काठमाडौँ– प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज राम र सीताको पूजा आराधनासहित मनाइँदै छ ।
त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । आज विशेष गरी जनकपुरधाममा यो पर्व धुमधामका साथ मनाइन्छ ।
महोत्सवको मुख्य दिन आज मध्याह्नपछि जनकपुरधामको विशाल रङ्गभूमि मैदानमा स्वयम्बर समारोह आयोजन हुँदैछ ।
रामसीताको स्वयम्बरपछि आजै राति जानकी मन्दिर परिसरभित्रको विवाहमण्डपमा राम–सीता, भरत–माण्डवी, लक्ष्मण–उर्मिला र शत्रुघ्न–श्रुतिकीर्तिको विवाह विधि सम्पन्न गरिने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए ।
हिन्दू परम्परामा श्रीराम विष्णुका अवतार र मर्यादा पुरुषोत्तम कहलिन्छन् भने सीता लक्ष्मीकी अवतार र आदर्श नारीका रूपमा पूज्य छिन् ।
रामजानकी विवाह पञ्चमी महोत्सवमा छिमेकी देश भारतबाट हजारौँ भक्तजन जनकपुर आइपुगेका छन् । विवाहपञ्चमीलाई नेपाल–भारतबीचको आदिकालीन सांस्कृतिक सम्बन्धका रूपमा पनि लिइन्छ ।
त्रेता युगमा मङ्सिर शुक्ल पञ्चमीका दिन अयोध्याबाट राजकुमार राम आएर मिथिलाको राजधानी जनकपुरधाममा राजकुमारी सीतालाई विवाह गरेको तिथि मानेर यो पर्व मनाउने गरिन्छ ।
विवाहोत्सवमा रामजानकी विवाहपञ्चमी महोत्सव, धनुष यज्ञ, तिलकोत्सव, मटकोर तथा धार्मिक विधि अनुसार पूजा गरी विधिवत रुपमा विवाहपञ्चमी महोत्सव समापन गरिन्छ ।
विवाहको भोलिपल्ट रामकलेवा विधिका दिन जन्ती भई आएका भारतीय साधुसन्तलाई मिष्टान्न भोजन गराइ वस्त्र आभूषण र दक्षिणा दिएर बिदाइ गरिने चलन छ ।
विवाहोत्सवलाई यस वर्ष अन्नको आकृति बनाएर विशेष रूपमा मनाउन लागिएको छ । जनकपुरधाममा पहिलो पटक अन्नबाट ११ हजार ११ वर्ग फिटको रामजानकीको प्रतिमा तयार पारिएको छ ।
रङ्गभूमि मैदान (बाह्रबिघा) मा निर्माण गरिएको प्रतिमामा ९५ क्विन्टल र ११ प्रकारका अन्न प्रयोग गरिएको छ ।
मधेस प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।
प्रतिक्रिया