आज असार २, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जून १७, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।
युगान्डाको विद्यालयमा विद्रोहीले आक्रमण गर्दा ४० जनाको मृत्यु
पश्चिमी युगान्डाको एक विद्यालयमा एलाइड डेमोक्रेटिक फोर्सका सशस्त्र विद्रोहीहरूले आक्रमण गर्दा ४० जनाको मृत्यु भएको छ । आक्रमणमा अरु आठ जना घाइते भएका छन् ।
आतंकवादी संगठन इस्लामिक स्टेटसँग सम्बन्ध रहेको ठानिने एडिएफका सशस्त्र विद्रोहीहरूले शुक्रबार राति प्रजातान्त्रिक गणतन्त्र कङ्गोसँग सीमा जोडिएको लुबिरिरा माध्यमिक विद्यालयमा आक्रमण गरेको प्रहरीले जनाएको छ ।
बीबीसीले जनाएअनुसार हालसम्म ४० जनाको मृत्यु भएको छ भने अरु केही विद्यार्थीलाई अपहरण गरिएको छ ।
बवेरा अस्पतालमा उपचाररत थप आठ जनाको अवस्था गम्भीर रहेको उनले सीएनएनले बताएको छ ।
क्यानाडाको जनसङ्ख्या चार करोड पुग्यो
क्यानाडाको जनसङ्ख्या चार करोड पुगेको छ । सन् २०२३ जुन १६ सम्मको तथ्याङ्कअनुसार त्यहाँको कुल जनसङ्ख्या ४ करोड पुगेको देखिएको छ ।
क्यानाडाको जनसङ्ख्या हाल तीव्र गतिमा बढिरहेको छ । सन् २०२२ मा क्यानाडालीहरूको सङ्ख्या १,०५०,११० ले बढेको हो । यो सङ्ख्या क्यानाडाको इतिहासमा पहिलो पटक यसरी तीव्र गतिमा बढेको हो । जनसङ्ख्याको वार्षिक वृद्धि दर २.७ प्रतिशत पुगेको छ ।
सन् २०२२ मा रेकर्ड गरिएका लगभग सबै वृद्धिका लागि अन्तर्राष्ट्रिय बसाइँसराइँ जिम्मेवार रहेको राष्ट्रिय तथ्याङ्क निकायले जनाएको छ ।
क्यानाडा जनसङ्ख्या वृद्धिका सन्दर्भमा जी ७ देशहरूमा अग्रपङ्तिमा छ ।
यदि जनसङ्ख्या वृद्धिको यो दर आगामी वर्षहरूमा स्थिर रह्यो भने, क्यानाडाको जनसंख्या लगभग २६ वर्षमा दोब्बर हुन सक्ने बताइएको छ ।
अमेजन जंगलमा ४० दिनपछि भेटिएका बालबालिकाले के भने ?
अमेजनको जङ्गलमा ४० दिनपछि उद्धार बालबालिकाले विमान दुर्घटनाको चार दिनसम्म पनि आमा जीवित रहेको बताएका छन्। विमान दुर्घटना पछि घाइते भएकी आमाले प्राण त्याग्नु अघि आफूहरूलाई सुरिक्षत स्थानतर्फ जान र ठुली दिदीलाई भाइ बहिनीहरूलाई सहयोग गर्न निर्देशन दिएको उनीहरूले बताए ।
बीबीसीका अनुसार म्याग्डालेना मुकुटुईले आफ्ना छोराछोरीहरूलाई मद्दत खोज्न भनेकी थिइन् । बालबालिकाका बुबा म्यानुएल रानोकले भने, ‘जेठी छोरीले आमाले उनीहरूलाई दुर्घटनास्थलबाट बाहिर निस्कन र आफूलाई बचाउन भनेको भनी बताए ।’
अघिल्लो हप्ता १३, नौ, पाँच र एक वर्षका उनीहरु विमान दुर्घटना भएको ४० दिनमा फेला पारे पछि गत शुक्रबार उद्धार गरी हेलिकप्टरबाट उद्धार गरिएको थियो ।
उनीहरूलाई देशको राजधानी बोगोटाको सैनिक अस्पतालमा लगिएको छ । अमेजनको अनकन्टार जंगलमा बिताएका ४० दिन बिताएका उनीहरूको उपचार पछि अहिले सामान्य अवस्थामा फर्किन थालेका छन् ।
‘एउटा कुरा १३ वर्षीया लेस्लीले मलाई भनिन, ‘उनकी आमा चार दिनसम्म जीवित थिइन्, उनले आफ्नो सन्तानको हेरचाह गर्नुका साथै आफूलाई अस्पताल लैजान आफ्ना छोराछोरीसँग भनेकी रहिछिन्,’ रानोकले अस्पताल बाहिर पत्रकारहरूलाई भने, ‘तर अनाकण्टर जंगलमा रहेका बालबच्चाहरूले आफ्नो आमालाई बाहिर निकाल्न सक्ने अवस्था नै थिएन, उनको त्यही प्राण गएछ।’
रुसले बेलारुसमा राख्यो आणविक हतियार
रुसले बेलारुसमा रणनीतिक आणविक हतियार राखेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसमा आणविक हतियार राखेको पुष्टि गरे । उनले रुसको भूभाग वा राज्यलाई धम्की दिएमा सो आणविक हतियार प्रयोग गरिने चेतावनी दिए ।
उनले एक सार्वजनिक मञ्चमार्फत आणविक हतियार बेलारुसमा पुर्याइएको जानकारी दिएका हुन् । राष्ट्रपति पुटिनले सामरिक आणविक हतियार हस्तान्तरण गर्मीको अन्त्यसम्ममा सम्पन्न हुने बताएका छन् ।
सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक फोरममा भाषण पछि प्रश्नहरूको जवाफ दिँदै उनले भने, ‘यो कदम नियन्त्रणको बारेमा थियो र हामीलाई रणनीतिक पराजय गर्ने सोच्नेले यसको सम्झना गरुन् भनेर देखाइएको हो ।’
फोरमका मध्यस्थकर्ताले ती हतियारहरू प्रयोग गर्ने सम्भावना कतिको छ भनेर पुटिनलाई सोधेका थिए । जवाफमा उनले भने, ‘हामीले सारा संसारलाई किन धम्की दिने रु मैले पहिले नै भनेको छु कि रूसी राज्यको लागि खतरा भएको अवस्थामा मात्र यसको प्रयोग गर्न सम्भव छ, त्यो अघि कुनै प्रयोग गरिने छैन । हामी विश्वमा शान्ति र अमन चयन कायम राख्न चाहन्छौँ, रुसको यो कदम विश्व शान्ति स्थापनाका लागि सन्देश पनि हो ।’
बेलारुस एक प्रमुख रुसी सहयोगी हो ।
उत्तर कोरिया सीमा नजिक अमेरिकन पनडुब्बी तैनाथ
अमेरिकाले उत्तर कोरिया सिमा नजिकै पनडुब्बी तैनाथ गरेको छ । उत्तर कोरियाले अमेरिका–दक्षिण कोरिया लक्षित युद्ध अभ्यास गरेपछि अमेरिकाले पनि जवाफमा पनडुब्बी तैनाथ गरेको हो ।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार अमेरिकाले गत शुक्रबार देखी दक्षिण कोरियामा करिब १५० टोमाहक मिसाइल बोक्न सक्ने आणविक शक्तियुक्त पनडुब्बी तैनाथ गरेको छ ।
त्यसको एक दिन अघि, उत्तर कोरियाले अमेरिका–दक्षिण कोरियाको युद्ध अभ्यासको विरोधमा फेरि क्षेप्यास्त्र परीक्षण सुरु गरेको थियो ।
दक्षिण कोरियाली अधिकारीका अनुसार अब दुवै देशका नौसेनाले परिचालन क्षमता अभिवृद्धि गर्न अभ्यास गर्नेछन्।
जापानमा १६ वर्षमुनिको यौन सम्बन्धलाई बलात्कार मानिने
जापानको यौन अपराध कानुनमा परिवर्तन गरिएको छ । बलात्कारको परिभाषा परिवर्तन र सहमतिको उमेर बढाउन नयाँ कानुन पारित भएको छ । नयाँ कानुनअनुसार सहमतिबिना शारीरिक सम्बन्ध राख्नु बलात्कार मानिनेछ ।
अहिलेसम्म जबर्जस्ती सम्बन्धलाई मात्र बलात्कारको दायरामा राखिएको थियो । साथै, कानुनी सहमतिको उमेर पनि १३ वर्षबाट १६ वर्ष पुर्याएको छ ।
जापानको संसद्को माथिल्लो सदनले शुक्रबार नयाँ कानुन पारित गरेको हो । यसमा कुनै कारणले पीडितले आफ्नो असहमति दर्ता गर्न नसकेका ८ वटा अवस्था समेटिएको छ ।
उदाहरणका लागि, यदि पीडितलाई औषधि दिइयो भने, उसलाई हिट वा धम्की वा यदि उसले सम्बन्ध राख्न अस्वीकार गर्यो भने पनि बलात्कार सबन्धी मुद्दा चल्नेछ ।
त्यसैगरी, जापानमा पछिल्लो ११६ वर्षमा पहिलो पटक सहमतिको उमेर परिवर्तन गरिएको हो । सन् १९०७ मा कानुन बनेपछि सहमतिको उमेर १३ वर्ष कायम गरिएको थियो ।
यसका साथै यस ऐन अन्तर्गत बलात्कार सम्बन्धी उजुरी दर्ता गर्ने समयावधि पनि १० वर्षबाट बढाएर १५ वर्ष गरिएको छ । अर्थात् अपराध भएको १५ वर्षपछि पनि पीडितले उजुरी दर्ता गर्न सक्नेछन् । यससँगै फोटो भ्युरिज्ममा पनि प्रतिबन्ध लगाइएको छ । विकसित देशहरूमध्ये जापानमा सेक्सका लागि सहमतिको सबैभन्दा कम उमेर रहेको छ।
तर, नयाँ कानुनअनुसार १३ देखि १५ वर्ष उमेरका नाबालिगसँग यौनसम्पर्क राख्ने पीडितभन्दा कम्तीमा ५ वर्ष जेठो भए मात्रै अपराध मानिनेछ ।
वास्तवमा, जापानमा बलात्कारका घटनाहरू लगातार बढिरहेका छन्, तर कमजोर कानूनका कारण कि अपराधीहरू स्वतन्त्र छन् र पीडितहरूले अपराध दर्ता गर्दैनन्। रिपोर्ट अनुसार सन् २०२२ मा जापानमा १ लाख ७ हजार बलात्कारका घटना दर्ता भएका थिए ।
जापान सरकारले सन् २०२१ मा गरेको सर्वेक्षणअनुसार ६ प्रतिशत पीडितले मात्रै उजुरी दिएका थिए ।
अमेरिकामा आँधीमा परी तीनजनाको मृत्यु, विद्युत सेवा अवरुद्ध
अमेरिकामा भीषण आँधीका कारण ३ जनाको मृत्यु भएको छ ।
अमेरिकाको टेक्सास राज्यको पेरीटन प्यानह्यान्डल सहरमा आएको भीषण आँधीमा परेर तीनजनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सयौँलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
आँधीका कारण सो क्षेत्रमा व्यापक क्षति भएको छ भने धेरै सम्पत्ति नष्ट भएको अनुमान गरिएको छ । त्यसबारेमा छानबिन भइरहेको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।
प्राइटन फायर चीफ पॉल डचरले अहिलेसम्म ३० वटा ट्रेलरमा क्षति पुगेको बताए । धेरै ठाउँमा रूखहरू ढलेका छन् । ओक्लाहोमा र टेक्सासमा करिब ५० हजार मानिस विद्युतविहीन भएका छन् ।
चिनियाँ र रुसी सेनाको संयुक्त हवाई रणनीतिक गस्ती
चिनियाँ र रुसी सेनाले जुन ६ र ७ गते संयुक्त हवाई रणनीतिक गस्ती गरेका छन् ।
दुई देशका वायु सेनाबीचको समन्वयलाई प्रभावकारी रूपमा परीक्षण र अभिवृद्धि गर्नका निम्ति सो रणनीतिक गस्ती गरिएको रक्षा प्रवक्ताले शुक्रबार पत्रकार सम्मेलनमा बताएका छन् ।
उक्त गस्ती सन् २०१९ देखि चिनियाँ र रुसी सेनाद्वारा संयुक्त रूपमा आयोजना गरिएको र सञ्चालन गरिएको छैटौं शृङ्खला हो ।
यो हवाई रणनीतिक गस्ती रहेको र यसले कुनै तेस्रो पक्षलाई लक्षित नगर्ने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया