काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अफगानिस्तान र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।
जारी विश्वकपमा दक्षिण अफ्रिका सेमिफाइनलमा पुगिसकेको छ । दक्षिण अफ्रिका ८ खेलबाट १२ अंकका साथ दोस्रो स्थानमा रहेको छ । आजको नतिजाले दक्षिण अफ्रिकाको सेमिफाइनल समीकरणलाई कुनै असर गर्ने छैन । दक्षिण अफ्रिका सेमिफाइनलमा अस्ट्रेलियासँग खेल्ने यसअघि नै निश्चित भइसकेको छ ।
त्यस्तै, अफगानिस्तान ८ खेलबाट ८ अंक जोडेर अंक तालिकामा छैटौँ स्थानमा छ । जारी विश्वकपको सेमिफाइनलमा पुग्न अफगानिस्तानले आजको खेलमा दक्षिण अफ्रिकालाई चार सय ३८ रनको विशाल अन्तरले हराउनु पर्ने हुन्छ ।
दक्षिण अफ्रिकालाई त्योभन्दा कम रनले हराएमा अफगानिस्तान सेमिफाइनलमा पुग्न असफल हुनेछ ।
दक्षिण अफ्रिका र अफगानिस्तानबीच अहिलेसम्म एक एकदिवसीय खेल भएको छ । जुन सन् २०१९ को विश्वकपमा भएको थियो र यो खेलमा दक्षिण अफ्रिका ९ विकेटले विजयी भएको थियो ।