“टाउकैमाथि जहाज खस्यो, भाग्यले बाँचे” « Khabarhub

“टाउकैमाथि जहाज खस्यो, भाग्यले बाँचे”


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

पोखरा – फुर्सद भयो कि सेती खोँचमा माछा मार्न जाने कुमार आलेको बानी थियो । आइतबार विहान साढे १० बजे तिर उनी सधैजसो बल्छी बोकेर माछा मार्न खोँच झरे । नदीमा बल्छी थापेको त्यस्तै १०/१५ मिनेट जति भएको हुँदो हो माथिबाट आएको ठूलो आवाज उनको कानमा नराम्रोसँग ठोक्कियो । एकैछिन दिमागमा सन्नाटा छायो ।

“केही सोच्नै नपाउँदै एकाएक ढुङ्गाहरु खस्न थाले, खसेका ढुङ्गा पिठ्युँ र खुट्टामा बजारिए”, त्यो दिनको घटना सम्झँदै गर्दै ३७ वर्षे उनले भने, “ढुङ्गा बजारिएपछि म पानीमा कतिबेला पुगेछु पत्तै भएन ।”

यतिकैमा आगो र धुँवाको कालो मुस्लो देखियो । ढुङ्गा र आगोको झिल्का खोँचमा निरन्तर झरिरहेका थिए । उनी पानीबाट निस्किएर अलिक पर कुनामा रहेको चट्टानमुनी ओत लागे । “कसैले बम पड्काएको हो कि भन्ने लाग्यो”, उनले थपे, “ढुङ्गा झर्न अलिक कम भएपछि जसोतसो त्यहाँबाट निस्केर छिटोछिटो उकालो लागेँ ।”

केही मिनेटको उकालो चढेपछि जलिरहेका जहाजका टुक्रा देखिए । उनलाई तबमात्रै जहाज दुर्घटना भएको रहेछ भन्ने यकिन भयो । “बुढापाकाहरु काल नआएसम्म मरिन्न भन्थे, हो जस्तो लाग्यो”, उनले भने, “आइतबार त्यस्तै भयो, म ठूलो भाग्यले बाँचे ।”

खुट्टा र पिठ्युँमा लागेको चोट देखाउँदै आलेले भने, “धन्न ढुङ्गा टाउकोमा लागेन नत्र म पनि बाँच्ने थिइन, खुट्टा र पिठ्युँमा हेर्नुस् त कति नराम्ररी चोट लागेको छ, अहिले हिँड्न पनि गाह्रो भएको छ ।”

आले यती एयरलाइन्सको विमान दुर्घटना भएको स्थलबाट पाँच मिनेटको पैदल दूरीको नागार्जुन टोलमा बस्छन् । त्यहीँकै राम बल्क उद्योगमा चालकका रुपमा काम गर्न थालेको १० वर्ष भयो । तनहुँ कुर्लुङका आलेका चार छोरी र एक छोरा छन् । “भगवानले मलाई बचाउनु भयो, नत्र श्रीमती र बालबच्चाको के हाल हुन्थ्यो होला ?”

अहिले आले टाउकै माथि जहाज खस्दा पनि बाँच्न पाएकोमा भगवानलाई धन्यवाद दिँदै बसेका छन् । “यो त मेरो ठूलो भाग्यो हो, म बाँचे तर आँखा अगाडिको यत्रो जहाज दुर्घटना र त्यहाँ सवार यात्रुको मृत्युको खबरले भने विक्षिप्त बनाएको छ, नजिक गएर त्यहाँका दृश्य हेर्ने आँट पनि आएको छैन”, उनले भने ।

पोखरा महानगरपालिका वडा नं १५ स्थित सितारामको प्लटिङ भनेर चिनिने स्थान नजिकको सेतिको खोँचमा आइतबार करिब ११ बजे आसपासमा यति एयरलाइन्सको ७२ सिटे जहाज दुर्घटना ७० जनाको शव फेला परेको छ । बाँकी दुई जनाको खोजी अझै जारी छ ।

घटनास्थलबाट निकालिएका शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पोष्टमार्टम भवनमा राखिएको छ । अस्पताल स्रोतका अनुसार काठमाडौँ शिक्षण अस्पतालका फरेन्सिक प्रमुख टोलिको नेतृत्वमा र पोखरा स्वास्थविज्ञान प्रतिष्ठान तथा अन्य शिक्षण संस्था फरेन्सिक विज्ञ चिकित्सकबाट शवको वर्गीकरण गर्ने काम सकिएको छ ।

सनाखत गर्न मिल्ने शवको परिवासँग ‘भेरिफाइ’को काम भइरहेको छ । भेरिफाइपछि शवको पोस्टमार्टम शुरु भएको छ । थप सनाखत गर्नुपर्ने देखिएका डीएनए परीक्षणका लागि काठमाडौँ पठाउने तयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए । उनका अनुसार ४६ जनाको शव काठमाडौँ पठाउनु पर्ने र बाँकी २३ जनाको पोखरामै पोष्टमार्टम गरी आफन्तलाई बुझाइने छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  १२ : २४ बजे

नवीन प्रवृत्तिका कारण भ्रष्टाचार नियन्त्रणमा चुनौती थपियो : अख्तियार

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा देखा परेका नवीनतम प्रवृत्तिहरूको

‘डन ३’ बाट बाहिरिएका रणवीरमाथि ४० करोड क्षतिपूर्तिको दबाब

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंह र निर्देशक–निर्माता फरहान अख्तरबीचको सम्बन्ध

सुक्खाबन्दरगाहमा छ महिनामा ५७२ रेल्वे र्‍याकमार्फत सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयमातहतको सुक्खाबन्दरगाहमा चालु आर्थिक वर्षको छ महिनामा

लोकतान्त्रिक सुधारमा बंगलादेशको मतदान

एजेन्सी– बंगलादेशले सन् २०२४ को जनविद्रोहपछि पहिलो संसदीय निर्वाचनसँगै व्यापक

साइबर आक्रमणपछि सुरक्षा कडा गर्ने तयारीमा जापान एयरलाइन्स

एजेन्सी– जापान एयरलाइन्सले आफ्ना बस्तु वितरण सेवाको आरक्षण प्रणालीमा अनधिकृत