पत्रकारिताका दुःख | Khabarhub Khabarhub

पत्रकारिताका दुःख


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

नयाँपत्रिका दैनिकमा विचार पृष्ठको जिम्मेवारी छाडेर २०६८ साल मंसिरमा अनलाइनखबर डटकमको सम्पादकत्व सम्हाल्दा अधिकांश मित्रको प्रश्न थियो, अनलाइनमा त काम थाल्नुभयो, तर पत्रिका चाहिँ कुनमा आवद्ध हुनुहुन्छ ? काँचको स्क्रिनमा पढ्ने डिजिटल पत्रकारिताको अवस्था १२ वर्षअघि कस्तो थियो, यही प्रश्नले स्पष्ट पार्छ ।

अहिले १२ वर्षपछि खोलो फर्किएको छ । एक दशकको यो अवधिमा अनलाइनपत्रकारिता उत्कर्षमा पुगिवरि बिसौनीको यात्रातर्फ उन्मुख छ । अनलाइन पत्रकारितालाई युट्युव पत्रकारिताले चुनौती दिन थालेको छ । अर्थात, नागरिक पत्रकारिताले औपचारिक पत्रकारितालाई कमजोर बनाइरहेको चुनौतीपूर्ण अवस्थामा हामी आइपुगेका छौं । पत्रपत्रिका, रेडियो र टेलिभिजनसँगै कान्छो भनिएको अनलाइनपत्रकारिता पनि एकमुष्ट संकटमा पर्न थालेको छ । 

पत्रकारिता समाजको दर्पण हो । समाजभन्दा निरपेक्ष पत्रकारिताको कल्पना गर्न सकिँदैन । अहिले हाम्रो समाज जता गइरहेको छ, पत्रकारितामा त्यसको छायाँ देखिनु स्वाभाविक छ । देशको राजनीतिक बेथितिको असर अर्थतन्त्र, समाज र पत्रकारितामा एकैसाथ परेको छ । सूचना प्रविधिमा आएको क्रान्तिको प्रभाव पनि राजनीति र मिडिया एकैचोटि देखिएको छ । यो परिस्थितिको सामना या सदुपयोग कसरी गर्ने ? वर्तमान चुनौती नै यही हो ।

कांग्रेस सांसद सुनील शर्माले नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेर छुटेलगत्तै मेडिकल सञ्चालक दुर्गा प्रसाईँसँग छलफल गरे । प्रसाईँले शर्मालाई सम्झाउँदै भने – माननीयज्यू तपाईं मूलधारका मिडियालाई छाडिदिनोस्, हामीलाई १०, २० जना युट्युबर भए पुग्छ । त्यसपछि उनीहरूले दुई दर्जन युट्युबरलाई खुशी पार्न दुबई भ्रमण गराए । झापामा अर्बौं रुपैयाँको लगानीमा अस्पताल खोल्न अनुमति दिएर सम्बन्धन नदिई तीन दलका शीर्ष नेताले राजनीतिक पूर्वाग्रह साँधेपछि बिच्किएका प्रसाईं अहिले राजावादी बनेका छन् भने युट्युबर उनका सहारा । प्रसाईंको मामिलामा मूलधारका मिडिया प्रायः मौन छन् । 

मूलधारका मिडियामा काम गर्ने सञ्चारकर्मीलाई १२ भाइको  अराजक उपमा दिएर सामाजिक रूपमै बदनाम गराउन महत्वपूर्ण भूमिका खेलेका रवि लामिछानेलाई पनि सायद लागेको थियो, मूलधारका मिडियाको विकल्पमा अब युट्युवर वा सामाजिक सञ्जाल भए पुग्छ । तर, अहिले दुर्गा प्रसाईँले उनै युट्युबरलाई प्रयोग गरेर आफ्नो लोकप्रियतामाथि धावा बोलेपछि रविलाई पछुतो लाग्न थालेको छ । २०८० कात्तिक २१ गतेको सेतोपाटीमा बिनु सुबेदीसँग रविले आत्मसमीक्षा गरेका छन्, ‘अराजकताले राजनीति चल्दैन भन्ने मैले बुझेको छु, कहीँ न कहीँ यसमा योगदान गरेँ कि भन्ने मलाई महसुस नभएको होइन ।’

आखिर, मूलधार भनिएका मिडिया पनि प्रश्नबाट मुक्त छैनन्, जनताबाट निर्वाचित भइसकेपछि रवि लामिछाने, बालेन्द्र शाह र हर्क साम्पाङहरुप्रति हामी कति सन्तुलित र पूर्वाग्रहरहित भयौँ ? हामी कतै पुरानै दलहरुप्रति बढ्ता लोयल पो भयौँ कि ? मूलधारको मिडियाले गम्भीर आत्मसमीक्षा गर्ने बेला आएको छ । नत्र मूलधारको मिडियाप्रति बढ्दो जनविश्वास थप खस्कँदै जाने निश्चित छ । पाठकको विश्वास गुमाएर चुनौतीहरूको सामना गर्न सकिँदैन ।

निश्चल बस्नेतको निर्देशनमा अहिले बजारमा नयाँ चलचित्र आएको छ, दिमाग खराब । यो चलचित्र नचलेको भन्दै हलवालाले पन्छाउन खोजेकोदेखि चुनावी अभियानको भिडियो जस्तो भयो भन्नेसम्मका प्रतिक्रियातर्फ नजाऔं । तर, चलचित्रमा देखाइएको युट्युबरको प्रभावलाई अहिलेको यथार्थसँग गाँसेर हेर्न सकिन्छ । 

दिमाग खराबका पात्रहरु आफू अन्यायमा परेपछि युट्युबरलाई खोज्छन्, मूलधारको पत्रकार खोज्दैनन् । समाजमा पनि ठ्याक्कै यस्तै छ । अन्यायमा पर्नेहरु युट्युबरलाई खोज्छन्, मूलधारका पत्रकारको खोजी हुँदैन । प्रश्न उठ्छ, मूलधारका पत्रकार कहाँ गए ?

मोरङ केराबारीका स्वतन्त्र नागरिक सन्तहाङ चेम्जोङको गुनासो छ, काठमाडौंका मिडियाले स्थानीय समस्याबारे चासो दिँदैनन् । दिऊन् पनि कसरी ? राष्ट्रिय मिडियाका कार्यालयहरू विराटनगर, जनकपुर लगायत ७ प्रदेशका राजधानीमा सीमित छन् । गाउँमा रिपोर्टरहरू थप्नुको साटो ठूला मिडियाले आर्थिक मन्दीलाई देखाउँदै प्रदेश कार्यालयसमेत बन्द गर्न र कर्मचारी घटाउन थालेका छन् । यो स्थितिमा मूलधारका मिडियामा कभरेजको दायरा बढ्ने हैन, अझै घट्ने देखिन्छ । जबसम्म राष्ट्रिय मिडियामा खबरको दायरा बढ्दैन, तबसम्म यो दुःख अरु बढ्दै जानेछ ।

स्थानीय तहमा मिडिया नभएका हैनन्, बग्रेल्ती छन् । स्थानीय पत्रिका र अनलाइन देशैभरि खुलेका छन् । एफएम, रेडियो पनि छन् । तर, तिनीहरूले पनि पाठकको विश्वास क्रमशः गुमाउँदै गएका छन् । अधिकांश स्थानीय मिडियाहरू स्थानीय सरकारसँग मिलिभगतमा काम गर्छन्, जसले गर्दा पत्रकारिता नागरिकको आवाज बन्नुको साटो सरकारबाटै पालितपोषित निकायजस्तो बनेको छ । अधिकांश पत्रकार स्थानीय सरकारका सल्लाहकार बनेका छन् । नागरिकलाई सूचना दिने हैन, सूचना लुकाउनेमा उनीहरूको भूमिका हुन्छ ।

प्रदेश र संघसम्मै प्रेस सल्लाहकार बन्ने होडबाजीले पत्रकारितालाई भुत्ते बनाएको छ । कतिपय मूलधारका पत्रकारहरू नै पैसा कमाइने आशमा क्रमशः युट्युबर बन्न थालेका छन् । यो स्थितिले के स्पष्ट पार्छ भने राष्ट्रिय र स्थानीय दुबै ठाउँबाट पत्रकारिता एकसाथ डुब्ने बाटोतिर अग्रसर छ ।

विषयवस्तुको पाटोबाट हेर्ने हो भने गहनप्रकारका खोजमूलक सामग्री कम हुँदै गएका छन् । मिडिया सञ्चालकले खोजी पत्रकारितामा लगानी बढाउन सकेका छैनन् । कर्पोरेटको सेल्फ सेन्सरसीप बढेका कारण धारिलो पत्रकारिता भुत्ते बनेको छ । पत्रकारिताको बुलेट थ्यौरीमा खिया लागेको छ । नीति निर्माण तहमा हस्तक्षेपकारी भूमिका खेल्न सक्ने साहसिक पत्रकारिता सेलाएको छ । जब समाचार नै प्रभावकारी छैन भने पत्रकारिताको प्रभाव घट्नु स्वाभाविकै हो ।

विश्वप्रकाश शर्मा, गगन थापा, बाबुराम भट्टराई, रवि लामिछाने लगायतले ट्विट गर्छन्, फेसबुकमा केही लेख्छन् । उनीहरूले सामाजिक सञ्जालमा लेखेका तिनै कुरालाई समाचार बनाएर अनलाइनमा पोष्ट गर्ने चलन बढेको छ । प्रत्यक्ष सामाजिक सञ्जालमा आएकै विषयलाई समाचार बनाउन तलब दिएर किन स्टाफ राख्ने ? मिडिया सञ्चालकहरुमाथि गम्भीर प्रश्न छ । अर्कोतिर, औपचारिक मिडियाले पस्कने विषय सोसल मिडियाको भन्दा कसरी भिन्न बनाउने ? अहिले अनलाइन पत्रिकाका न्युजरुमले भोगिरहेको चुनौती हो यो । 

लगानीको पाटोबाट हेर्दा ठूला मिडियाहरू आर्थिक संकटमा छन् । पत्रकारलाई जति महिनामा तलब दिए पनि हुन्छ भन्ने रोग सबैतिर फैलिएको छ । दुई महिनादेखि ६ महिनासम्म तलबै नदिई काम लगाउने कुनै उद्योग छ भने त्यो मिडिया उद्योग नै हो ।  रिपोर्टरमा लगानी बढाउने हैन, संख्या घटाउने कार्यमा अधिकांश मिडियाहरू लागेका छन् । आर्थिक मन्दीसँगै विज्ञापन घट्दो छ । 

जब लगानी खुम्चन थाल्छ, मिडियाको भूमिका क्रमशः कमजोर हुँदै जान्छ । तसर्थ, अहिले मूलधारका मिडिया कमजोर र प्रभावहीन बन्दै जानुमा लगानीको पक्षले पनि महत्वपूर्ण भूमिका खेलेको छ ।

अब के गर्ने त ?

सभ्य समाज निर्माणमा व्यवसायिक पत्रकारिताको ठूलो भूमिका हुन्छ । अझ हाम्रो जस्तो भ्रष्टाचार, कुशासन र बेथिति मौलाएको समाजमा व्यवसायिक पत्रकारिताको महत्व अझ बढी नै छ । सामाजिक सञ्जाल वा अनौपचारिक मिडियाले केही समय कसैलाई सेवा गर्ला, तर त्यसको खेदाइमा पर्न थालेपछि असीमित दुरीसम्म भाग्नुपर्ने हुन सक्छ ।

औपचारिक पत्रकारिताले मात्रै सन्तुलन र न्याय गर्न सक्छ । त्यसैले, औपचारिक एवं व्यवसायिक पत्रकारितामाथि पाठकको विश्वास आर्जनमा भूमिका खेल्नु नै अहिलेको पत्रकारिताको मुख्य धर्म हो ।

वर्तमानमा अवस्थालाई चिर्ने हो भने दलीय र कर्पोरेट दुबै प्रभावबाट मुक्त साहसिक एवं व्यवसायिक पत्रकारिताको पुनर्जागरण आवश्यक छ । के यो सम्भव छ त ? छ भने कसरी ? यो गम्भीर बहसको विषय हो ।

बाह्र वर्षअघि डिजिटल मिडियामा पहिचानकै चुनौती बोकेर शुरु भएको अनलाइन पत्रकारिताको मेरोयात्रा १२ वर्षपछि नयाँ चुनौतीहरूका साथ खबरहब डटकमबाट हुनेछ । पत्रकारितामार्फत  पाठक, दर्शक श्रोताहरूको सेवा गर्नु नै पत्रकारको धर्म हो । 

याे पनि…..

खबरहबको प्रधान सम्पादकमा अरुण बराल नियुक्त

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  १ : ५९ बजे

लाइसेन्समा मद्रासीको एकाधिकार, नेपालमा हाहाकार

काठमाडौं- सरकारी सेवाका लागि जनताले लाइनमा बस्नुपर्दैन भनेर गफ चुट्ने

पाकिस्तानमा अहमदिया समुदायका दुई जनाको गोली हानी हत्या

काठमाडौँ– पाकिस्तानमा अल्पसङ्ख्यक अहमदिया समुदायका दुई जनामाथि गोली प्रहार भएको

पार्टीमा वैचारिक मतभेद छैन : अध्यक्ष नेपाल

काठमाडौं– नेपाल  कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले

बर्लिनमा राष्ट्रपति पौडेललाई गार्ड अफ अनर

बर्लिन– जर्मनको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा

अर्थसंक्षेप : घरजग्गाको कारोबार बढेदेखि पुँजीगत खर्चमा सुध्रिएन सरकारसम्म

काठमाडौं– गत वर्षको तुलनामा २०८१ जेठ महिनामा घरजग्गाको कारोबार केही