उदिपुर पहिरोको वैकल्पिक मार्ग सम्भाव्यता निरीक्षण | Khabarhub Khabarhub

उदिपुर पहिरोको वैकल्पिक मार्ग सम्भाव्यता निरीक्षण


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लमजुङ– डुम्रे- बेँसीसहर सडक खण्ड अन्तर्गत पर्ने उदिपुरमा गत वर्षको भदौ महिनामा गएको पहिरोका कारण सडक भासिएपछि दुई वर्ष बित्न लाग्दा पनि सुरक्षित वैकल्पिक मार्ग बन्न सकेको छैन । अहिले सुख्खा पहिरो गइरहेको सो स्थानमा वर्षा याममा सवारी आवतजावत गर्न कठिन हुने भएकोले वैकल्पिक मार्ग प्रयोगको सम्भावना सम्बन्धमा लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख, पत्रकार लगायतको टोलीले निरीक्षण गरेको छ ।

 प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरी, प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमल, नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष परमेश्वर अधिकारी, सशस्त्र प्रहरी बल प्रमुख लगायतको टोलीले पहिरोको अवस्था अध्ययन गर्नुको साथै माथिबाट आवतजावतको सम्भावना बारे स्थलगत निरीक्षण गरेको हो । प्रमुख जिल्ला अधिकारी पुरीले सडक भासिएको स्थानमा पहिरो खोलेर आवतजावत गराइएको भए पनि सुख्खा पहिरो खसिरहेकोले २४ सै घण्टा जेसिभि राखेर पहिरो सफा गरिरहेको बताए ।

 पहिरो गइरहने भएकोले कहिलेकाहिं रातिको समयमा बन्द गर्नु परेको पनि प्रमुख जिल्ला अधिकारी पुरीले बताए । वर्षाको समयमा यसले समस्या ल्याउन सक्ने भएकोले समयमा नै रोकथाम गर्न प्रयास भइरहेको र वैकल्पिक मार्ग प्रयोग गर्न कसरी सकिन्छ भन्ने बारेमा पनि छलफल र निरीक्षण भइरहेको बताए ।

 अहिले उदिपुरस्थित देउराली डाँडामा अहिले दैनिकजसो सुख्खा पहिरो खसेका कारण जोखिमपूर्ण यात्रा गर्नु बाध्यता छ । हाल तलबाट गएको पहिरोमा रिटेनिङ वाल दिएर र भित्तामा पनि रिटेनिङ पर्खाल लगाएर पहिरो रोक्न सकिन्छ की भनेर विभिन्न इञ्जिनियरहरुसँग छलफल भइरहेको प्रजिअ पुरीको भनाई थियो ।

उक्त सडकलाई मर्मत गर्न १९ करोड रुपैयाँको लागत लाग्ने गरी १ सय ६० मीटर सडक निर्माण गर्न टेण्डर आव्हान भए पनि एउटा मात्र फर्मले प्रस्ताव पेश गरेको छ । तर, सबै कागजपत्र उपलब्ध नभएकोले अझै सडक निर्माणको ठेक्का प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

 नेपाल पत्रकार महासंघका अध्यक्ष परमेश्वर अधिकारी सडक मर्मत कार्य ढिलाई भएकोले वर्षा याममा सदरमुकाम पुग्ने मार्ग बन्द हुन सक्ने चिन्ता व्यक्त गर्दछन् । दुई वर्ष हुँदा पनि मर्मतको लागि टेण्डर आव्हान हुन ढिलाई हुनु, टेण्डरमा एउटा मात्र फर्मले निवेदन दिनुले अझै कहिले सडक बन्ने हो भन्ने अन्यौलता भएको अधिकारीको भनाई छ ।

 संघीय र प्रदेश सभा सदस्यको लागि भएको निर्वाचनको समयमा सबैजसो राजनैतिक दलका उमेदवारले यस पहिरोलाई चुनावी एजेण्डा बनाए । तर, अहिले यसबारेमा कसैले प्रमुखताका साथ चासो नलिएको पत्रकार महासंघका अध्यक्ष अधिकारीको भनाई छ ।

 पहिरोका कारण गत वर्ष संचालन गरिएको वैकल्पिक मार्ग पनि जीर्ण अवस्थामा रहेको र पहिरो भन्दा माथिको मार्ग नजिकै पहिरो खस्दै गएकोले बर्षामा प्रयोग गर्न सम्भव नभएको जस्तो देखिएकोले तत्काल यसबारेमा सबैले चासो देखाउनुपर्ने अधिकारीले बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  २ : २२ बजे

चाडपर्वमा चिनीको अभाव हुँदैन : साल्टट्रेडिङ

काठमाडौं– साल्टट्रेडिङ कर्पोरेशनले आसन्न तिहार छठ तथा नेपालसंवत् पर्वलाई लक्षितगरी

सुक्खा पहिरोले सिद्धिचरण राजमार्ग अवरुद्ध

उदयपुर– सुक्खा पहिरोले सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी–घुर्मी सडकखण्ड अवरुद्ध भएको

परम्परागत संस्कृतिको रक्षा गर्न दशैँमा लिङ्गेपिङ

ताप्लेजुङ– ताप्लेजुङको फुङ्लिङ नगरपालिका–५ मा यस वर्षको दशैँलाई थप उल्लासमय

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते

झापा– झापाको भद्रपुर नगरपालिका–१० स्थित हनुमानचोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा

दीपक कोइरालालाई प्रश्न : यो दशैँमा बिदा पाउनुभयो ?

काठमाडौं – दशैँका बारेमा अनगिन्ती गीत बनेका छन् । तर