सुदूरपश्चिमका मुख्यमन्त्री रावलको जीवनी « Khabarhub

सुदूरपश्चिमका मुख्यमन्त्री रावलको जीवनी


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा बुधबार नियुक्त नेकपा (एमाले)का प्रदेश संसदीय दलका नेतासमेत रहेका राजेन्द्रसिंह रावल राजनीतिककर्मीसँगै लेखक, साहित्यकार र इतिहासका अध्येयताका रुपमा समेत परिचित छ्न्।

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरमा बसोबास गर्दै आएका रावलको जन्म बैतडीको दशरथचन्द नगरपालिका–५ मारकण्ड गाउँमा बुबा दानसिंह र आमा कलादेवीको सन्तानका रूपमा २०२१ जेठ १६ गते भएको हो। मुख्यमन्त्री रावलले आधारभूत तहको शिक्षा भारत मेघालयको सिलङ, मध्यप्रदेशको जबलपुर र उत्तराखण्डको पिथौरागढबाट हासिल गरेका हुन्। बुवा दानबहादुर भारतीय सेनामा जागिरे थिए।

बैतडीको शाहीलेकस्थित वीरेन्द्र माध्यमिक विद्यालयबाट कक्षा १० उत्तिर्ण गरेका मुख्यमन्त्री रावलले प्रमाणपत्र तहको शिक्षा भारतको पिलिभितबाट तथा स्नातक तहको शिक्षा कञ्चनपुरको महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसबाट गरे। उनी नेपाली, अंग्रेजी, हिन्दी, डोटेली, कुमाउँनी, थारुलगायत भाषामा बुझ्दछन्। विसं २०३६ मा जनमत संग्रहका लागि भएको आन्दोलनबाट रावलको राजनीतिक यात्राको थालनी भएको हो।

मुख्यमन्त्री रावलले बैतडीमा आफूले पढेको विद्यालयमा अध्यापन गरेका थिए। विसं २०४२ मा उनी नेपाल राष्ट्रिय शिक्षक सङ्गठनमा आवद्ध भइ आन्दोलनको नेतृत्व गर्ने क्रममा पक्राउ परेका थिए। विसं २०४५ मा माक्र्सवादी अध्ययन दलको सदस्यका रुपमा समेत उनले काम गरेका थिए। विसं २०४६ को जनआन्दोलनमा रावल प्रेमसिंह धामी नेतृत्वको तत्कालीन नेकपा (माले) को प्रथम जिल्ला संगठन कमिटीमा आवद्ध भएर काम गर्नुका साथै २०४७ सालमा अनेरास्ववियुको तेश्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए।

विसं २०४८ मा मुख्यमन्त्री रावल अनेरास्ववियु पाँचौँ राष्ट्रिय परिषद् सदस्य तथा बैतडी जिल्ला इञ्चार्ज भएका थिए। विसं २०५१ मा नेकपा (एमाले) को जिल्ला संगठन विभाग प्रमुख, २०५४ सालदेखि २०५९ सम्म जिल्ला विकास समिति कञ्चनपुरको उपसभापति, २०५४ सालमा नेकपा (एमाले) को जिल्ला उपसचिव तथा २०५७ सालदेखि २०६२ सालसम्म एमाले कञ्चनपुरको सचिव (दुई कार्यकाल) का रुपमा काम गरेको अनुभव मुख्यमन्त्री रावलसित छ।

विसं २०६२-२०६३ को जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका रावललाई राजकाज मुद्दाअन्तर्गत पक्राउ गरिएको थियो। उनी २०६२ मा एमालेको महाकाली अञ्चल समन्वय कमिटीको सचिव, २०७५ देखि २०७७ सम्म एमाले केन्द्रीय कमिटी सदस्य तथा २०७८ सालमा एमाले केन्द्रीय र प्रदेश कमिटी सचिव तथा डडेल्धुरा जिल्ला इञ्चार्ज भएर मुख्यमन्त्री रावलले काम गरेका थिए। उनी हाल एमाले पोलिटब्यूरो सदस्य तथा सुदूरपश्चिम सहइञ्चार्जका रुपमा रहेका छन्।

मुख्यमन्त्री रावल २०७९ सालमा एमालेको समानुपातिकतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। रावल एमाले सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेता हुँदै मुख्यमन्त्रीमा चयन भए। उनी राजनीतिसँगै लेखन क्षेत्रमा समेत दख्खल राख्छन्। उनले तत्कालीन डोटी राज्यको मध्यकालीन इतिहास लेखेका छन्। रावलका कविता संग्रह पनि प्रकाशित छन्। यसबाहेक मुख्यमन्त्री रावलका विभिन्न विषयका कार्यपत्र, सोधपत्र र लेखरचना पनि प्रकाशित छन्। उनले चुरे संरक्षण आवाज बुलेटीनको सम्पादकका रुपमा समेत काम गरेका छन्।

मुख्यमन्त्री रावल सुदूरपश्चिम विश्वविद्यालयको संस्थापक सदस्य, महाकाली अञ्चल अस्पताल सञ्चालक समितिको अध्यक्ष, सिद्धनाथ बहुमुखी क्याम्पस, सिद्धनाथ विज्ञान क्याम्पस र शारदा विद्यापीठको सञ्चालक समितिको सदस्यका रुपमा समेत काम गरिसकेका छन्। उनी महाकाली साहित्य समाजको वरिष्ठ उपाध्यक्षसमेत रहेका छन्।

 

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ७ : ४८ बजे

टी–२० विश्वकप आजदेखि, उद्घाटन खेलमा पाकिस्तान र नेदरल्याण्ड्स भिड्ने

काठमाडौैं– आईसीसी टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलङ्कामा

खजुरा गाउँपालिकामा कानुन निर्माणले सेवा प्रवाहमा सहज

बाँके– बाँकेको खजुरा गाउँपालिकाले नयाँ कानुन बनाएर जनतालाई दिनुपर्ने सेवा

सङ्कटमा स्वास्थ्य बीमा : चलाउने की बन्द गर्ने दोधारमा सरकार

काठमाडौं- आम नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध

सडकका खाल्डाखुल्डी पुर्न ‘रेडिमिक्स’ तयार गर्दै सडक डिभिजन

चितवन– जिल्लाका मुख्य सडकमा हुने ससाना खाल्डाखुल्डी (पोटहोल) तत्काल पूर्ववत्

फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित

पाँचथर– पाँचथरको फिदिम नगरपालिका पूर्णखोप सुनिश्चित नगरपालिका घोषित भएको छ