख्याल गर्नैपर्छ। लामो यात्रा तय गरेर त्यहाँ पुग्दा आफूमा भएको रोग पीडितलाई सर्ने हो कि भन्ने कुरामा ध्यान दिनुपर्छ।

२०७२ सालको अनुभवले के भन्यो, सबै भन्दा जटिल समस्या के भएर आयो ?
त्यो बेलामा हैजा फैलिन्छ कि भन्ने एउटा अनुमान गरिएको थियो। मैले त्यसको एउटा मेडिकल कलेजमा प्रस्तुति दिएको थिएँ। हैजा फैलियो कि फैलिएन र नफैलिएको भए किन फैलिएन भन्ने शीर्षकको प्रस्तुति थियो। काठमाडौँ लगायत अरु ठाउँमा हैजा त फैलिएन तर एउटा रोगको उदय भएको मानिन्छ। यद्यपि म पूर्ण रुपमा सहमत छैन। तर पनि बाहिर देखिने एउटा रोग भएको थियो त्यो स्क्रब टाइफस। यो सामान्यतया किरा र किर्नाले टोकेर लाग्ने रोग हो। अहिले पनि यो कतैकतै देख्न सकिन्छ। तर धेरै जसो ग्रामीण भेगमा देखिँदै आएको छ। जाजरकोट पनि ग्रामीण इलाका भएकोले यसको सम्भावना देखिन्छ।

सरसफाइ र स्वस्थ खानेकुरामा जोडिएको हुन्छ। अहिले त्यहाँ उपचारमा वा उद्धारमा खटिएका स्वास्थ्यकर्मी वा अभियन्ताको भनाइमा राहत सामग्री भन्दा पनि साबुन लिएर आउनु, सेनिटरी प्याड लिएर आउनुस्, न्यानो कपडा बालबालीकालाई लिएर आउनु, झोलिलो कुरा लिएर आउनु भनेका छन्। तर हाम्रो ध्यान खाद्यान्न र त्रिपाल कम्बलमा गइरहेको छ। यसको व्यवस्थापनमा राज्यको संयन्त्रले गर्न नसकेको हो ?
प्राकृतिक विपत्ति कहिले आउँछ थाहा हुँदैन। तर खानपानको जति आवश्यकता हुन्छ त्यति नै स्वास्थ्यमा ध्यान दिनुपर्छ। हामीले पढ्दा महत्त्वपूर्ण कुरामा गाँस, बास र कपास भनिन्छ। तर त्यहाँ स्वास्थ्य पनि जोड्नुपर्छ भन्ने मेरो भनाइ हो। किनभने प्राकृतिक विपत्ति पछि अर्को स्वास्थ्य विपत्ति हुनसक्छ। बिपत्तिले मर्ने मरेर गएपछि बाँच्नेहरूको स्वास्थ्यमा ध्यान दिन सबै सरोकारवालाको ध्यान जानु जरुरी छ।

प्रकोपसँगै चिसोको समस्या पनि बढेको छ। सरुवा रोगबाट बच्न के गर्न सकिन्छ ?
बाच्ने उपाय भनेको मास्कको प्रयोग अनिवार्य गर्नुपर्छ। एकै ठाउँमा धेरै बस्ने भएकोले बाहिर हेर्दा स्वस्थ भए पनि भित्र कुनै भाइरल सङ्क्रमण हुनसक्छ। जसलाई कुपोषण छ, जो कमजोर छ त्यसलाई रोगले छिटो आक्रमण गर्छ भनेर बुझ्नुपर्छ। त्यहाँ सयौँ मान्छेहरू आवतजावत गर्ने गरेका छन्। त्यसले गर्दा भूकम्प प्रभावितलाई हावाबाट फैलन सक्ने रोगको संक्रमण पनि हुनसक्छ। जाजरकोटमा स्वाइन फ्लुको नामले चिनिने एचवानएनवानले एउटा गाउँ नै थला पारेको इतिहास हामीसँग छ। त्यो बारेमा पनि हामीले विचार गर्नुपर्छ। त्यसैले प्रकोपपछि सरसफाइ र शुद्ध पानीमा ख्याल गर्नुपर्छ।

यस्ता रोगहरूलाई मौसमजन्य परिस्थितिका कारण विकास भएका हुन् कि बाहिरबाट आइरहेका रोग हुन् ?
जुन स्वाइन फ्लु भनेर नाम दिइएको छ। यो २००९ मा पुष्टि भएको हो। यो मेक्सिको र अमेरिका हुँदै विश्वभर फैलिएको हो। यसले जाजरकोटलाई कुनै समय थला परेको हो।२०७२ सालमा भूकम्प आउनु एक दिन अगाडि पनि जाजरकोटमा यो बारेमा ठुलै समस्या थियो। यसरी अब कुनै पनि रोग कुनै ठाउँबाट सर्दै आउँछ। अहिले मौसमी फ्लु भनेर हामीले भनिरहेका छौँ। त्यो विगत केही वर्षदेखि नेपालमा संक्रमण भइरहेको अवस्था छ। मान्छेहरू ओहोरदोहोर गर्ने भएकोले यो फैलिने खतरा हुनसक्छ।

यसका लक्षणहरू कोरोना भाइरस जस्तै हुने हुन् ?
रुघाखोकी, नाकबाट पानी बग्ने, घाँटी खसखस गर्ने, घाँटी दुख्ने, टाउको दुख्ने, ज्वरो आउने, पेट दुख्ने, पखाला लाग्ने यो प्रारम्भिक लक्षण हो। यो समस्या जटिल हुँदै गयो भने निमोनियासम्म हुन्छ।

यो प्रकोपजन्य घटनापछि मनोरोगको समस्या स्वाभाविक ढंगले आइरहेको हुन्छ। यो समस्याको उपचारका लागि हामीले कस्तो अभ्यास गरेका छौं ?
अध्ययन धेरै छैन। यसअघिका प्रकोपका समयमा पनि खासै बहस नभएको विषय हो। तर कोभिडपछि जुन महामारी आयो त्यसमा धेरै मान्छेहरूले आत्महत्या पनि गरेको अवस्था थियो। त्यो कडा मनोरोग होला। तर खान पाएता पनि उनीहरूा डिप्रेसनमा जाने खतरा हुन्छ। घर छैन, परिवारको सदस्य छैन, परिवार कसरी पाल्ने पैसा छैन यस्ता अनेक चिन्ता एकसाथ हुन्छन्। यसले भित्र भित्रै मान्छेलाई जलाएको छ। त्यसैले यो झट्ट हेर्दा देखिँदैन तर यो ठुलो समस्या हो। त्यसको समाधान गर्न तिर हामी लाग्नुपर्छ।

शरीरलाई तत्काल आवश्यकता पर्ने भनेको खानेकुरा नै होला तर त्यो पछाडि मानिसको एउटा संवेदना लुकेको हुन्छ। अनुहारमा हेरेर त्यो पढ्न सकिन्छ। त्यसलाई पनि हामीले सम्बोधन गर्न छुट्टै विज्ञहरूको टोली भयो भने राम्रो होला भन्ने लाग्छ।

चिसोका कारण देखिने समस्या के के हुन सक्छन् र जोगिने उपायहरू के के हुन सक्छन् ?
जाडो महिनामा छाला रोगसँग सम्बन्धित समस्या हुन्छन्। फोक्सोसँग सम्बन्धित निमोनिया मुटुको समस्या, बालबालिकामा कोल्ड डायरिया, फुड पोइजन हुन्छ। जसले झाडावान्ता गराउने गर्छ। दीर्घरोगीलाई चिसोले थप समस्या हुनसक्छ। राहत र उद्धारका लागि पुग्ने सरोकारवालाले यो सबै कुरामा ध्यान दिनुपर्छ। जसमा झोलिलो कुरा खाने, न्यानो कपडा लगाउने, स्वास्थ्यमा कुनै समस्या देखियो भने चिकित्सकको सल्लाह लिनसक्ने वातावरण बनाउनुपर्छ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ७ : ०२ बजे

शान्तिश्री र नेत्रको स्वरमा ‘आधा मुटु’ सार्वजनिक (भिडियो)

काठमाडौं – अभिनेता सुशान्त कार्की र मोडल तथा अभिनेत्री गरिमा

मुखमा कपडा कोचिएको र खुट्टा बाँधिएको अवस्थामा वृद्धाको शव फेला

भक्तपुर – मुखमा कपडा कोचिएको र खुट्टा बाँधिएको अवस्थामा भक्तपुर

‘लेक टु लेक साइकल ट्र्याक’ निर्माणमा एडिबीको सहयोग

कास्की – नेपालको विकास साझेदार एसियाली विकास बैंक (एडिबी)ले पोखरामा

रास्वपाका नेताविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूविरूद्ध

नेपालका लागि फ्रान्सका राजदूत र पोखरा महानगरप्रमुखबीच भेटवार्ता

पोखरा – नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभाल र पोखरा