थारू समुदायको उत्थानका लागि लाग्नेछु : गृहमन्त्री लामिछाने | Khabarhub Khabarhub

थारू समुदायको उत्थानका लागि लाग्नेछु : गृहमन्त्री लामिछाने


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

चितवन– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले थारू समुदायको उत्थानका लागि आफू लागि पर्ने बताएका छन् । पूर्वी चितवनको खैरहनीमा आजदेखि सुरु भएको आठौँ खिचरा महोत्सवको उद्घाटन कार्यक्रममा उनले थारु समुदायको समस्या समाधानमा सरकार र आफ्नो मन्त्रालय लागि पर्ने बताए। उनले भने ‘थारु समुदायको उत्थान, विकास र मुद्दामा ध्यान र विवेक पुर्‍याउने छु ।’ 

थारू संस्कृति जगेर्ना हाम्रो जिम्मेवारी भएको भन्दै यो समुदायको संस्कृति जगेर्ना गर्नका लागि यस्ता मेला महोत्सव आवश्यक पर्ने उनको भनाइ थियो । उनले भने, ‘थारु समुदायबाट अन्य समुदायले सत्कार र सम्मानको विषयमा सिक्नु पर्छ ।’ जनताको दिएको जिम्मेवारी पूरा गर्नका लागि समय व्यवस्थापन गर्दै थारू समुदायको उत्थानमा लाग्ने उनले बताए । 

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले थारू संस्कृतिको माघी पर्व अहिले सबै समुदायको साझा बन्न सफल भएको बताए । माघी पर्व अहिले सार्वजनिक शिक्षालयका रूपमा अघि बढेको उनको भनाइ थियो । उनले भने, ‘यस महोत्सवले चितवनको बृहत् हितमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु ।’ बागमती प्रदेश सरकार चितवनका पर्यटकीय क्षेत्रको विकासका लागि पर्यटनलाई पूर्वाधारसँग जोड्दै अघि बढ्ने उनले बताए ।  

थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नम्बर ७ ले हरेक वर्ष माघे सक्रान्तिको अवसरमा महोत्सव गर्दै आएको छ । आजदेखि माघ ४ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । महोत्सव मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीका अनुसार देशभरका थारू जातिको रहनसहन र वेशभूषाका साथै थारू जातिले खाने खानाका परिकारलाई प्राथमिकता दिइएको छ । 

थारूको बसोबास रहेका २५ जिल्लाका थारूको खाना एकै ठाउँमा पस्किने प्रयास गरिएको उनले जानकारी दिए । महोत्सवबाट थारू जाति र थारू जातिको वेशभूषासँगै पहिचान तथा संस्कृतिको जगेर्नामा ठूलो टेवा पुग्ने उनले बताए ।

महोत्सवमा ३० वटा होटलसहित एक सय ५० वटा व्यावसायिक स्टल रहेका छन् । महोत्सवमा कृषि प्रवर्द्धन परिसरसमेत रहनेछ । महोत्सवमा जिल्लास्तरीय भलिबल, खुला चित्रकला, विद्यालयस्तरीय नृत्य, गाउँखाने कथालगायतका विभिन्न प्रतियोगितात्मक कार्यक्रमसमेत सञ्चालन हुनेछ । 

यसैबीच उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले अवैध कुखुराको चल्ला र अण्डा रोक्न निर्देशन दिनुभएको छ । पोल्ट्री व्यावसायीहरूले आज यहाँ आयोजना गरेको छलफलमा बोल्दै मन्त्री लामिछानेले जिल्लाका सुरक्षा निकायहरूलाई अवैध कुखुरा, चल्ला र मासु आयात रोक्न निर्देशन दिएका हुन् । 

व्यावसायीहरूले अण्डा, चल्ला र कुखुराको मासु विभिन्न नाका हुँदै नेपाल भित्रिएको बारेमा गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । उनीहरूले आफूहरूको व्यवसायमा संकट उत्पन्न भएको भन्दै त्यतातिर ध्यान दिन अनुरोध गरेका थिए । छलफल कार्यक्रमबाटै मन्त्री लामिछानेले नेपालगञ्ज, सिन्धुली, सर्लाहीका सुरक्षा अधिकारीहरूलाई टेलिफोनमार्फत आयात रोक्न निर्देशन दिएका हुन् ।

उनले आजै उद्योग सङ्घ चितवनले यहाँ आयोजना गरेको उद्योग क्षेत्रमा देखिएका वर्तमान र औद्योगिक विकासका लागि सरकारसँगको अपेक्षा विषयक छलफल कार्यक्रममा समस्याको निकासका लागि सरकार प्रतिबद्ध रहेको बताए । सो अवसरमा मन्त्री लामिछानेले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई टेलिफोन गरी आउँदो सोमबार उद्योगीहरूको समस्याको विषयमा निर्णायक छलफल गर्ने गरी कार्यक्रम तय गर्न आग्रह गरे । 

आफू यसै क्षेत्रको जननिर्वाचित सांसद भएकाले यहाँका उद्योगी व्यवसायीको समस्याको समाधान गर्ने जिम्मेवारी आफ्नो भएको उनले बताए । सो अवसरमा उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कडेंल, वरिष्ठ उपाध्यक्ष सूर्य न्यौपाने र उपाध्यक्ष युगराज वस्तीले उद्योगीहरूले अहिले झेल्नुपरेको समस्याका बारेमा अवगत गराए ।   

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ६ : ०४ बजे

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते

न्याम्सअन्तर्गत शिक्षक दरबन्दी थप्ने निर्णय

काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले प्रतिष्ठानअन्तर्गतका सरकारी मेडिकल

महिला टी–२० विश्वकप : भारतले पाकिस्तानलाई हरायो

काठमाडौं – आइसीसी महिला टी–२० क्रिकेट विश्वकपमा भारतले पाकिस्तानलाई पराजित

एनपीएलमा विनोद भण्डारी सुदूरपश्चिमबाट खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विकेटकिपर ब्याट्सम्यान विनोद