तरभुजा बिक्रीबाट जीविकोपर्जन गर्दै वाणीवासी « Khabarhub

तरभुजा बिक्रीबाट जीविकोपर्जन गर्दै वाणीवासी


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

बेदकोट – महेन्द्र राजमार्ग छेउमै लहरै छन्, स–साना छाप्रा । अघिल्तिर भरिभराउ तरभुजा । किनमेल गर्नेको त्यस्तै भीडभाड । झट्ट हेर्दा राजमार्गमा ‘तरभुजा मेला’ लागेजस्तै देखिन्छ ।

शुक्लाफाँटा नगरपालिका–११ वनहरा पुल क्षेत्रको यो दृश्यले महेन्द्र राजमार्ग भएर आउजाउ गर्ने यात्रुलाई आकर्षित गराएको छ । तरभुजा किन्न यात्रु सवारीसाधन रोकेर ओर्लिरहेका छन् । घाम छल्न त्रिपाल टाँगिएको छ । त्रिपालमुनि बसेर कोही ग्राहक कुरिरहेका छन् । कोही तरभुजा तौलिनमा व्यस्त देखिन्छन् । तरभुजाको मोलमोलाइ पनि चलिरहेकै छ ।

यहीँ भीडमा तरभुजा बिक्री गरिरहेको भेटिए, कृष्णपुर नगरपालिका–२ वाणीका जगदेव राना । उनले वनहरा नदीको बगरमा पाँच कठ्ठा क्षेत्रमा तरभुजा खेती गरेका छन् । “यो सिजनमा एक साता भयो तरभुजा बिक्री गर्न थालेको छ, अहिलेसम्म रु १५ हजारको बिक्री गरेँ”, उनले भने्, “दैनिक रु. एक हजारदेखि दुई हजारसम्मको बिक्री हुन्छ ।”

जगदेवको परिवार नै बगरमा तरभुजा खेती गर्नमा खटिने गरेका छन् । बङ्ककी ५० वर्षीया नथ्थु बडायकले राजमार्ग छेउमा त्रिपाल थापेर तरभुजा बिक्री गर्न लागेको दुई दशक बितिसक्यो । अनडैया भन्ने ठाउँमा बस्ने उनी आरक्ष विस्तारका क्रममा विस्थापित भए । अनडैयाबाट विस्थापित भएपछि उनीसँग खेतीपातीका लागि जमिन थिएन । त्यसपछि बगरमा तरभुजा खेती गरेर जीविकोपर्जन गर्दै आएको उनले बताए ।

“कसैले जमिन पाए, कसैले पाएनन्, हामीले जमिन नपाएपछि यहाँ बस्दै आएका हौँ”, उनले भने, “खेतपातीका लागि जमिन छैन, सिजनमा बगरमा तरभुजा खेती गरेर जीवन धानेका छौँ ।” वनहरा पुल क्षेत्रमा तरभुजा बेचेर जीविकोपार्जन गर्नेमा अधिकांश आरक्षपीडित रहेका छन् । अहिले राजमार्ग क्षेत्रको वनहरा पुल क्षेत्रमा ९० जनाभन्दा बढी तरभुजा बेचेर घर खर्च चलाइरहेका छन् ।

गत चैत अन्तिम सातादेखि जेठसम्म तरभुजा बिक्री गर्ने गरेको उनीहरूको भनाइ छ । बङ्ककै ४५ वर्षीय मानबहादुर चौधरी बिहान बगरबाट तरभुजा टिपेर दिनभर राजमार्ग छेउमा बिक्रीका लागि बस्छन् । “सुरुमा घरमै खानलाई मात्रै तरभुजाको खेती गर्थेँ, राम्रो आम्दानी हुन थालेपछि सात–आठ वर्षदेखि व्यावसायिकरूपमा खेती गरिरहेको छु”, उनले भने, “बर्खामा मजदुरी गरेर घर खर्च चलेको छ ।”

उनका अनुसार प्रत्येक वर्षमा तरभुजा बिक्री गरेर रु ३० हजारदेखि रु ४० हजारसम्म बचत हुने गरेको छ । “छोराछोरीको विद्यालयको खर्च, राशनको जोहो सबै तरभुजा बेचेर आएको पैसाबाट हुन्छ”, मानबहादुरले भने, “रु ३० हजारदेखि रु ४० हजारसम्म लगानी लाग्छ ।”

मानबहादुरको परिवारका छ सदस्य नै खेतीमा जुट्ने गरेका छन् । माघदेखि बगरमा तरभुजा खेतीका लागि तयारी थालिन्छ । चैत अन्तिम साता तयार भएपछि तरभुजा बिक्रीका लागि बजारमा ल्याउने गरिन्छ । तरभुजा प्रतिकेजी रु २५ देखि ४० सम्म बिक्री गर्ने गरिएको छ । बेला–बेलामा वनहरामा आउने बाढीले खेतीमा नोक्सानी गर्ने गरेको नथ्थु बडायकले बताए । “गत वर्ष बाढीले सबै बगायो, लगानी पनि असुल भएन”, उनले भने, “बाढीले नोक्सान नगरे सिजनमा राम्रै आम्दानी हुन्छ ।”

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  १० : ०६ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर