पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ? « Khabarhub

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?



काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ । महाधिवेशन आउन अब केबल दुई दिन मात्र बाँकी छ । गगन थापा नेतृत्वको संस्थापन समूहले १८ गतेदेखि २२ गतेसम्म काठमाडौंको खुला मञ्चमा महाधिवेशन गर्दैछ । देशभरबाट शनिबारसम्म महाधिवेशन प्रतिनिधि चुनिसक्ने कांग्रेसको तयारी छ ।

यता शेरबहादुर देउवा पक्षले बिहिबारबाट वडा अधिवेशन सुरु गरेको छ । कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले बीपीपुत्र शशांक कोइरालालाई अगाडि सारेर छुट्टै महाधिवेशन गर्न लागेका छन् । उनले निर्वाचन आयोगलाई समानान्तर गतिविधि गरेको जानकारी समेत पठाएका छन् । देउवा पक्षले वडा अधिवेशनमा उत्साहजनक सहभागिता रहेको दाबी गरेको छ ।

महाधिवेशनमा सभापति पदका लागि गगन थापाको सबैभन्दा बलियो दाबेदारी छ । अर्का नेता किशोर सिंह राठौरले पनि सभापतिमा उठेर गगनलाई जिति छाड्ने दाबी गरिरहेका छन् । राठौरले सभापतिमा उम्मेदवारी दिने भन्दै सार्वजनिक वक्तव्य दिएपनि औपचारिक रूपमा चाहिँ उम्मेदवारी घोषणा गरिसकेका छैनन् । राठौरले अन्तिम अवस्थासम्म आफ्नो अडान कायमै राखेको खण्डमा सभापति पदमा निर्वाचन हुने अवस्था देखिन्छ ।

अरु नेताले सभापति पदमा दाबेदारी घोषणा गरेका छैनन् । तर उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि भने धेरै नेताहरू उम्मेदवारी दिने तयारीमा छन् । उपसभापति र महामन्त्रीमा दाबी गर्ने र केही नभएको खण्डमा पनि सहमहामन्त्री बन्ने र केन्द्रीय सदस्यमै भएपनि चित्त बुझाउने नेताहरूको लाइन पनि लामै छ । कांग्रेसको यो महाधिवेशनबाट एक सभापति दुई उपसभापति दुई महामन्त्री ९ जना सहमहामन्त्री र २३१ जनाको केन्द्रीय कार्यसमिति बन्ने छ । कोषाध्यक्ष र तीन जना सहमहामन्त्री भने पार्टी सभापतिले चुन्न पाउने विधान छ ।

उपसभापतिका लागि शीर्ष नेता लाइनमा

कांग्रेसको १५ महाधिवेशनबाट गगन थापा पुनः नेतृत्वमा आउने निश्चितप्रायः छ । गत वर्ष पुष अन्तिम साता विशेष महाधिवेशन गरेर उनी पार्टीको सभापति बनेका थिए । त्यसअघि थापा शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिमा महामन्त्री थिए । कांग्रेस उपसभापतिका लागि विश्वप्रकाश शर्मा र पुष्पा भुसाल बलिया दाबेदार हुन् । उनीहरू विशेष महाधिवेशनबाट उपसभापति बनेका नेता हुन् । खबरहबसँगको कुराकानीमा भुसालले आफूहरु दुवै जना उपसभापतिको दाबेदार रहेको बताइन् ।

‘हामी दुबै जना उपसभापतिको दाबेदार हौँ । विश्व दाइले पनि यही कुरा राख्नुभएको छ । मेरो विषय के हो भने म चुनावै लड्नु परे पनि उपसभापतिमा लड्छु ।’ उनले भनिन्, ‘मेरो अनुभव र कांग्रेसको आवश्यकतासँगै समावेशिताको मर्मलाई आत्मसात गर्नका लागि पनि उपसभापति डिजर्भ हुन्छ ।’

यता, शेखर कोइराला समर्थक मानिने नेता धनराज गुरुङ पनि उपसभापतिका दाबेदार हुन् । धनराज पनि उपसभापतिको दाबेदार रहेको उनको सचिवालयले जानकारी दिएको छ । उनले भने आवश्यकता हेरेर पदमा उठ्ने बताएका छन् । धनराजलाई उपसभापति बनाउनका लागि गगन थापा लगायतका नेताहरूले कसरत गरेको भने देखिँदैन ।

तर, निर्वाचनको प्रक्रिया अगाडि बढ्दा भने उनलाई नरोक्ने पक्षमा सबै छन् । कांग्रेसको १४औं महाधिवेशनमा धनराज उपसभापति निर्वाचित भएका थिए । धनराज उपसभापतिबाट ब्याक भएको खण्डमा केन्द्रीय सदस्यको भूमिकामा रहनेछन् । यस्तै, अर्को उपसभापतिको दरिलो दाबेदार डा. मीनेन्द्र रिजाल पनि हुन् । उनी उपसभापतिमा उठ्ने जानकारी आफू निकट नेतालाई दिएको बताइन्छ ।

यसबारे खबरहबले उनीसँग प्रश्न गरेको थियो । उनले कांग्रेसमा आफ्नो आवश्यकता हेरेर जिम्मेवारीमा उठ्ने जवाफ दिएर पन्छिन खोजे । डा. रिजाल पनि डा. कोइराला पक्षका नेता हुन् । उनी उपसभापतिमा हारेको खण्डमा केन्द्रीय सदस्यमा रहने देखिन्छ । अहिले उपसभापतिको दरिलो दाबेदारका रुपमा डा.चन्द्र भण्डारीलाई पनि हेरिएको छ ।

उनले केही निकटस्थहरुसँग आफ्नो आवश्यकता नै उपसभापतिमा रहेको बताएका छन् । डा. भण्डारी निर्वाचनको प्रक्रियामा सामेल भएर नै उपसभापतिमा आउने विश्लेषण गरिन्छ । तर यसबारे आफूले निर्णय भने नगरीसकेको उनले खबरहबलाई खुलाए । गगनसँग समेत नजिक रहेका डा. भण्डारीले चाहेमा उपसभापतिमा लड्ने अवस्था देखिन्छ ।

अहिले उपसभापतिको दाबीमा अर्का नेता भीष्मराज आङ्देम्बे पनि देखिन्छन् । तर उनी कांग्रेस संसदीय दलका नेता भएको हिसाबले गगनले थामथुम गर्दा मान्ने अवस्था छ । त्यसकारण उनी केन्द्रीय सदस्यमै रहने सम्भावना छ । भण्डारी र आङ्देम्बे यदि उपसभापति नरहेको खण्डमा केन्द्रीय सदस्य नै बन्ने छन् ।

महामन्त्रीमा पनि दाबेदार धेरै

कांग्रेसमा सभापतिपछि सबैभन्दा महत्त्वपूर्ण पद महामन्त्री हो । कांग्रेसका हरेक निर्णयलाई सार्थक बनाउन महामन्त्रीको उत्तिकै धेरै महत्वपूर्ण भूमिका हुन्छ । सभापतिपछि सबैभन्दा दरिलो पदका रूपमा हेरिएको महामन्त्रीका लागि अहिले मैदानमा धेरैको चर्चा छ । महाधिवेशन आउन केही दिन बाँकी रहेकाले पदको लोभ गर्ने बढ्न सक्छन् ।

उसो त राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा पनि महामन्त्री पदमा धेरैले इच्छा जाहेर गरेको देखिन्थ्यो । सभापति पदमा रवि लामिछाने निर्विकल्प देखिँदा महामन्त्रीका लागि भने उनी समर्थक र अरु थुप्रै नेताहरु थिए । यस्तै अवस्था कांग्रेसको महाधिवेशनमा पनि दोहोरिने सम्भावना छ । कतिपय नेताहरुले पाएसम्म महामन्त्रीमा उम्मेदवारी दिने नत्र सहमहामन्त्रीमा चित्त बुझाउने सम्मको लक्ष्य राखेका छन् ।

अहिले महामन्त्रीको दाबेदारका रूपमा विशेष महाधिवेशनबाट आएका महामन्त्री प्रदीप पौडेल हुन् । पार्टीमा उनी र सभापति गगन थापाबीच सुरुवातदेखि नै एकमत छ । त्यसकारण उनी गगनलाई काम गर्न सहज हुने व्यक्ति रहेको बुझिन्छ । उनी निर्वाचनको प्रक्रियामा गएर पनि महामन्त्री भई छाड्ने तयारीमा छन् । खबरहबसँगको कुराकानीमा उनले आफू पुनः महामन्त्री नै बन्ने बताए ।

‘साथीहरुले माया गर्नुभयो भने सर्वसम्मत पनि हुनसक्छ । नभएको खण्डमा चुनावी प्रक्रियालाई पनि आत्मसात गर्दै म पुनः यही पदमा दोहोरिने तयारीमा छु ।’ उनले भने, ‘धेरै जना साथीहरुले मलाई यही पदमा आउनका लागि प्रेरित गरिरहनु भएको छ ।’ यस्तै अर्का महामन्त्री गुरु घिमिरे पनि महामन्त्रीका दरिला दाबेदार हुन् । उनी विशेष महाधिवेशनबाट महामन्त्री बनेका छन् ।

१४औँ महाधिवेशनमा घिमिरे र पौडेल कांग्रेसको केन्द्रीय सदस्य थिए । तर गगनलाई सुरुवातदेखि नै साथ दिएका कारण उनीहरू विशेष महाधिवेशनमा सर्वसम्मत ढंगले महामन्त्री बन्न सफल भए । घिमिरेले आफू पनि महामन्त्रीको दाबेदार रहेको खबरहबलाई जानकारी दिएका छन् ।

‘निर्वाचनको प्रक्रिया त सबैभन्दा सुन्दर पक्ष हो । यसमा भाग लिएरै पनि म महामन्त्रीको उम्मेदवार हुँ ।’ उनले भने, ‘अरु साथीहरूलाई उम्मेदवारी फिर्ता लेउ, म नै महामन्त्री बन्नुपर्छ भन्ने मेरो कुरा होइन । निर्वाचनमा स्वास्थ्य प्रतिस्पर्धा गर्न चाहन्छौँ ।’ अहिले महामन्त्रीमा एकमात्र दाबी गर्ने महिला महालक्ष्मी उपाध्याय डिना हुन् । उनी पनि महामन्त्रीमा आफ्नो दाबी रहेको र निर्वाचनको प्रक्रियामा पनि सामेल हुन तयार रहेको बताउँछिन् । ‘दुई महामन्त्री हुने भएपछि विधानले नतोके पनि एक जना महिला हुनुपर्छ भन्ने हाम्रो कुरा छ । यसमा अरु साथीहरु पनि सकारात्मक हुनुहुन्छ ।’ डिनाले भनिन्, ‘स्वभाविक हिसाबले हाम्रो दाबी रहनु अनौठो कुरा होइन ।’

सुरुवातदेखि नै गगन थापालाई सभापति बनाउन मुख्य भूमिका खेलिरहेका उदयशमशेर राणा पनि महामन्त्रीका दाबेदार छन् । उनी अहिले कांग्रेसको सहमहामन्त्री छन् । तर उनी १५औँ महाधिवेशनमा महामन्त्री पदमा लड्ने तयारीमा छन् । अहिले उनी महामन्त्री पदका लागि निर्वाचनै लडेपनि तयार रहेको बताउँछन् ।

यस्तै डा. कोइराला पक्षको नेता मानिने जीवन परियार पनि महामन्त्रीको दाबेदार हुन् । उनी १४औँ महाधिवेशनबाट सहमहामन्त्री बनेका थिए । महामन्त्रीकै दाबेदारीमामा अहिले विशेष महाधिवेशनबाट प्रवक्ता बनेका देवराज चालिसे पनि देखिएका छन् । उनले पनि निकटस्थहरुसँग आफू महामन्त्रीमा लड्ने बताइरहेको हल्ला छ । कांग्रेस लुम्बिनी सभापति अमरसिंह पुनले पनि महामन्त्रीमा दाबी गरेका छन् । तर, उनी अहिलेसम्म केन्द्रीय पदाधिकारीमा आइनसकेको हुनाले सहममन्त्रीसम्म बन्ने सम्भावना देखिन्छ ।

सहमहामन्त्रीमा पनि धेरै आकांक्षी

अहिलेसम्म धेरैले सार्वजनिक रुपमा उम्मेदवारी घोषणा नगरेपनि नौ वटा सहममन्त्री पदका लागि हुने निर्वाचनमा धेरै जनाले इच्छा जाहेर गरेका छन् । सहमहान्त्रीका नौ पदमा दलित, खस आर्य, खुल्ला, आदिवासी जनजाति लगायतको क्लस्टरहरू छन् । यो पदका लागि रामहरी खतिवडा, नैनसिंह महर जस्ता नेता पनि दाबेदारका रुपमा देखिएका छन् । उनीहरुले अहिले पदको बार्गेनिङका लागि महामन्त्रीमै उम्मेदवारी दिने दाबी गरिरहेका छन् ।

महिला सहममन्त्रीका लागि प्रतिमा गौतम दरिलो दाबेदार हुन् । विद्यार्थी राजनीतिबाट उदाएकी उनी महिला क्लस्टरबाट सहमहामन्त्रीको दाबेदार रहेको बताउँछिन् । अङ्गेली शेर्पा भने महामन्त्रीमा उम्मेदवारी दिने तयारीमा रहेको बताउँछन् । कुनै समय देउवा पक्षको नेता रहेका उनी सहमहामन्त्रीसम्म बन्ने प्रयास स्वरूप महामन्त्रीको दाबीका रूपमा उभिएका हुन् ।

दलित सहमहामन्त्रीका लागि मीन विश्वकर्मालाई बलियो दाबेदारका रुपमा हेरिएको छ । उनी सहमहामन्त्री बन्ने सम्भावना उच्च रहेको बताइन्छ । जनकराज गिरी र अभिषेक प्रताप सिंह पनि सहममन्त्रीको दावेदारका रुपमा आफूलाई प्रस्तुत गरिरहेका छन् ।

खबरहबसँगको सम्पर्कमा आएका उनीहरुले सहममन्त्रीमा उम्मेदवारी दिने जानकारी दिए । सहमहामन्त्री पदकै लागि डाक्टर सुनिल शर्माले पनि दाबी गरेको बताइएको छ । यी नेताहरु पदाधिकारीमा नआए पनि केन्द्रीय सदस्यमा रहने सम्भावना छ । प्राय सबै नेताहरू केन्द्रीय सदस्यका लागि योग्य व्यक्ति रहेको कांग्रेसका नेताहरु बताउँछन् ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ७ : ४४ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।