काठमाडौँ– नेपालमा विदेशी शक्तिको प्रभाव बढिरहेको चर्चाबीच नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले नेपालको राजनीतिक प्रक्रियामा अमेरिकाको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् । बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै राजदूत थम्पसनले नेपालको राजनीतिक प्रक्रियामा अमेरिकी संलग्नता नरहेको स्पष्ट पारेका हुन् ।
अमेरिका नेपालमा द्विपक्षीय एवम् कूटनीतिक प्रक्रियामा मात्र संलग्न नरहेको बताउँदै नेपालले आफ्नो निर्णय आफैँ गर्नुपर्ने धारणा राखे । उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको कार्यान्वयन आफ्नो कार्यकालको सबैभन्दा महत्वपूर्ण प्राथमिकता रहने समेत उल्लेख गरे ।
निर्धारित समयसीमामा एमसीसीका परियोजना सम्पन्न गर्न हालै गठन भएको संघीय एवम् स्थानीय सरकारको सहयोग आवश्यक पर्ने बताउँदै उनले सबै पक्षबाट सहयोगको अपेक्षा गरेको पनि बताए । उनले एमसीसीका परियोजनाबाट नेपालमा १० हजार रोजगारी सिर्जना हुने उल्लेख गर्दै यसको वास्तविक परिणामबारे नेपाली जनता जानकार हुनुपर्ने बताए ।
एमसीसी परियोजना कार्यान्वयनका क्रममा रातमाटे र अन्य केही स्थानमा विरोध भइरहेकोतर्फ सङ्केत गर्दै राजदूत थम्पसनले यस किसिमको विरोधबाट ‘परियोजना कार्यान्वयन गर्ने हाम्रो अपेक्षामा ह्रास नआउने’ स्पष्ट पारे । उनले कुनै पनि बहानामा अमेरिकी सेना वा अरु सुरक्षाकर्मीहरु नेपाल नआउने पनि प्रष्ट पारे ।
६३ करोड अमेरिकी डलर बराबरको परियोजना कार्यान्वयन गर्नका लागि गठित मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपालले यसबारे सूचना समेत सार्वजनिक गरिसकेको छ । यस परियोजनामा लप्सीफेदी–रातमाटे–हेटौँडा ४०० केभी प्रसारण लाइन, रातमाटे–दमौली ४०० केभी प्रसारण लाइन, दमौली–बुटवल ४०० केभी प्रसारण लाइन र बुटवल नेपाल/भारत सीमा ४०० केभी प्रसारण लाइन निर्माण हुनेछ ।
सञ्चारकर्मीसँगको कुराकानीका क्रममा राजदूत थम्पसनले अमेरिकाले भारतीय दृष्टिबाट नेपाललाई हेर्ने दाबीको पनि खण्डन गरे । उनले नेपाललाई हेर्ने अमेरिकाको दृष्टिकोण द्विपक्षीय सम्बन्धमा आधारित रहेको उल्लेख गरे ।
स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीबारे सोधिएको प्रश्नमा उनले यस कार्यक्रममा सहभागी हुन नेपालले चासो वा चाहना देखाएको भन्दै अमेरिकाले यसको सम्मान गर्ने उल्लेख गरे । उनले यस कार्यक्रमबाट मानवीय सहायता र विपद प्रतिकार्यमा अमेरिकाले सघाउने र यसको अभ्यास र तालिमका लागि नेपाली सेनासँग सहकार्य गरिने समेत उल्लेख गरे ।
उनले विपदका बेला अमेरिकाले सैनिक सम्बन्धका आधारमा नेपाललाई निरन्तर सहयोग गरिरहने बताए ।
प्रतिक्रिया