विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 6 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

आज जेठ २९, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जून १२, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

इटालीका पूर्वप्रधानमन्त्री बर्लुस्कोनीको निधन

इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ ।

उनको सपचारका क्रममा मिलानको सान राफेले अस्पतालमा निधन भएको हो ।

उनी रक्त क्यान्सरबाट ग्रसित थिए । स्वास्थ्य परीक्षणका लागि उनलाई शुक्रबार अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ ।

स्कटल्याण्डकी पूर्वप्रथममन्त्री स्टर्जन पक्राउ

स्कटल्याण्डका पूर्वप्रथममन्त्री निकोला स्टर्जनलाई पक्राउ गरिएको छ ।

स्कटिस नेसनल पार्टी (एसएनपी) को आर्थिक सहयोग र वित्तिय सम्बन्धमा चलिरहेको अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको हो । एसएनपी स्कटिश स्वतन्त्रताको समर्थक हो ।

प्रहरीले उनको नाम नलिई एक विज्ञप्ति जारी गर्दै भने, ‘५२ वर्षीया एक महिलालाई शंकास्पदका रूपमा हिरासतमा लिएको छ र सोधपुछ भइरहेको छ ।’

गत अप्रिलमा उनका श्रीमान्, पूर्वएसएनपी प्रमुख कार्यकारी पिटर मुरेलको गिरफ्तारी र रिहाई पछि उनलाई पनि पक्राउ गरिएको हो । स्टर्जनका प्रवक्ताले पुष्टि गरे कि उनी आइतबार प्रहरी अनुसन्धानमा भाग लिएकी थिइन् ।

प्रवक्ताका अनुसार स्टर्जनले आइतबार स्कटल्याण्ड प्रहरीलाई बयान दिएकी थिइन् ।

अस्ट्रेलियामा बस दुर्घटनामा १० जनाको मृत्यु

अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको हन्टर भ्याली क्षेत्रमा बस दुर्घटनामा परेको छ ।

प्रहरीका अनुसार सो घटनामा परेर कम्तीमा १० जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

१८ यात्रु भने सो दुर्घटनाबाट जोगिएका छन् । प्रहरीका अनुसार घटनापछि आपतकालीन सेवालाई घटनास्थलमा बोलाइएको थियो ।

त्यसपछि ठूलो आपतकालीन अपरेशन सुरु गरिएको थियो। बसका चालकलाई अनिवार्य परीक्षण र मूल्यांकनका लागि प्रहरी सुरक्षामा अस्पताल लगिएको थियो ।

घाइते पीडितहरूलाई सडक र हवाई मार्गबाट ​​हन्टर उपत्यकाका धेरै अस्पतालहरूमा लगियो, जसमा घाइतेहरूकाे न्यू ल्याम्बटन हाइट्सको जोन हन्टर अस्पताल र वाराताहको मेटर अस्पतालमा उपचार गरिएको छ ।

सेसनकका मेयर जय सुवलले बस दुर्घटनालाई ‘भयानक’ भनेका छन् ।

युक्रेनमा आएको बाढीका कारण सात बालबालिकासहित ३५ जना बेपत्ता

दक्षिणी युक्रेनमा आइतबार आएको विनाशकारी बाढीका कारण सात बालबालिकासहित ३५ जना बेपत्ता भएका छन् । खेर्सन क्षेत्रको अग्रपङ्क्तिमा रहेको रूसी नियन्त्रित काखोभका जुन ६ मा बाँध ध्वस्त भएपछि हजारौं मानिस भाग्न बाध्य भएका थिए ।

युक्रेनले निप्रो नदीमा रहेको बाँध रूसले भत्काएको आरोप लगाएको छ भने मस्कोले कीएभले उक्त संरचनामा विष्फोट गराएको आरोप लगाएको छ ।युक्रेनका आन्तरिक मामिलामन्त्री इगोर क्लाइमेन्कोले दक्षिणी क्षेत्र खेर्सन र माइकोलाइभका ७७ वटा शहर र गाउँ डुबानमा परेको बताएका छन् ।

क्लाइमेन्कोका अनुसार खेरसन क्षेत्रमा सात बालबालिकासहित ३५ जना हराइरहेका छन् । बाढीका कारण खेर्सन क्षेत्रमा पाँच जनाको मृत्यु भएको थियो भने माइकोलाइभ क्षेत्रमा एक जनाको मृत्यु भएको थियो ।

ती दुई क्षेत्रमा रहेका तीन हजार ७०० जनालाई सुरक्षितस्थलमा सारिएको उनले बताए । युक्रेनका अभियोजक जनरल एन्ड्री कोस्टिन र अन्तर्राष्ट्रिय फौजदारी अदालतका प्रतिनिधिले पनि बाढी प्रभावित क्षेत्रको भ्रमण गरेको उनको कार्यालयले जनाएको छ ।

“चेर्नोबिलपछिको यो सबैभन्दा खराब वातावरणीय विपत्ति हो, त्यसैले हामी युद्ध अपराधमात्र होइन, पर्यावरणीयस्थलको पनि अनुसन्धान गरिरहेका छौं,” कोस्टिनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

रुसले कब्जामा लिएका तीन गाउँ फिर्ता लिएको युक्रेनको दाबी

युक्रेनले रुसले कब्जामा लिएको आफ्नो तीनवटा गाउँ फिर्ता लिएको दाबी गरेको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलन्स्कीले आफ्नो बहुप्रतिक्षित प्रतिआक्रमण कारवाहीको पहिलो दिनमा देशको दक्षिण पूर्वमा रहेको ब्लाहोदात्ने, मकारिभका र नेस्कुन्चे लगाएतका गाउँ रुसी कब्जाबाट मुक्त गराएको पुष्टि गरेका छन् ।

शनिबार राष्ट्रपति जेलेन्स्कीले प्रतिआक्रमण सुरु भएको बताएका थिए ।

युक्रेनले कब्जामुक्त गराएको गाउँमा आफ्नो सेनाले राष्ट्रिय झण्डासहित उत्सव मनाइरहेको भन्दै केही सामाजिक सञ्जालमार्फत तस्वीर तथा भिडियो सार्वजनिक गरेको छ ।

तर रुसले भने आफ्नो नियन्त्रणमा रहेको एक इन्च जमिन पनि युक्रेनले फिर्ता लान नसकेको बताएको छ ।

रुसमाथिको प्रतिआक्रमणको क्रममा युक्रेनी सेना देशको दक्षिणी भागबाट अघि बढिरहेको जनाइएको छ ।

साउदी अरबमा तीन जनालाई मृत्युदण्ड

साउदी अरबले सुरक्षा अधिकारीको हत्या गरेको र ‘आतङ्कवादी समूह’ स्थापना गरेको अभियोगमा आइतबार आफ्ना तीन जना नागरिकलाई मृत्युदण्ड दिएको छ ।

एएफपीका अनुसार यस वर्षको सुरुदेखि अहिलेसम्म साउदी अधिकारीहरूले ५२ जनालाई मृत्युदण्ड दिइसकेका छन्, जसमा २० जना आतङ्कवादसँग सम्बन्धित अपराधमा संलग्न छन् ।

साउदी अरबको गृह मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै तीनै जनाले राजधानी रियादमा एक अधिकारीको हत्या गरेको र उहाँको गाडीमा आगो लगाएर शव जलाएको जनाएको छ ।

उनीहरूलाई आतङ्कवादलाई आर्थिक सहयोग गरेको र हातहतियार, गोलाबारुद र विस्फोटक पदार्थ बनाउन प्रयोग हुने सामग्री राखेको अभियोगमा पनि दोषी ठहर गरिएको मन्त्रालयले जनाएको छ ।

अधिकारीहरूले आइतबार रियादमा मृत्युदण्डको सजाय सुनाएको मन्त्रालयले जनाएको छ ।

उक्त वक्तव्यमा प्रयोग गरिएको विधिबारे केही उल्लेख गरिएको छैन, तर राज्यले प्रायजसो टाउको छेदन गरी मृत्युदण्ड दिने गरेको छ ।

यस वर्ष ‘आतङ्कवाद’ का लागि सबैभन्दा बढी मृत्युदण्ड साउदी अरबको पूर्वी क्षेत्रमा दिइएको छ, जहाँ शिया अल्पसङ्ख्यक समुदायको बाहुल्यता छ ।

गत महिना साउदी अरबले दुई बहराइनीलाई पनि आतङ्कवादसँग सम्बन्धित अपराधमा मृत्युदण्ड दिएको थियो । साउदी अरब विश्वकै सबैभन्दा धेरै मृत्युदण्ड दिने मुलुकमध्ये एक हो ।

गत वर्ष आतङ्कवादसँग सम्बन्धित अपराधमा १४७ जनालाई मृत्युदण्ड दिइएको थियो, जसमध्ये ८१ जना एकै दिन मारिएका थिए । सामूहिक मृत्युदण्डको घटनाले अन्तर्राष्ट्रिय स्तरमा आक्रोश उत्पन्न गरेको थियो ।

सन् २०१५ मा राजा सलमानले सत्ता सम्हालेयता एक हजारभन्दा बढीलाई मृत्युदण्ड दिइएको बेलायतस्थित रिप्रिभ र युरोपियन साउदी अर्गनाइजेसन फर ह्युमन राइट्सले यसै वर्षको सुरुमा प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ ।

२४ घण्टे युद्धविरामको सकिएसँगै सुडानमा पुनः हिंसा सुरु

सुडानको राजधानी खार्तुममा २४ घण्टे युद्धविरामको अन्त्यपछि आइतबार देखि गोलाबारी र गोली हानाहान पुनः सुरु भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

गत अप्रिलको मध्यदेखि उत्तरपूर्वी अफ्रिकी देशमा सेना प्रमुख अब्देल फत्ताह अल बुरहान र अर्धसैनिक सपोर्ट फोर्सेज (आरएसएफ) को नेतृत्व सम्हालिरहेका उनका पूर्व सहयोगी मोहमद हमदान डग्लोको समूहबीच आपसी भिडन्त भएको थियो ।

युद्धविराम सम्झौताको पछिल्लो शृङ्खलाले राजधानी खार्तुममा फसेका सर्वसाधारणलाई बाहिर जान र खाद्यान्न तथा अन्य आवश्यक सामग्री भण्डारण गर्न मौका दिएको छ ।

स्थानीय समयअनुसार आइतबार बिहान ६ बजेसम्मका लागि घोषणा गरिएको युद्धविरामको अवधि सकिएको १० मिनेटपछि नै राजधानीमा पुनः गोलाबारी र झडप भएको प्रत्यक्षदर्शीले एएफपीलाई बताएका छन् ।

खार्तुम र यसको उत्तरमा रहेको ओमदुरमान शहरमा भीषण गोलाबारीको आवाज सुनिएको र राजधानीको दक्षिणमा रहेको प्रमुख मार्ग अल–हवा स्ट्रिटमा पनि भिडन्त सुरु भएको अधिकारीहरूले बताएका छन् ।

दक्षिण खार्तुमका बासिन्दा नासरुद्दीन अहमदले भने, “एक दिनको मौनता ‘सपना जस्तै’ थियो जुन २४ घण्टा बित्दा नबित्दै अन्त्य भएको छ ।राजधानीको उत्तरी उपनगरमा बस्ने अस्मा अल–रिहले ‘रकेट र गोलाहरूले घरका भित्ताहरू हल्लिने आतङ्कको पुनरागमन’ मा दुःख व्यक्त गरे ।

‘बिपरजोय’ चक्रवातका कारण मुम्बईमा उडान प्रभावित

भारतको आर्थिक राजधानी मुम्बईमा आइतबार साँझदेखि प्रतिकूल मौसमका कारण ‘बिपरजोय’ चक्रवात तीव्र भएपछि उडान प्रभावित भएको अधिकारीहरूले सोमबार बताएका छन् ।

पूर्व–मध्य र आसपासको उत्तरपूर्वी अरब सागरमा बनेको चक्रवाती आँधी ‘बिपरजोय’ ले अत्यधिक भीषण चक्रवाती आँधी मुम्बईमा अवतरण भएपछि शहर र वरपरका क्षेत्रमा भारी वर्षा र हावाहुरी चलेको छ ।

मुम्बई विमानस्थलका केही उडान रद्द वा ढिलो भएको र केहीले अवतरण रद्द गर्नुपरेको र सयौं यात्रुले आफ्नो उडानका लागि घन्टौँ पर्खनुपरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

“खराब मौसम र मुम्बई विमानस्थलको धावनमार्ग ०९/२७ अस्थायी रूपमा बन्द हुनुका साथै हाम्रो नियन्त्रणभन्दा बाहिरका अन्य कारणहरूले गर्दा हाम्रा केही उडानहरू ढिलाइ र रद्द भएका छन्,” एयर इन्डियाले आइतबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सोमबार मुम्बईको मरिन ड्राइभमा पनि उच्च ज्वारभाटाको लहर देखिएको थियो र तटीय महाराष्ट्रका केही जिल्लाहरूमा आँधीबेहरीको चेतावनी जारी गरिएको छ ।

भारतीय मौसम विज्ञान विभाग आईएमडीले चक्रवात ‘बिपरजोय’ बिहीबार गुजरातको सौराष्ट्र र कच्छ तट पार गर्ने सम्भावना छ, र ती क्षेत्रहरूमा उच्च आँधीको गति १५० किलोमिटर प्रतिघण्टासम्म पुग्ने जानकारी गराएको छ ।

प्रशासनले तटीय क्षेत्रमा आवश्यक सावधानी अपनाउन नागरिकहरूलाई निर्देशन दिएको छ ।

अमेरिकामा हजारौं माछा मरे

अमेरिकाको टेक्सास राज्यको गल्फ कोस्ट क्षेत्रका समुन्द्री किनारमा दुर्लभ मेन्हाडेन प्रजातीका हजारौं माछाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

क्विन्टाना बिच सहरको काउन्टी पार्कबाट करिब ९.७ किलोमिटर टाढा ब्राजोस नदीको मुहान नजिकै मरेका माछा फेला परेको मेक्सिकन खाडीको तटमा रहेको बिचफ्रन्ट पार्कका अधिकारीहरुले बताएका छन् ।

शुक्रबारदेखि तटीय पानीमा सयौं मरेका माछा तैरिरहेको तस्बिर सार्वजनिक गरेका निकुञ्जका अधिकारीहरूले सतही पानी र सूर्यको प्रकाशको कमीका कारण अक्सिजनको मात्रा घटेकोले माछाह मरेकोअ बताएका छन् ।

सफाइको प्रयास जारी रहे पनि पानी कम हुँदा अक्सिजनको अभाव भएको र यहाँ अझै हजारौं माछाहरू मर्ने अनुमान गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अमेरिका युनेस्कोमा पुनः सामेल हुने

संयुक्त राज्य अमेरिका यस वर्षको जुलाईदेखि राष्ट्रसङ्घीय सांस्कृतिक निकाय युनेस्कोमा पुनः सामेल हुने योजना बनाएको उक्त निकायले सोमबार घोषणा गरेको छ । अमेरिकाले यसअघि सन् २०१८ मा युनेस्कोको सदस्यता समाप्त गरेको थियो । “यो युनेस्को र बहुपक्षीयताप्रतिको विश्वासको बलियो कार्य हो,” युनेस्कोका महानिर्देशक अड्रे अजोलेले पेरिसमा सङ्गठनका सदस्य राष्ट्रका प्रतिनिधिलाई उक्त निकायमा पुनः सामेल हुने अमेरिकाको निर्णयबारे जानकारी दिँदै भनिन् ।

युनेस्कोको संस्थापक सदस्य अमेरिकाले यस निकायले प्यालेस्टाइनलाई सदस्य राष्ट्रको रूपमा स्वीकार गर्दासम्म अर्थात् सन् २०११ सम्म युनेस्कोको बजेटमा प्रमुख योगदान गरेको थियो । तर, प्यालेस्टाइनलाई सदस्य राष्ट्रका रूपमा स्वीकार गरेपछि अमेरिकाको उक्त निकायसँगको विवाद शुरू भएको थियो ।

सन् २०१७ मा तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलसँगै युनेस्कोबाट अमेरिका पनि बाहिरिने घोषणा गरेका थिए । यसको बहिर्गमन सन् २०१८ मा लागू भएको थियो । सन् २०१७ देखि युनेस्कोको नेतृत्व गर्दै आएकी फ्रान्सकी पूर्व संस्कृतिमन्त्री अजोलेले अमेरिकालाई फिर्ता ल्याउनु आफ्नो म्यान्डेटको प्राथमिकतामा राखेकी थिइन् । अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्माले एएफपीलाई लेखेको पत्रमा ‘राजनीतिकरणको बहसमा ध्यान कम गर्ने’ लगायत ‘महत्वपूर्ण मुद्दा’ मा प्रगति गरेकोमा अमेरिका अजोलेप्रति कृतज्ञ रहेको बताएका छन् ।

सन् २०११ मा युनेस्कोको योगदान स्थगन हुनुअघिसम्म अमेरिकाले युनेस्कोको कुल बजेटको करिब २२ प्रतिशत अर्थात् सात करोड ५० लाख अमेरिकी डलर प्रदान गर्दै आएको थियो । तर, तत्कालीन राष्ट्रपति जो बाइडनको डेमोक्र्याटिक पार्टीको पूर्ण नियन्त्रण रहेको अमेरिकी कंग्रेसले डिसेम्बरमा संयुक्त राज्य अमेरिकालाई १५ करोड अमेरिकी डलर बजेटमा छुट्याएर आर्थिक सहायता पुनः स्थापना गर्न मार्ग प्रशस्त गरेको थियो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गत मार्चमा युनेस्कोबाट अमेरिका अनुपस्थित हुनुले चीनलाई आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी नियम लेख्न मद्दत पुगेको बताएका थिए । “हामी युनेस्कोमा फर्कनुपर्छ भन्ने मेरो दृढ विश्वास छ । युनेस्कोमा भइरहेका कुराहरू वास्तवमा महत्त्वपूर्ण छन्,” ब्लिन्केनले बजेट प्रस्तुत गर्दा सिनेटको एक समितिलाई भनेका थिए । “उनीहरूले आर्टिफिसियल इन्टेलिजेन्सका लागि नियम, मापदण्ड र मापदण्डमा काम गरिरहेका छन् । हामी त्यहाँ बस्न चाहन्छौं,” उनले भने ।

अमेरिकाले यसअघि सन् १९८४ मा पनि युनेस्कोको सदस्यता स्थगन गरेको थियो र करिब २० वर्षपछि सन् २००३ को अक्टोबरमा युनेस्कोमा पुनः सामेल भएको थियो । सन् २०२३ मा पुनः सामेल हुने प्रस्तावित योजना अब अन्तिम स्वीकृतिका लागि युनेस्कोका सदस्य राष्ट्रहरूको महासभामा पेश गर्नुपर्नेछ । केही सदस्य राष्ट्रहरू निर्णय गर्न चाँडै असाधारण अधिवेशन होस् भन्ने चाहन्छन् ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ८ : ०९ बजे

हुम्लाको झापुकुनास्थित किराना पसलमा आगलागी

हुम्ला– हुम्लाको सर्केगाड गाउँपालिका–४ को झापुकुनास्थित मानदेव शाहीको जस्तापाताले छाएको

मुस्ताङका फल्याक र धार्काजुङमा सिँचाइको अभाव

मुस्ताङ– वारागुङ मुक्तिक्षेत्र–५ को फल्याक, धार्काजुङ र पाक्लिङ गाउँलाई कृषिको

हेवा खोलामा बाढी आउँदा मेची राजमार्ग अवरुद्ध

फिदिम – अविरल वर्षाका कारण हेवा खोलामा आएको बाढीले मेची

नीलबाराही मन्दिर संरक्षणमा स्थानीय

भक्तपर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ स्थित नीलबाराही मन्दिर संरक्षण गर्न पहल

दुई अर्ब ४१ करोड ७९ लाख राजस्व सङ्कलन

कञ्चनपुर– आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको राजस्व सङ्कलन वृद्धि भएको छ