आँबुखैरेनीमा आँखा उपचार केन्द्र सञ्चालन | Khabarhub Khabarhub

आँबुखैरेनीमा आँखा उपचार केन्द्र सञ्चालन


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाले आँखा उपचार केन्द्र सञ्चालन गरेको छ । आँखाको उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्यका लागि गाउँपालिका आफैँले आँखा उपचार केन्द्र सञ्चालन गरेको हो । 

भरतपुर आँखा अस्पतालसँगको सहकार्यमा गाउँपालिकाले आँखा उपचार केन्द्र सञ्चालन गरेको हो । उक्त उपचार केन्द्रको सोमबार उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सर्वसाधारणलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिए। 

उनले भने, ‘हामी बरु भत्ता नलिउँला, तर गाउँपालिकावासीलाई गुणस्तरीय स्वास्थ्य सुविधा दिन्छौँ। हामी त भत्ताको लोभले जनप्रतिनिधि हुन आएको त होइन नि ।’ चुमानले गाउँपालिका आफैँले अस्पताल सञ्चालन गर्दै आएको र उक्त अस्पतालबाट सिफारिस गरेर बिरामी लैजानपरे एम्बुलेन्स निःशुल्क उपलब्ध गराउने गरिएको बताए । उनले भने, ‘स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्छौँ, आवश्यक परे विकास बजेट घटाएर पनि स्वास्थ्यमा लगानी गरिनेछ ।’

चुमानले आँखाको उपचारका लागि आँबुखैरेनीका मात्र नभई छिमेकी गोरखा, बन्दीपुरका बासिन्दा पनि भरतपुरसम्म जानुपर्ने बाध्यता रहेकामा अब आँबुखैरेनीमै उपचार केन्द्र स्थापनापछि सबैलाई सहज हुने बताए । भरतपुर आँखा अस्पतालसँगको सम्झौताअनुसार आँखा केन्द्र स्थापनाका लागि आवश्यक दुईकोठे भवन गाउँपालिकाले उपलब्ध गराएको छ । 

आँखा उपचार केन्द्र स्थापनाका लागि चालु आर्थिक वर्षदेखि निरन्तर वार्षिकरूपमा पाँच वर्षसम्म रु छ लाखका दरले भरतपुर आँखा अस्पताललाई सहयोग गरिनेछ । आँखा उपचार केन्द्रका लागि एक जना सहायकस्तरको कर्मचारी राखिएको छ । आँखा उपचार केन्द्रका लागि गाउँपालिका र भरतपुर आँखा अस्पताल चितवनको सहकार्यमा ओपिडी टिकट र आँखा उपचार केन्द्रमा टाँसिने ब्यानरमा नेपाल सरकारका लोगो राख्न स्वीकृति दिने सम्झौता भएको छ । 

आँखा उपचार केन्द्रका लागि नेपाल नेत्रज्योति सङ्घले आवश्यक पर्ने औजार, उपकरण, औषधि, चश्मा, लेन्स तथा स्टेशनरी उपलब्ध गराउनेछ । आँखा उपचार केन्द्र सञ्चालन गर्न आवश्यक पर्ने कर्मचारीको व्यवस्थापन तथा सेवासुविधा नेपाल नेत्रज्योति सङ्घको नियमानुसार उपलब्ध गराउने सहमति भएको छ । 

त्यस्तै आवश्यकतानुसार स्रोत साधन जुटाई कम्तीमा वर्षमा एकपटक निःशुल्क शल्यक्रियासहितको आँखा शिविर सञ्चालन गर्ने सम्झौता भएको छ । आँखा उपचार केन्द्र सञ्चालनका लागि गाउँपालिकाका अध्यक्षको संयोजकत्वमा नेपाल नेत्रज्योति सङ्घका प्रतिनिधि, गाउँपालिकाका महिला सदस्य, आँखा उपचार केन्द्र रहेको वडाका अध्यक्ष, भरतपुर आँखा अस्पतालका वरिष्ठ अस्पताल प्रशासक, स्थानीय लायन्स क्लबका सदस्य सम्मिलित समिति गठन गरिएको छ । 

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ८ : १० बजे

हाडजोर्नी र नसाको उपचारमा प्रभावकारी बन्दै अकुपञ्चर पद्धति

व्यस्त जीवनशैली र खानपानले नेपालमा नसर्ने रोग दिनप्रतिदिन बढ्दोक्रममा छन्।

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं – संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै , विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

 काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश