दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा एमालेका सांसदले नाराबाजी गरेसँगै संसद बैठक स्थगित, ललिता निवास प्रकरणमा बयान दिन तयार रहेको पूर्वप्रधानमन्त्री डा. भट्टराईको भनाइ, सांसद शर्मालाई बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश, जसपाकी लिम्बू बनिन् कोशी प्रदेशको स्वास्थ्यमन्त्री, रास्वपाले सदन अवरोध भएको समयको सुविधा नलिनेलगायतका समाचारले प्रमुख स्थान पाए ।

एमालेका सांसदले नाराबाजी गरेसँगै संसद बैठक स्थगित, अर्को बैठक सोमबार बस्ने

प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरेपछि स्थगित भएको छ ।

प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिएका थिए । सांसद साहले होहल्लाको बीचमा पनि सुन तस्करी प्रकरणका विषयमा उच्चस्तरीय छानबिन समिति गठन माग गरिन् ।

सत्ता पक्ष र प्रतिपक्षीले विरोध जनाएपछि राष्ट्रिय सभा बैठक स्थगित

शुक्रबार राखिएको राष्ट्रिय सभा बैठक कार्यसूचीमा प्रवेश गर्न लाग्दा स्थगित भएको छ । सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरुले समसामयिक विषयमा आ–आफ्नो धारणा राखिसकेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई कार्यसूचीमा प्रवेश गराउन खोजेका थिए । तर, प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले उठेर विरोध जनाए । 

सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमाले सांसद उठेर विरोध जनाए । त्यसपछि अध्यक्ष तिमिल्सिनाले प्रतिपक्षीलाई बोल्न समय दिएपछि यसको विरोधमा सत्तापक्ष सांसदले उठेर विरोध जनाए । 

ललिता निवास प्रकरणमा बयान दिन तयार छु : पूर्वप्रधानमन्त्री डा. भट्टराई

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा बयान दिन तयार रहेको बताएका छन् ।

शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा डा. भट्टराईले सर्वोच्च अदालतले आफूमाथि पनि छानबिन गर्नुपर्ने आदेश दिएको विषयमा सहयोग गर्न तयार रहेको बताएका हुन् । आफ्नो पालामा व्यक्तिगत नभई मन्त्रिपरिषद्ले सानो निर्णय गरेको भन्दै उनले जस्तो सुकै अनुसन्धानका लागि तयार रहेको जिकिर गरे ।

सांसद शर्मालाई बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश, अरुलाई भने थुनामै राखिने

नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई काठमाडौँ जिल्ला अदालतले हिरासतबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बिहीबार नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सा शिक्षाको ‘योग्यता’ हासिल गरेको आरोपमा बिहीबार पक्राउ गरेर आज हिरासतमा राख्न म्याद थपका लागि गरेको आग्रह अस्वीकार गर्दै काठमाडौं जिल्ला अदालतले शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

जसपाकी लिम्बू बनिन् कोशी प्रदेशको स्वास्थ्यमन्त्री

जनता समाजवादी पार्टी (जसपा) की प्रदेशसभा सदस्य निर्मला लिम्बू कोशी प्रदेशको स्वास्थ्यमन्त्री नियुक्त भएकी छन् । मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री उद्धव थापाले उनलाई शुक्रबार स्वास्थ्यमन्त्री नियुक्त गरेका हुन् ।

लिम्बूले शुक्रबार नै प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

सुन तस्करीका आरोपित दुई चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

सुन तस्करी प्रकरणमा सर्वाधिक खोजिएका दुई चिनियाँ नागरिक पक्राउ परेका छन ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सर्वाधिक खोजिएका ती २ चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान पक्राउ गरेको हो । सीआईबी स्रोतका अनुसार आज बिहान चिनियाँ नागरिक ली गैलिन र लिओ फुयानलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको छ ।

सुन तस्करी प्रकरणमा सरकारमा रहेका व्यक्तिविरुद्ध बोलेकै कारण सांसद शर्मा पक्राउ परे : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा सरकारमा रहेका व्यक्तिविरुद्ध बोलेकै कारण सांसद सुनिल शर्मा पक्राउ परेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित महाकवि विद्यापतिकृत कथासंग्रह पुरुष परीक्षा लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलील सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेकै कारण सांसद शर्मालाई पक्राउ गर्ने काम भएको बताएका हुन् ।

विराटनगरका मेयर कोइरालाले रथयात्राका लागि पाँचवटै महानगरका प्रमुखलाई दिए निम्तो

विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राको तयारीलाई तीव्र पारिएको छ । यसपटकको रथयात्रामा पाँच वटै महानगरका प्रमुख, मोरङका सबै पालिकाका प्रमुख र उपप्रमुखलाई निमन्त्रणा गरिएको छ ।

कृष्णाष्टमीको भोलिपल्ट भदौ २१ गते विराटनगरमा ऐतिहासिक रुपमा राधाकृष्णको रथयात्रा निकाल्ने परम्परा वर्षौँदेखि चलिआएको छ । रथयात्रामा नेपाल र भारतका हजारौँ श्रद्धालु एवं भक्तालु सहभागी हुने गरेका छन् ।

क्विन्टल सुन तस्करी प्रकरण : व्यापारी रोहन अडुकिया पक्राउ

एक क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोप लागेका व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् ।

उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको प्रहरीले जनाएको छ । भारतबाट फर्किन क्रममा उनलाई शुक्रबार दिउँसो विमानस्थलबाट पक्राउ गरिएको हो ।

प्रहरीले हातपात गर्‍यो : सांसद शर्मा

नक्कली प्रमाणपत्र बनाएको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनील शर्माले प्रहरीले आफूलाई हातपात गरेको आरोप लगाएका छन् ।

शुक्रबार म्याद थपका लागि अदालत गएका उनले सञ्चारकर्मीसँगको कुराकानीमा प्रहरीले आफूमाथि हातपात गरेको आरोप लगाएका हुन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बिहीबार पक्राउ गरेको थियो ।

महामारीजन्य रोगको समयमै रिपोर्टिङ गर्न अस्पताललाई स्वास्थ्य कार्यालय चितवनको आग्रह

स्वास्थ्य कार्यालय चितवनले जिल्लामा रहेका सरकारी, निजी र सामुदायिक अस्पताल तथा प्रयोगशालाहरूलाई महामारीजन्य रोगको समयमै रिपोर्टिङ गर्न आग्रह गरिएको छ । मौसम परिवर्तनसँगै जिल्लामा डेङ्गु, आँखा पाक्नेलगायतका रोगको तथ्याङ्कलाई छिटो छरितो ढङ्गबाट स्वास्थ्य कार्यालयलाई उपलब्ध गराउन आग्रह गरिएको हो ।

कार्यालयले आज जिल्लाका सरकारी, निजी र सामुदायिक अस्पताल एवं प्रयोगशालाका प्रमुख एवं प्रतिनिधिलाई डाकेर सङ्क्रमण बढ्दो अवस्थामा रहेकाले छिटो छरितो सूचना सम्प्रेषण गरिदिन आग्रह गरेको हो ।

सरकार र गौर हत्याकाण्ड पीडितबीचको सहमतिप्रति जसपाको आपत्ति, संसदीय समिति गठन गर्न माग

जनता समाजवादी पार्टीले गौर हत्याकाण्डको छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर जसापाले गौर हत्याकाण्डको छानविन गरेर दोषीउपर कारबाही गर्ने सरकार र गौर हत्याकाण्ड पीडितबीच भएको सहमतिप्रति आपत्ति जनाउँदै आफ्नो पार्टी नेतालाई फसाउन खोजेको आरोप लगाएको छ ।

केही दिनअघि सरकार र पीडितबीच भएको सहमतिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै जसपाले घटनाको छानबिनको लागि उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेको हो । पत्रकार सम्मेलन गरेर प्रवक्ता मनिष सुमनले यसअघि भएका छानबिनका प्रतिवेदन गोप्य राखेर सरकारले बदनियतपूर्ण व्यवहार गरेको आरोप लगाए ।

रास्वपाले सदन अवरोध भएको समयको सुविधा नलिने

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सदन अवरोध भएको समयको सुविधा नलिने घोषणा गरेको छ ।

रास्वपाका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा पार्टीले नलिने सभामुख देवराज घिमिरलेलाई जानकारी गराएका हुन् ।

नर्सिङ सेवामा देखिएको चुनौतीलाई समाधान गर्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नर्सिङ सेवामा देखिएका चुनौतीलाई पूर्ण रुपमा समाधान गर्न सरकार प्रयत्नशील रहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयको कार्यभार सम्हालेको एक सय दिन पूरा गरेको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नर्सिङ सेवामा देखिएको चुनौती अग्निपरीक्षासरह भएको बताए ।

उनले सेवामा सुधार गर्ने सङ्कल्पसमेत आफूले लिएको भन्दै यसमा देखिने गरी नै काम गर्ने प्रतिबद्धता जनाए । प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य शिक्षा, रोजगारी र खाद्य सम्प्रभूताजस्ता विषयलाई संविधानको मौलिक अधिकारका रुपमा लेखिएको भएपनि जीवन व्यवहारमा सुविधा पाए कि पाएनन् भन्ने विषय महत्वपूर्ण रहेको बताए ।

सप्तरीका पत्रकार आन्दोलित

सप्तरीका पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् ।

जिल्ला प्रशासन कार्यालयले कार्यालय परिसरमा फोटो, भिडियो खिच्न रोक लगाएपछि पत्रकारहरु बिहीबारबाट आन्दोलनमा उत्रिएका हुन् । पत्रकार महासंघ सप्तरीको अगुवाईमा आज दोस्रो दिन पनि उनीहरूले राजविराजमा प्रदर्शन गरेका छन् ।

संसद् बैठक सञ्चालनका लागि पहल गरिदिन सभामुख घिमिरेलाई रास्वपाको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसद् बैठक नियमित सञ्चालनका लागि सार्थक पहल गर्न सभामुख देवराज घिमिरेसमक्ष आग्रह गरेको छ ।

एक क्विन्टल सुन तस्करी प्रकरणको छानविन गर्न समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले १० साउनदेखि लगातार सदन अवरुद्ध गर्दै आएको छ । शुक्रबारको बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गरे । जसअनुसार आउँदो सोमबार बस्नेगरी बैठक स्थगित गरिएको छ ।

भोजपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास

भोजपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गरिएको छ । टर्मिनल भवनको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज शिलान्यास गरेका हुन् ।

जिल्लाको एकमात्र विमानस्थलमा राम्रो टर्मिलन भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको विमानस्थलले जनाएको छ । टर्मिलन भवन नेपाल सरकारको भ्याटसहित रु पाँच करोड ४५ लाख लागतमा निर्माण हुने विमानस्थलले जनाएको छ ।

सिन्धुलीमा व्यावसायिक प्याराग्लाइडिङ सुरु

सिन्धुलीमा पहिलो पटक व्यावसायिक प्याराग्लाइडिङ सुरु भएको छ । यही साउन २२ गतेदेखि प्याराग्लाडिङ नियमित सञ्चालनमा आएको हो । वैशाख १२ गते पहिलो पटक परीक्षण उडान सफल भएको थियो । कमलामाई नगगरपालिका–६ लक्ष्मण चोक नजिकै रहेको प्रयास होटल प्रालिले र रु दुई करोडको लगानीमा व्यावसायिक प्याराग्लाडिङ सञ्चालनमा ल्याएको कम्पनीका सञ्चालक नेत्रजङ्ग थापाले बताए ।

कम्पनीले एकै समयमा पाँच वटासम्म प्याराग्लाइडिङ गर्ने गरी नागरिक उड्डयन प्राधिकरणसँग इजाजत पाएको छ । पाइलट दिलकुमार सुनुवार, विक्रम सुनुवार र शङ्कर थापा मगरले उडान भर्नेछन् । प्याराग्लाइडिङ गर्नका प्रतिव्यक्ति रु छ हजार पाँच सय शुल्क तोकिएको छ । जिल्लाका स्थानीयवासीलाई भने एक महिनासम्मका लागि रु एक हजार छुट गरिएको छ ।

सङ्खुवासभा कारागारमा कैदीको मृत्यु प्रकरण : प्रहरीसहित १५ जना नियन्त्रणमा

सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा भएको घटनाको अनुसन्धानका लागि १० प्रहरीसहित १५ जनालाई नियन्त्रणमा लिइएको छ ।

कारागारमा कुटपिटबाट सङ्खुवासभाको मादी नगरपालिका–५ का कैदी १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो । कैदीहरु मादी –५ का तोलाङ्गी र ककनी–७ का २८ बलामीको प्रहरीको कुटपिटबाट मृत्यु भएको सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले पुष्टि गरे ।

एकीकृत समाजवादीको बैठक भदौ पहिलो हप्ता बस्ने

 नेकपा (एकीकृत समाजवादी)ले पार्टीको महाधिवेशनको मिति र स्थान तोक्न आगामी भदौ ५, ६ र ७ गते काठमाडौँमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

पार्टी गठनको करिब दुई वर्ष भएकाले महाधिवेशन गरी देशभर संगठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना र रणनीति केन्द्रीय कमिटी बैठकले पारित गर्ने महासचिव घनश्याम भुसालले जानकारी दिए । पार्टीको महाधिवेशनको निर्णय गर्ने प्रमुख जिम्मेवारी रहेको बैठकमा रिपोर्टिङ-राजनीतिक प्रतिवेदनमाथि छलफल, समसामयिक परिस्थिति र हाम्रो कार्यभार र विविध विषयमा छलफल गरिने छ ।

भक्तपुरबाट १५ लाख नक्कली नोट बरामद, नौ जना पक्राउ

प्रहरीले भक्तपुरको चाँगुबाट बिहीबार साँझ ठूलो मात्रामा नक्कली नोट बरामद गरेको छ । प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग चाँगुनारायणको संयुक्त टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका–४ चाँगु बुढाथोकीगाउँबाट रु १५ लाख नेपाली नक्कली नोट बरामद गरेको हो ।

प्रहरी वृत्त थानकोटले नक्कली नोटको कारोबारमा संलग्न भएको आरोपमा नौ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सोही क्रममा पक्राउ परेकामध्ये सिन्धुपाल्चोकको बलेफी नगरपालिका–७ घर भई हाल चाँगु बस्ने ४० वर्षीय अर्जुन सुवेदीको डेरा चाँगु बुढाथोकीगाउँस्थित घरमा छापा मारी नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित केसीले बताएका छन् ।

निजी विद्यालय सञ्चालकहरूको आन्दोलन स्थगित

निजी विद्यालय सञ्चालकहरुले आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

संसदमा पेस गर्न लागिएको शिक्षा विधेयकको विषयलाई लिएर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका विद्यालय सञ्चालकहरुले सरकारसँग वार्ता भइरहेकाले तत्कालका लागि आन्दोलन स्थगित गरेका हुन् ।

तोलामा २०० रुपैयाँले घट्यो सुनको मूल्य

साताको अन्तिम कारोबारको दिन  शुक्रबार पनि सुनको भाउ ओरालो लागेको छ।  शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । योसँगै छापावाल सुन प्रतितोला  १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले  जनाएको छ ।

बिहीबार पनि सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको थियो । हिजो प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ९ : ०१ बजे

देशका तीन नदीमा जलसतह खतराको तहमाथि, बागमती र कोशी अझ बढ्दै

काठमाडौं– शनिबार दिउँसो ३ बजेसम्म नेपालका तीन नदीको जल सतहले

पहिराले कान्तिलोकपथ अवरुद्ध

पाटन– अविरल वर्षात्का कारण पहिरो जाँदा कान्तिलोकपथमा आवागमन अवरुद्ध भएको

पाकिस्तानमा बजेटपछि मुद्रास्फीति बढ्यो

एजेन्सी– आर्थिक वर्ष २०२४-२५ को बजेट पेस भएपछि पाकिस्तानको मुद्रास्फीतिमा

मधेसका मुख्यमन्त्री सिंहले मागे विश्वासको मत

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहलाई विश्वासको मत लिनको लागि

म्याग्दे खोलाको बाढीले घुम्तीका घर डुबानमा

दमौली– अविरल वर्षासँगै म्याग्दे खोलामा आएको बाढीले जिल्लाको म्याग्दे गाउँपालिका–४