घरेलु मदिरा उत्पादन नहुने ‘गाजने’ गाउँ « Khabarhub

घरेलु मदिरा उत्पादन नहुने ‘गाजने’ गाउँ


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको एउटा गाउँमा अनौठो संस्कारलाई सयौँ वर्षदेखि निरन्तरता दिइएको छ । बेनी नगरपालिका–५ मा अवस्थित गाजने गाउँमा सयौँ वर्षदेखि कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरा उत्पादन हुँदैन ।

सुन्दा अचम्म लागे पनि १५औँ शताब्दीको मध्यतिर गाजनेको धुरीमा पर्वतेराज्य सञ्चालन गरेका तत्कालीन राजा दिलीपबम (डिम्बबम) मल्लले बनाएको नियमानुसार यस गाउँमा अहिलेसम्म पनि कुखुरा, बङ्गुर र मदिरा उत्पादनमा पूर्ण रोक लगाइएको छ ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको गाजने गाउँमा रहेका २५ घरधुरीले सयौँ वर्ष पुरानो नियमलाई पालना गर्दै आएका छन् । धार्मिक र ऐतिहासिक मान्यतालाई आत्मसात् गरी गाउँमा परापूर्वकालदेखि नै कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरासमेत उत्पादन नहुने जगन्नाथधाम गुठी व्यवस्थापन समितिका अध्यक्ष नीलकण्ठ शर्माले जानकारी दिए ।

‘यो तत्कालीन राजाले बसालेको नियम हो, बीचमा केहीले मदिरा बनाउने प्रयास गरेका थिए, उनीहरूको परिवारलाई उक्त कदमले शुभ दिएन, क्षति भयो, अहिले कसैले पनि यो नियम तोड्ने हिम्मत गर्दैनन्’, उनले भने ।

बाइसे–चौबीसे राज्यका पालामा तत्कालीन राजा दिलीपबम मल्ल (डिम्ब)ले गाजने गाउँमा भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरेसँगै सोही समयदेखि नै गाजने गाउँमा कुखुरा, सुँगुरपालन, बङ्गुरपालन र मदिरा उत्पादनलाई निषेध गरेको स्थानीय बासिन्दा बताउँछन् । यस गाउँमा बजारको रक्सीसमेत बिक्री–वितरण हुँदैन भने बाहिरबाट लगेर कुखुरा तथा बङ्गुर बिक्री र काटमार पनि गर्न पाइँदैन ।

तत्कालीन राजाले बसालेको नियमलाई अहिले पनि स्थानीयले मान्दै आइरहेका छन् । बीचको समयमा केही स्थानीयवासीले कुखुरापालन र मदिरा उत्पादन गर्ने गरेको भए पनि त्यसको परिणाम राम्रो नदेखिएपछि छाडेका थिए । अहिले प्रसिद्ध जगन्नाथ मन्दिर रहेको गाजने गाउँ साकाहारी गाउँका रूपमा चिनिन थालेको छ ।

गाजने गाउँमा कुखुरा, बङ्गुर र मदिरा त चल्दैन भने जगन्नाथ मन्दिर पूजाआजा गर्नका लागि रातो रङको फूल, टीका र अबिर पनि प्रयोग नहुने स्थानीयवासी बताउँछन् ।

जगन्नाथ मन्दिरमा अबिरको सट्टा केसरी र रातो ध्वजापताकाकाे सट्टामा पहेँलो र सेतो कपडाको फेटा लगाइन्छ भने पहेँलो र सेतो धजा चढाउने गरिन्छ ।

तत्कालीन राजा दिलीपबमले १५औँ शताब्दीमा भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरी आफू सोही ठाउँमा अलप भएको र उनको स्थापित समाधिस्थलसमेत रहेको हुँदा रातो रङको प्रयोगमा निषेध हुँदै आएको जगन्नाथधाम गुठी व्यवस्थापन समितिका उपाध्यक्ष यामबहादुर बानियाँले जानकारी दिए ।

पछिल्लो समय गाजने पर्यटकीय गाउँको रूपमा विकास हुन थालेको छ । ऐतिहासिक धरोहरका रूपमा रहेको जगन्नाथ मन्दिरमा पूजाआजा गर्नको साथै अनौठा परम्परागत मान्यतालाई जोगाउँदै आएको गाजनेको स्थलगत अवलोकनका लागि पर्यटक पुग्ने गरेका छन् ।

गाउँको शिरमा रहेको केभहिलबाट धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकन गर्न सकिने भएपछि यहाँ धार्मिक पर्यटकसँगसँगै प्राकृतिक सुन्दरतामा रमाउन चाहनेहरूका लागि समेत उपयुक्त गन्तव्यका रूपमा विकास हुन थालेको हो ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  १० : ०४ बजे

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन