माटाका भाँडाले धानिएको पुस्तैनी जीवन | Khabarhub Khabarhub

माटाका भाँडाले धानिएको पुस्तैनी जीवन


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१३ बुलबुलियास्थित मसानघाट टोलमा मोहमद अमिन ४४ वर्षदेखि माटाका भाँडा बनाउँदै आएका छन् ।

उमेरले ५० नाघिसकेका अमिन बुबा र बाजेबाट माटाका भाँडा बनाउन सिकेको बताउँछन् । आठ वर्षको उमेरदेखि नै बाजेसँगै माटो मुछेर जानी–नजानी भाँडाको आकार दिन सुरु गरेका उनले बुबाबाट भाँडालाई व्यावसायिक आकार दिन सिकेको बताए । माटोसँग अमिनको सम्बन्ध सानैदेखि गाँसिएको हुनाले उनी यसलाई नङमासुको सम्बन्ध भन्न रुचाउँछन् ।

‘बुबा र बाजे दुवैलाई पछ्याउँदै माटो बोक्न जान्थेँ । माटोसँग उहाँहरू खेलेको देखेर मैले पनि सिकेँ । सानैदेखि माटोसँग खेल्दै, माटोलाई मथ्दै र आफूले चाहेको आकार दिँदै हुर्किएकाले  माटोसँगको मेरो सम्बन्धलाई नङमासुको सम्बन्ध भन्न रुचाउँछु‘, अमिनले विगत सम्झिँदै भने ।

बुबाबाजेले नै माटोका भाँडा बनाउँदै बेचेर कमाएको पैसाले परिवार पाल्दै आएको देखेर आफूलाई पनि माटोकै भाँडा बनाउन रुचि जागेको अमिन बताउँछन् ।

‘जे सिकायो त्यही सिक्ने त हो । मेरो बाउबाजेले मलाई माटोकै भाँडाकुँडा बनाएर बेच्न सिकाउनुभयो आज मैले त्यही सिकेको छु र मेरा छोराछोरीलाई पनि त्यही नै सिकाएको छु’, उनले भने, ‘माटोका भाँडा बनाउने हाम्रो पेसा थिएन र बाजेको पालादेखि यही गर्दै आएकाले आज हाम्रा लागि यही नै पेसा बनेको छ ।’

अमिनका अनुसार विगत वर्षभन्दा यस वर्षको दसैँतिहारमा माटाका भाँडाबाट खासै फाइदा हुन सकेन । अघिल्लो वर्षमा १५–१६ हजारसम्म मुनाफा भएको भाँडाबाट यस वर्ष जम्मा पाँच–छ हजार आम्दानी भएको अमिनले बताए । ‘यो आम्दानीले कसरी वर्षभरिको खर्च जोहो गर्न सकिन्छ ?’ निरास हुँदै उनले यस वर्ष दसैँतिहारमा भएको घाटाको कथा सुनाए ।

अमिनका सात परिवार माटोका भाँडाबाट हुने कमाइमा निर्भर छन् । माटो र माटो पकाउनलाई चाहिने भुस ओसार्नका लागि उनले तीन घोडा पालेका छन् । ती घोडाको खर्च पनि त्यही भाँडाबाट कमाइने पैसाबाट जोहो गर्ने गरेको अमिन बताउँछन् ।

‘सात जनाको परिवारसँगै तीनवटा घोडाको खर्च पनि यिनै भाँडा बिक्री गरेर जोहो गर्नुपर्छ । भाँडाको व्यापार अघिल्ला वर्षको तुलनामा घट्दै गइरहेको छ’, उनले भने, ‘यस वर्ष त ह्वात्तै घट्यो । यस्तै हो भने हाम्रो पेसा धरापमा पर्छ ।’

अमिनले जस्तै सुफिया कसगरले पनि माटोका भाँडा बेचेर कमाएको पैसाले छ जनाको परिवार धान्दै आएकी छिन् ।

कसगर  भाँडा बनाउन सासूबाट सिकेको बताउँछिन् । नेपालगञ्ज उपमहागनर पालिका–५ स्थित मसानघाट टोलकी उनले आफूसँगै  दुई छोरीलाई पनि माटोबाट भाँडा बनाउन सिकाएकी छिन् ।

पुर्ख्यौली पेसालाई जोगाउन सुफियाले भाँडा बनाएर बेच्ने गर्छिन् । भाँडाबाट हुने आम्दानी र मुनाफाका विषयमा अमिनको भन्दा फरक छैन उनको भनाइ । गत वर्षको दसैँतिहारमा १३ हजारको व्यापार गरेकी सुफियाले १० हजार नाफा कमाएको बताइन् । तर यस वर्ष भने जम्मा पाँच हजार जतिको नाफा भएको उनको भनाइ छ ।

अमिनको जस्तै सुफियाको पनि तीन पुस्तादेखि माटोका भाँडाले जीवन धानिँदै आएको छ । तर पछिल्लो समय व्यापार राम्रो नभइदिँदा आम्दानी घट्दै गएकाले पेसाको चिन्ता त छँदै छ साथसाथै परिवारको गुजारा कसरी गर्ने भन्ने पिरले सताउन थालेको सुफिया बताउँछिन् ।

बुलबुलियास्थित मसानघाट टोलमा माटोका भाँडा बनाउने कसगर झण्डै २१ घरपरिवारका छन् । तीन पुस्तादेखि माटोका भाँडा बनाउँदै र बेच्दै गरेका कसगरले यो पेसालाई पुर्ख्यौली पेसाका रूपमा चिनाउँदै आएकी छिन् । कसगरका अहिलेका पुस्ताले पनि यही पुस्तैनी पेसालाई अँगालिरहेका छन् । 

पहिला मनग्य आम्दानी हुँदै आएको उक्त पेसा कोभिड–१९ पछि भने ओरालाे लाग्दै छ । माटोका भाँडा बनाउनलाई कसगर बाँकेको कम्दीस्थित कट्लिया गाउँबाट माटो ल्याउने गर्छिन् । एक ट्रली माटोको मूल्य साढे चार हजार पर्ने गर्दछ । 

अमिन र कसगरको जस्तै पप्पु कसगरको पनि आफ्ना सातजना परिवारको साँझ–बिहानको छाक माटोका भाँडामै भर परेको छ ।

काँचो माटोका भाँडा तयार भइसकेपछि पकाउन भुस, गोबरको गुइँठा र दाउराको प्रयोग गर्ने गरिन्छ । एक क्विन्टल दाउरालाई एक हजार पर्दछ । माटोका भाँडा तयार गर्नलाई दुईपटक पकाउनुपर्ने हुन्छ । धानको भुस पाउन हम्मेहम्मे पर्न थालेको हुनाले प्रायः दाउरामा नै माटाका भाँडा पकाउने गरेको सुफियाको भनाइ छ । 

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ९ : १९ बजे

अनुसन्धान केन्द्रमा बाख्राको दूधबाट चिज उत्पादन

दमौली– तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन

मेची–महाकाली उद्धार यात्रा : कोशी प्रदेशमा ४४ जनाको उद्धार

बनियानी – मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत कोशी प्रदेशमा ४४ जनाको

पूजा गर्दा झुक्किएर पनि नगर्नुस् यस्ता गल्ती

काठमाडौं – कयौँ पटक हामीले हरेक दिन पूजापाठ गछौँ, तर

बङ्गलादेशको अन्तरिम सरकारद्वारा ८ सरकारी बिदा रद्द  

काठमाडौं– बङ्गलादेशमा मोहम्मद युनुसको सरकारले स्वतन्त्रता र स्थापना दिवससँग सम्बन्धित

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँ

दैलेख– जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध गडीगाउँ