आजदेखि सगरमाथा आरोहण शुरु « Khabarhub

आजदेखि सगरमाथा आरोहण शुरु


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यस वर्षको वसन्त ऋतुमा आजदेखि सगरमाथा आरोहण सुरु भएको छ । आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले आज दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो ।

प्रतिकूल मौसमका कारण तीन सातायता आरोहणको प्रतीक्षामा रहेका आरोही खुसी भएका छन् । सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीका अनुसार आइसफल डाक्टरले आज दिउँसो १ बजेर ५२ मिनेटमा सगरमाथाको चुचुरोसम्म बाटो खोलेर आरोहण खुलेको सन्देश दिएका छन् । 

‘सगरमाथा समिटसम्मको रुट फिक्सिङ सक्यो, दिउँसो १ बजेर ५२ मिनेटमा आठ जना शेर्पा र एक फोटोग्राफर चुचुरोमा पुगे’, कम्पनीका कार्यकारी निर्देशक दावा ग्याल्जे शेर्पाले राससलाई जानकारी दिए । अहिले धेरै सङ्ख्यामा आरोही सगरमाथाको चौथो शिविरमा रहेकाले भोलि बिहानसम्म उल्लेख्य आरोही चुचुरोमा पुग्ने अनुमान गरिएको उनको भनाइ छ । ‘इमाजिन नेपालको शेर्पाको टोलीले समिटसम्म बाटो खोलेको छ । भोलि मे १४ देखि २० तारिखसम्म सगरमाथाको मौसम राम्रो रहेकाले धेरै आरोही चुुचुरोमा पुग्नेछन्’, उनले भने ।

दावा ग्याल्जे शेर्पा दोलखा रोलवालिङका शेर्पा अन्तर्राष्ट्रिय माउन्टेन गाइड समेत छन् । रोप फिक्सिङ गर्ने समूहका अन्य सदस्यमा सोलुखुम्बु थामेका निमानुरु शेर्पा, लाक्पासोना शेर्पा, पासाङ निमा शेर्पा, लाक्पा तेन्जिङ शेर्पा, फुर ग्याल्जेन शेर्पा,  दावा जङ्बु शेर्पा र सङ्खुवासभाका दीपेन गुरुङ रहेका छन् ।

‘प्रतिकुल मौसमका कारण लामो समयदेखि रोप फिक्सिङको काम हुन सकेको थिए, आज मौसम अनुकुल भएसँगै डोरी टाँग्ने पूरा भएपछि आरोहणको सुरु भएको छ ।’ उनले धेरै आरोही सगरमाथाको चुचुरोतर्फ जाने तयारीमा रहेको जानकारी दिए।

यतिबेला सगरमाथाको आधार शिविर र दोस्रो शिविर आसपासमा आरोहणका लागि सयौँ सङ्ख्यामा आरोही यतिबेला प्रतीक्षारत छन् । उनीहरु मौसम अनुकूलताअनुसार सगरमाथाको शिखरतर्फ अघि बढ्नेछन् ।

आइसफल डाक्टरले यही वैशाख १० गते नै सगरमाथाको साउथ कोल (चौथो शिविर)सम्म बाटो खुलाइसकेका थिए । मौसम अनुकूल भइदिएको भए वैशाख २१ गतेसगरमाथाको चुचुरोसम्म पुग्ने बाटो खुलिसक्थ्यो । सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपिसिसी) ले बाटो बनाएको थियो । 

वसन्त ऋतुको सगरमाथा आरोहणका लागि मौसम पूर्वानुमान गरिरहेका एक वरिष्ठ मौसमविद्का अनुसार सगरमाथाको सात हजार ५०० मिटरमाथितिर तीव्र वेगको हावा चलेकाले पूर्वनिर्धारित समयमा चुचुरोसम्म बाटो खुलाउन कठिन भएको थियो । उक्त क्षेत्रमा वैशाख २० गतेदेखि बिग्रिएको मौसम अहिले केही सुधार आएको हो । प्रतिघण्टा ४० देखि ५० किलोमिटर हावाको वेग चलेकाले आरोहणमा केही ढिलाइ भएको हो ।    

वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ४४ आरोही समूहका चार सय ६७ आरोहीले आरोहण अनुमति लिएका हुन् । जसमध्ये ९८ महिला र तीन सय ६९ पुरुष छन् । सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो ।

आरोहणलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभागले सगरमाथा आधार शिविरमा अनुगमन तथा सहजीकरण गर्नका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । पर्यटन विभागको विवरणमा सगरमाथा आरोहणका लागि नेपालसहित ६५ देशका नागरिकले अनुमति लिएका छन् ।

सन् १९५३ मे २९ तारिखका दिन दुई साहसी पर्वतारोही नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमन्ड हिलारीले सगरमाथाको चुचुरोमा पुगेर आरोहणको ढोका खुलाएका थिए । सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको ७० वर्ष पुगेको छ । 

सगरमाथा आरोहणको इतिहासमा हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशीले आरोहण गरेका छन् । तथ्यांक अनुसार हालसम्म तीनसय भन्दा बढी आरोहीले सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका छन् ।

पर्वतारोहण सञ्चालक सङ्घ नेपालका अध्यक्ष डम्बर पराजुलीले मौसमलगायतका विभिन्न कठिनाइका बाबजुद पनि आरोहणको ढोका खुलेको बताए ।

–सिबी अधिकारी रासस

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ३ : ०८ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष