खडेरीको असर : खेतमै सुक्न थाल्यो धान र कोदाको बीउ | Khabarhub Khabarhub

खडेरीको असर : खेतमै सुक्न थाल्यो धान र कोदाको बीउ


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

गलेश्वर – लामो खडेरीका कारण म्याग्दीका किसानले खेतमा राखेको धानको बीउ खेतमा नै सुक्न थालेको छ।

लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण यहाँको लेकाली क्षेत्रमा समेत रोपाइँ सुरु हुन सकेको छैन भने तल्लो क्षेत्रमा धानको बीउ, सिमीलगायत बर्खेबाली खेतबारीमै सुक्न थालेको किसानले बताएका छन्।

पानी नपर्दा लेकाली क्षेत्रमा कोदोसमेत रोप्न नपाएको मालिका गाउँपालिका–२ का कृष्णबहादुर विकले जानकारी दिए। “यतिबेला धमाधम कोदो र धान रोपाइँ सुरु हुने बेला भए पनि वर्षा नभएका कारण रोपाइँ त परको कुरा बीउसमेत राम्ररी फस्टाउन पाएको छैन”, उनले भने।

जिल्लाको बेनी नगरपालिकाका उपल्लो भेग र मालिका, धवलागिरि, मङ्गला, अन्नपूर्ण र रघुगङ्गाका लेकाली क्षेत्रमा विगतका वर्षमा यतिबेला कोदो रोपाइँ सकिन्थ्यो। केही ठाउँमा धान रोपाइँ भइसकेको हुन्थ्यो। तर यस वर्ष भने जिल्लामा कतै पनि रोपाइँ सुरु हुन नसकेको किसानको भनाइ छ। लामो समयदेखि वर्षा नभएका कारण धान र कोदोको बीउ सुक्न थालेको छ भने मकैलगायत खेतबारीमा लगाएका अन्य गेडागुडी खेतीसमेत ओइलाउन थालेको बेनी –२ का किसान नारायण शर्मा सापकोटाले बताए।

“यो वर्ष जस्तो खडेरी र चर्को गर्मी कहिल्यै भएको थिएन। गत वर्ष कोदो रोपेर धान रोपाइँ सुरु गरेका थियौँ”, उनले भने,  “यस वर्ष अहिलेसम्म कोदोसमेत रोप्न पाएका छैनौँ। बीउ सुकेर खेर जान लागिसक्यो।”

सिँचाइको सुविधा भएका क्षेत्रमा समेत खोलामा पानी नहुँदा रोपाइँ हुन नसकेको स्थानीयले बताएका छन्। पछिल्ला केही दिनयता तापक्रम ह्वात्तै बढेकाले बालीसमेत ओइलाउन थालेको उनको भनाइ छ।

जिल्लाका अधिकांश ठाउँमा वर्षाको भरमा खेतीबाली लगाइने गरिएको छ। करिब चार हजार हेक्टर जमिनमा सिँचाइको सुविधा भए पनि खोलानाला सुकेकाले समस्या भएको हो। जिल्लाको मुख्य बाली धान हो भने कोदो दोस्रो मुख्य बाली हो। मकै र गहुँ क्रमशः तेस्रो र चौथो बालीका रूपमा उत्पादन हुने गरेको छ।

जिल्लाभर सात हजार ३५ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ भने झन्डै चार हजार हेक्टरमा कोदो र मकैखेती हुने गरेको छ। मुख्य बाली लगाउने समयमै खडेरी परेका कारण कृषकलाई समस्या परेको छ। कृषि ज्ञान केन्द्र म्याग्दीले लामो समयदेखि वर्षा नहुँदा म्याग्दीमा रोपाइँ गर्न समस्या भएको जनाएको छ। मौसम सक्रिय नभएसम्म रोपाइँ गर्न नपाउने भएपछि कृषक समस्यामा परेका छन्।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ९ : ०२ बजे

समाजवादी मोर्चालाई थप सक्रिय बनाउन आवश्यक : माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रिय

रवि धरौटीमा रिहा भएका हुन्, अदालतले निर्दोष भनेको होइन : महत

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जिल्ला अदालत कास्कीबाट

‘जलवायु परिवर्तनको असर देखिन थाल्यो, सजग बनौँ’

काठमाडौं – उपप्रधान एवम्‌ अर्थमन्त्री विष्णु पौडेलले जलवायु परिवर्तनका कारण

 सात बुँदे सहमति कार्यान्वयन ढिलासुस्तीबारे पार्टीमा समीक्षा गरौँ : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार गठनअघि नेकपा

पोखरामा पहिलो पटक नेपाली प्रशिक्षकद्वारा स्काई डाइभिङ

पोखरा– पोखरामा पहिलोपकट नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ सुरु गरेका छन्।