खानी खोजतलास गर्न ४३२ कम्पनीलाई अनुमतिपत्र | Khabarhub Khabarhub

खानी खोजतलास गर्न ४३२ कम्पनीलाई अनुमतिपत्र


३२ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खानी तथा भूगर्भ विभाग लैनचौरले मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि चार सय ३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ ।

विसं २०३३ सालदेखि खानी र भूगर्भको क्षेत्रमा काम गर्दै आएको सो विभागले नेपालको खनिजजन्य उद्योग प्रवर्द्धनका लागि सम्भावित खानीको खोजतलास गर्न ती कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको हो ।

विभागका सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार फलाम, तामा, सुन, चुनढुङ्गा, ग्रेनाइट, काइनाइट, खरी, रुबी, डोलोमाइटलगायत सम्भाव्य खानीको खोजतलासका लागि विभागबाट अनुमतिपत्र प्रदान गरिएको हो ।

गत वर्षसम्म तीन सय ७४ कम्पनीलाई खानी खोजतलासका लागि अनुमतिपत्र प्रदान गरिएको थियो । विभागले आर्थिक वर्ष २०७९–८० मा थप ५८ कम्पनीलाई खानी खोजतलास गर्न अनुमति दिएको उनको भनाइ छ । ‘अनुमति दिएकामा सबैभन्दा धेरै चुनढुङ्गा र तामा छन्’, सूचना अधिकारी बाँस्कोटाले बताए ।

यस्तै, विभागले हालसम्म एक सय ५८ कम्पनीलाई खानी उत्खननका लागि अनुमतिपत्र प्रदान गरेको छ । गत वर्षसम्म एक सय ४७ कम्पनीलाई खानी उत्खननको अनुमतिपत्र प्रदान गरेको विभागले आव २०७९–८० मा थप ११ कम्पनीलाई खानी उत्खननको अनुमतिपत्र प्रदान गरेको हो ।

खानी खोजतलास तथा उत्खननका लागि आउनेमध्ये सबैभन्दा धेरै कम्पनी चिनियाँ रहेको सूचना अधिकारी बाँस्कोटाको भनाइ छ । अनुमतिपत्र प्राप्त गरेका कम्पनीमध्ये ५० प्रतिशतले मात्र उत्खननको काम सुरु गरेको र बाँकी कम्पनी उत्खननका लागि आवश्यक प्रक्रियामै रहेका छन् ।

विभागले आव २०७९–८० मा समयमा खानी खोजतलास तथा उत्खननको क्षेत्रमा काम नगर्ने एक सय २१ कम्पनीको अनुमतिपत्र रद्द गरेको छ । ‘समयमा नवीकरण गर्न नआउने, म्याद सकिने र खोजेको कुरा नपाएपछि काम गर्न छाड्ने कम्पनीको अनुमतिपत्र रद्द गरेका हौँ’, बाँस्कोटाले भने । धौवादी फलाम उत्खननका लागि विभागले नवलपरासीमा अनुमति प्रदान गरेको छ ।

यसअघि उदयपुर सिमेन्ट कारखाना, हेटौँडा सिमेन्ट उद्योगलाई चाहिने चुनढुङ्गा खानी तथा भूगर्भ विभागले अध्ययन गरेर प्रदान गरेको चुनढुङ्गा हो  । यसबाहेक अन्य सिमेन्ट उद्योगलाई आवश्यक पर्ने चुनढुङ्गासमेत विभागले उत्खनन गरेर प्रदान गर्दै आएको छ ।

विभागका महानिर्देशक रामप्रसाद घिमिरे विभागले खानी खोजतलास तथा उत्खननको कामलाई तीव्रता दिएको बताउँछन् । विभागले हाल सङ्खुवासभाको लुहाकोटमा फलाम, भोजपुरको दिङ्लामा तामा, सिन्धुलीको खनियाखर्कमा ग्रेनाइट, धादिङको सुनौलाबजारमा डोलोमाइट, धादिङको गणेश हिमालमा रुवी, रुकुममा तामा, उदयपुरको रतुवामाइमा फलाम, मधेस प्रदेशमा सेरामिक्स र धादिङको बेनीघाटमा चुनढुङ्गाको अध्ययन गरिरहेको छ ।

दैलेखस्थित पेट्रोलियम सम्भावित भण्डार क्षेत्रको अन्वेषणका लागि चीन र नेपाल सरकारबीच सम्झौता भई अन्वेषण कार्य भइरहेको विभागले जनाएको छ । उक्त पेट्रोलियम पदार्थको अन्वेषणका लागि जियोफिजिकल सर्भे सम्पन्न भइसकेको छ । 

ड्रिलिङ कार्यका लागि चिनियाँ प्राविधिक टोलीबाट पहिचान भई नेपाल सरकारलाई ड्रिलिङ उपकरण ओसारपसारका लागि आवश्यक बाटोको मर्मतका स्थानको पहिचान गरी सो प्रतिवेदन उद्योग मन्त्रालयमा पेश भइसकेको छ ।

विभागले आव २०७९–८० मा सञ्चालनमा रहेका विभिन्न जिल्लाका एक सय खानीको स्थलगत अनुगमन, निरीक्षण र निर्देशन कार्य सम्पन्न गरिसकेको महानिर्देशक घिमिरेले बताए । 

विभागले गरेको प्रारम्भिक अध्ययनबाट धादिङको रुबीभ्याली क्षेत्र र मनाङमा किम्ती तथा अर्धकिम्ती पत्थरको सम्भावना रहेको पाइएको छ । सो विभागले खानीको सम्भाव्यता अध्ययन गरिरहे पनि ल्याबमा प्राविधिक कर्मचारीको कमी हुँदा समयमा खानीको प्रतिवेदन आउन भने समस्या हुने गरेको छ ।

विभागले प्रत्येक वर्ष देशका छुट्टाछुट्टै स्थानमा खानीको सम्भाव्यता अध्ययन गरे पनि त्यसको प्रतिवेदन आउन भने वर्षौँ लाग्ने गरेको छ ।

विभागका उपमहानिर्देशक एवं प्रशासन प्रमुख जयराज घिमिरेले विभागको ल्यावमा जनशक्ति अभाव रहेका कारण खनिजको प्रतिवेदन आउन समय लाग्ने गरेको बताए । ‘खनिजजन्य पदार्थको जाँचका लागि विभागको ल्याबमा ११ जनाको दरबन्दी छ तर तीन जना मात्र कार्यरत छन्, थोरै जनशक्तिका कारण  वर्षौँदेखि खानीका प्रतिवेदन आउन सकेको छैन’, उनले भने ।

जनशक्ति नहुँदा चुनढुङ्गालगायत वस्तु जाँचका लागि विभाग बाहिरको ल्याबमा पठाउने गरिएको छ । खानी खोजतलासका लागि अनुमतिपत्र तथा उत्खननका लागि अनुमतिपत्र प्रदान गरेबापत आर्थिक वर्ष २०७९–८० मा ६१ करोड ५३ लाख राजस्व सङ्कलन गरेको विभागले जनाएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार  ८ : ४९ बजे

अनुसन्धान केन्द्रमा बाख्राको दूधबाट चिज उत्पादन

दमौली– तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन

मेची–महाकाली उद्धार यात्रा : कोशी प्रदेशमा ४४ जनाको उद्धार

बनियानी – मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत कोशी प्रदेशमा ४४ जनाको

पूजा गर्दा झुक्किएर पनि नगर्नुस् यस्ता गल्ती

काठमाडौं – कयौँ पटक हामीले हरेक दिन पूजापाठ गछौँ, तर

बङ्गलादेशको अन्तरिम सरकारद्वारा ८ सरकारी बिदा रद्द  

काठमाडौं– बङ्गलादेशमा मोहम्मद युनुसको सरकारले स्वतन्त्रता र स्थापना दिवससँग सम्बन्धित

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँ

दैलेख– जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध गडीगाउँ