कठै भूकम्पका ती कहालीलाग्दा दिनहरु « Khabarhub

सन्दर्भः भूकम्प सुरक्षा दिवस

कठै भूकम्पका ती कहालीलाग्दा दिनहरु



फेरि आयो यो सम्झनै मन नलाग्ने दिन माघ २ गते । त्यसो त ०७२ वैशाख १२, अनि २९ गतेको विनाशकारी भूकम्पका पराकम्पनहरू आठ वर्ष बित्न लाग्दा पनि छिटफुट देखिएकै छन् ।

अघिल्लो वर्ष यस्तै आलेख तयार गर्दा पुस २१ गते ४ दशमलव २ रेक्टर स्केलको भूकम्प दोलखा केन्द्र विन्दु बनाएर जाँदै थियो । २०७२ पछि नै यस्ता ४ रेक्टर माथिका भूकम्पहरू ५६० भन्दा धेरै गएको तथ्यांक छ ।

केही बेर जाउँ ९० सालतिरै । वि.सं. १९६६-२०४४ मा मे.जनरल ब्रह्म शमशेर जबराले चैत्र, १९९१ मा भूकम्प १९९० बारे संस्मरण पुस्तक लेखेका रहेछन् । उनको सम्झना अनुसारको अनुभूति यस्तो छ, भाषा त्यति बेलाकै ।

९० सालको झझल्को
वि.सं. १९९० माघ २ अघि राजधानीमा ठूलो पानी परेको थियो । माघ २ गते विहान हुस्सू लागेको थियो । अघिल्लो दिन माघे संक्रान्तिको धार्मिक सांस्कृतिक चहलपहल थियो । २ गते सोमबारे औंसी एकाबिहानै नुहाइ धुवाइ गर्ने, बिहान हुस्सु चिसो मौसम भए पनि दिउँसो घाम तेजिलो थियो ।

अपराह्न २ बजेर २४ मिनेट २२ सेकेण्डमा जमिनबाट गुडगुडे आवाज आयो । महाभूकम्पको उत्पत्ति भइहाल्यो । सुरुमा अचम्मको आवाज आयो । पहिले भूकम्प भन्ने याद भएन । जमिनमा लहर चल्न थाल्यो । पहिलो पटक भूमि पूर्वबाट पश्चिमतिर गएको महसुस भयो । दोस्रो पटक जमिन बटारिन थाल्यो ।

चक्कर लाउन थाल्यो । हेर्दाहेर्दै धेरै घरहरू भत्किन थाले । विजुलीको बल्ब सकेटबाट उछिट्टियो । रूख, बोट बिरुवाहरू लच्कन थाले । सानातिना बोटविरुवाको टुप्पाले त जमिन छुन थाले । पोखरीको पानी बाहिर उछिट्टिन थाल्यो । भाँडोमा पानी बस्न छोड्यो ।

पोखरीहरूमा छाल भएर पानी निस्कन थाल्यो बाहिर । अग्ला अग्ला घरहरूफटाफट ढल्न लागे । घरहरू भत्केका भयङ्कर ठूलो आवाज आउन थाले । धूलो र धूँवाले ढपक्कै ढाक्यो । ८/१० हात अगाडिको दृश्य पनि देखिन छाड्यो ।

काठमाडौँको टुँडिखेलमा कुइरीमण्डल हुन थाल्यो । धेरै मानिसको भागाभाग भयो । चार हात खुट्टा टेक्दै घस्रँदै मानिस सुरक्षित स्थानतिर जान थाले । एक अर्कालाई समात्दै, गुहार गुहार भन्दै, चोक चोकमा भागदौड हुन थाल्यो । खुल्ला ठाउँमा आइपुगेपछि मानिसहर आफन्तको खोजी गर्न थाले । कतिपय आमाहरू आफ्ना साना नानीहरूलाई घरभित्र पुगेर खोज्दा किचिएर मरे ।

ईश्वरको नाम चारैतिर सुनिन थाल्यो । कोही धार्मिक स्त्रीहरू औँलाले जमिन छुन थाले कोही पानी भर्न, यसो गर्दा सुरक्षित होइन्छ भन्ने विश्वासले । काठमाडौं सहरका गल्लीहरू धराप हुन थाले । हजारौं घरले किचिएर मानिसहरु मरे । टुँडिखेलमा सैनिकहरू उभिन नसकेर घोप्टो परे, पूर्वको १ खण्ड जमिन फाट्यो, पानी निस्कियो । धरहरा, घण्टाघर करौँतीले काटेझैँ गरी टुक्राटुक्रा भए, खेत, सडक चिराचिरा परे । खोलाहरूमा धमिलो बाढी बग्न थाल्यो ।

बागमती, विष्णुमतीमा बाढी आयो कालो, मैलो पानी बग्न थाल्यो । ८/१० फिट माथिसम्म पानी देखिन थाल्यो । धेरै खेतहरु जलमग्न भए । बालाजु र शंखमुलमा तातोपानी, तातो बालुवा समेत जमिनबाट निस्कन थाल्यो ।

चिरिएका ठाउँ ९ देखि ५० हातसम्मका देखिए । भूकम्प बन्द भएपछि मानिसहरूले आफन्तहरू खोज्न थाले । आफन्तहरूको नाम पुकार्दै सडकमा दौड्न थाले । सक्नेले घरका रासन झिक्न थाले । पुरिएका घरहरूबाट चर्काे स्वर सुनिन थाल्यो । चिच्याहट, कोलाहलको आवाज आउन थाल्यो । पुरिएकाहरुलाई झिक्ने सामथ्र्य कसैमा रहेन ।

केही समयपछि टुँडिखेलमा आर्मी चिफ, जर्नेलहरू जम्मा भए । जम्मा भएका फौज, सिपाहीलाई उत्साह र आधार दिइयो । ठाउँठाउँमा खटाउन थालियो । केही बेरेमै श्री ५ को छोरी मैयाँ दुई र श्री ३ की नातिनी मैयाँ मरेको खबर आयो । पुरिएका मानिसहरू निकाल्न सिपाहीहरू खटाइए ।

खटाइएकाहरू हँसिलो, खुसी हुँदै काममा लागे । तीन सहरमा त्यतिबेला ९ हजार ५ सय सिपाही थिए । ब्रह्मशम्शेर आफू लेख्छन् उनी अस्पतालको तैनाथवाला भएकाले औषधिको काममा उनी लागे । त्यतिबेला श्री ५ को सवारी नागार्जुनमा थियो । विष्णुमतीकाे पुल भत्किएकाले छाउनीको बाटो हुँदै श्री ५ नारायणहिटी पुगे ।

नागार्जुन दरबार भत्किएकाले राजा पालमुनि बसे । श्री ३ जुद्ध शमशेर शिकार खेल्न कैलाली गएका थिए । भूकम्पको २० दिनपछि उनी काठमाडौं फर्केको इतिहासकार पुरुषोत्तम शमशेर बताउँछन् । त्यतिबेला विदेशी सहयोग स्वीकार गरिएन रे ।

जुद्ध शमशेर काठमाडौं आएपछि जर्मनीबाट इन्जिनियर झिकाए रे दरबार जाँच गराउन । जर्मन इन्जिनियरले नेपाल भूकम्पीय जोखिममा छ भनेर गए रे । अग्ला भवन नबनाउनु भने रे । हालको न्युरोड ९० सालको भूकम्पपछि बनेको रे ।

सहरमा आगलागी पनि भयो रे । तर हावाहुरी कम भएको र विजुली लाइन फर्पिङमा बन्द भएकाले ठूलो आगलागी हुन पाएन । खोकनाको तेल पेल्ने ठाउँमा पनि आगलागी भयो । फर्पिङको विजुली कल बन्द भयो विद्युत् रोकियो ।

ब्रह्म शमशेर लेख्छन्, ‘भूकम्पको २ मिनेट आँखा खोल्दा प्रलयको कोकोहोलो सुनिएको थियो । छिटो भाग्ने मुसा पनि घरले थिचिएर धेरै मरे । मरेकाहरुको काजकिरिया धार्मिक विधिले हुन पाएन । कात्रो किन्न सकिएन । कपाल खौरने पत्ती नै भएन ।’

पुरेत बाजेको पुस्तक भएन । पटुका फेरेर मानिसहरु किरिया बसे । पसलहरु भत्किए, बजार सुनसान भयो, किनमेल भएन । सारा सहर भत्केको थियो । रात पर्‍यो, झरी पर्ला जस्तो थियो, छोटा दिन ,लामा रात, कोही निदाएन, लास जलाउने दाउरा नभएर भत्केका घरहरुका पुराना दाउराले लास जलाइयो ।

सबै घाटहरू खचाखच भए, पालै पाइएन लास जलाउने, घाटमा धेरै भीडभाड भयो । मुर्दाहरु बाटामै फ्याँकिएवीरगञ्जमा भएको एक्लो टेलिफोन बन्द भयो । बाहिरको खबर पाइएन । बाहिरको खबर लिन घोडचढीहरू गए । भादगाउँको खबर लिन पैदलै गए ।

दुई गते रातभर स-साना भूकम्प गइरहेका थिए । खेतबारी खुला जमिनमा सबै ठूला सानाको बास भयो । अनिदो बित्यो त्यो रात । भोलिपल्ट सिपाहीहरू खटिए २ गतेको रातमा धेरैले खाएनन् । पानी जम्न थाल्यो । धेरैलाई जिउँदो निकालियो ।

एकै ठाउँमा ४०-५० जनासम्म पुरिएका रहेछन् । नब्बे सालको भूकम्पको केन्द्रविन्दू पूर्व चैनपुर संखुवासभा थियो । महाभूकम्पको दिनपछि स-साना कम्पनहरू गए । ४ गते राति ठूलो भूकम्प गयो । दुनियाँ झन् बढी हतासिए । ३-४ दिन यस्तो कोलाहल अवस्था रह्यो ।

दुनियाँलाई सापटी दिन राज्यकोषबाट मो. ५० लाख पर सारियो । बिना ब्याज ४ वर्षका लागि ऋण दिइने भयो । वनजंंगल खुल्ला गरियो । ईंटा बनाउने भट्टाहरु बनाइन थालियो । विदेशबाट झिकाइएको जस्तापाता, किला काँटी सस्तो मोलमा पाउने प्रबन्ध गरियो, पछि ऋण माफी गरियो । ९० सालको भूकम्पमा जम्माजम्मी ३ लाख १५ हजारको जनसङ्ख्यामा मर्नेहरूको संख्या ४ हजार २ सय ९६ थियो ।

अझै विगततिर जाँदा
सम्वत् १३१० देखि नेपालमा भूकम्पको अभिलेख छ, यतिबेलाको भूकम्पमा काठमाडौंमा रहेका एक तिहाइ मानिसको मृत्यु भएको र सँगै राजा अभय मल्ल पनि मरेका थिए । त्यसपछि केवल ६ वर्षको अन्तरालमा आएको भूकम्पले काठमाडौंको हजारौं पुरातात्विक भवनहरू ध्वस्त भएका थिए ।

त्यसपछि संवत् १४६३ अर्थात् झण्डै डेढ सय वर्षपछि मात्र भूकम्प आउँदा काठमाडौंको थुप्रै संरचनाहरु ध्वस्त भई सहकालका देवता रातो मच्छेन्द्रनाथको मन्दिर ध्वस्त भएको थियो । त्यसपछि झण्डै पौने एक शताब्दीपछि श्रीनिवास मल्लको पालामा आएको भूकम्पले पनि काठमाडौंमा व्यापक क्षति भएकै हो ।

त्यसपछि झण्डै सवा सय वर्षपछि सं १८६६ मा आएको भूकम्प गीर्वाणयुद्धका पालामा आएको र ठूलै क्षति पु¥याएको थियो । त्यसपछिको भूकम्प १४ वर्षपछि सम्वत् १८८० मा आएको, ठीक १० वर्षपछि सम्वत् १८९० मा राजेन्द्र विक्रमको पालामा भूकम्प आउँदा १८ हजार घरहरु ध्वस्त भएका थिए ।

लगत्तै १ वर्षपछि सं. १८९१ मा आएको भूकम्प वर्षाको समय परेको र बागमती पूरै थुनिएको थियो । ८९ वर्षअघिको ९० सालको भूकम्पको पीडा भोग्नेहरू त अहिले पनि धेरै छन् । संखुवासभालाई केन्द्र विन्दु बनाई आएको सो भूकम्पले ८ हजार ५१९ व्यक्तिलाई निलेको, ८० हजार ८९३ घर ध्वस्त भएको, १ लाख २६ हजार ३५५ घरमा आंशिक क्षति पुगेको थियो । त्यसपछि २०३१, २०३७, २०४५, २०५०, २०५१, २०५२, २०५४, २०५८, २०५९, २०६०, २०६८ मा पनि नेपालमा भूकम्पहरू आइरहेकाले यति नै सम्म भूकम्प आउने भन्ने किटेर भन्न गाह्रो छ ।

भूकम्पको धक्का सुरु हुने भू-सतह मुनिको केन्द्रविन्दुलाई हाइपोसेन्टर र त्यसको ठीक माथिको भूविन्दुलाई इपिसेन्टर भनिन्छ । नेपालको भूकम्पको इतिहासमा एउटै इपिसेन्टरहरु देखिएका छैनन् । २०७२ वैशाख १२ गतेको भूकम्पको इपिसेन्टर गोर्खाको बारपाक थियो भने भोलिपल्ट १३ गते आएको ठूलै भूकम्पको भने लमजुङ । दुवै भूकम्पका कारण गोर्खा, लमजुङ, रसुवा, धादिङ, नुवाकोट, काठमाडौं र भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकलाई क्षतविक्षत बनायो ।

रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ पूरै मानव बस्तीविहीन देखियो भने सिन्धुपाल्चोकमा धेरै हताहत भए । पूरै गाउँ सोलोलो पार्‍यो । अन्य क्षेत्रहरू पनि प्रभावमुक्त हुन सकेनन् । हो आपद्मा अभिभावकको खोजी हुन्छ । हाम्रो प्रकृतिले कति ताण्डव नृत्य गरेको छ, सबैलाई महसूस भएकै छ, अझै पनि यस्तो बेला सरकारको खोजी गर्नेहरू हामी धेरै नेपाली छौँ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  १० : ५३ बजे

रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डिपी अर्याललाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहक सभापतिको जिम्मेवारी डोलप्रसाद

नेविसङ्घ स्ववियु निर्वाचन घोषणापत्र तयारी समितिमा सदस्य थप

काठमाडौँ: नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले स्वतन्त्र

नेपालका १६ जिल्ला कुष्ठरोग मुक्त हुन बाँकी

काठमाडौँ : नेपालका १६ वटा जिल्ला अझै कुष्ठरोग मुक्त हुन

सोलुखुम्बु : काठ निकासीमा गिरावट

सोलुखुम्बु : सोलुखुम्बुमा काठ निकासीमा गिरावट आएको छ । गत

‘सुरक्षित कर्णाली प्रदेश विशेष अभियान थाल्छौँ’

काठमाडौँ :कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख, प्रहरी नायब