महाशिवरात्रीको अवसरमा भाण्टाको भार बेचेरै मनग्य आम्दानी | Khabarhub Khabarhub

महाशिवरात्रीको अवसरमा भाण्टाको भार बेचेरै मनग्य आम्दानी


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महाशिवरात्री पर्वको अवसरमा महोत्तरी जिल्लाका शिवालयमा भाण्टाको भार बेचेर नै किसानले राम्रो आम्दानी गरेका छन् । भाण्टाको भार बाँसको मोटो कप्टेरोमा दुईतिर एकरएक वटा भाण्टा उनेर बनाइएको भगवान शिवलाई चढाउने सामग्री हो ।  त्यस अवसरमा भाण्टाको भार भाकल गरेका श्रद्धालुले आफूले मागेजति मूल्य दिएपछि शिवालय परिसर पुगेका किसानले राम्रो आम्दानी भएको बताएका हुन् ।

जिल्लाको भङ्गाहा नगरपालिका–५ सिद्धपुरस्थित सिद्घनाथ महादेव मन्दिर परिसरमा पर्वको अवसरमा भाण्टाको भार बेचेर आफूले २० हजारभन्दा बढी आम्दानी गरेको भङ्गाहा–४ रामनगर बस्तीका किसान चन्देश्वर राय दनुवारले बताए । भारमा दुई भाण्टा र एउटा बाँसको कप्टेरो भए पुग्ने र पर्वको महत्वले राम्रो मूल्यमा बिक्री भएपछि महाशिवरात्री पर्वमा २० हजारको भार बिक्री गरिएको सोही बस्तीका अर्का किसान रामपूजन महतोको भनाइ छ । मेलामा एउटा भाण्टाको भार धार्मिक विश्वास र भाकलको महत्वले गर्दा दुई सयसम्म बिक्री भएको छ । 

‘आज बिहान चार बजेदेखि भार बेच्न बसेको हुँ, दिनभरिमा २५ हजारको भार बेचिएछ’, आज सिद्धनाथ मन्दिर परिसरमा धमाधम भार बेची रहेका दनुवारले भने, ‘यसपालि श्रद्धालु पनि निक्कै बढेका छन्, राति अबेरसम्म अझै आम्दानी बढ्ला ।’

भाकल सामग्रीमा श्रद्धालु भक्तजनले मोलमोलाई नगरेपछि भारबाट राम्रो आम्दानी हुने गरेको किसानको भनाइ छ । सिद्घनाथ महादेव मन्दिर परिसरमा पछिल्ला १० वर्षयता आफू लगातार भाण्टाको भार बेच्दै आएको भन्दै भङ्गाहा–४ का किसान सत्यनारायण यादवले यो पर्वआफ्ना लागि राम्रो आम्दानीको जोहो गर्ने अवसर हुँदै आएको बताए।

सिद्धनाथ महादेव मन्दिरमा महाशिवरात्रीका दिन चर्मरोगीले रोग निको होस् भन्दै अघिल्लो वर्ष भाण्टाको भार चढाउने भाकल गर्ने गर्छन् । यसैले वर्षेनी पर्वमा भाण्टाको भारको निकै बिक्री हुने भएकाले यो अवसर आफ्ना लागि राम्रो आर्जन गर्ने अवसर रहँदै आएको भाण्टा उत्पादक किसानको भनाइ छ ।

जीउ चिलाउने, खटिरा आउने, दाद र लुतोसहितका स्वास्थ्य समस्या भएकाले भाण्टा खान नहुने आम बुझाइ छ । पर्वका दिन यसलाई त्याग्ने सङ्कल्प गरेर रोग निकोहोस् भन्ने भाकल गरेपछि आफ्नो जीउ चिलाउने समस्या हराएको सिद्धनाथ मन्दिरमा भाकल चढाउन आएकी जिल्लाकै बलवा नगरपालिकाको बनौटा बस्तीकी ५५ वर्षीया जगतारणदेवीले विश्वास व्यक्त गरिन् ।

पर्वको अवसरमा लाग्ने मेलामा भारबाहेक आफ्ना अन्य कृषि उपज प्रदर्शनी गर्नसमेत राम्रो अवसर पाइएको किसानहरुको भनाइ छ । मेलामा मौसमी, बेमौसमी तरकारी बाली उत्पादनका नमूना प्रदर्शनी भएकाले आफ्ना उत्पादनबारे आम चासो बढेको भङ्गाहा–४ कै अर्का किसान रामबहादुर ठाकुरको भनाइ छ ।

यसैगरी महाशिवरात्री पर्वको अवसरमा बेलपत्र, धतुरोको फलफूल र भाङ्का पात बेचेर पनि राम्रो आम्दानी भएको छ । भगवान् शिवको पूजामा अत्यधिक प्रयोग हुने बेलपत्रका साथै धतुराको फलभाङ्का पात बिक्रीबाट महाशिवरात्री पर्वमा रू १५ हजार आम्दानी कमाइएको एकडारा गाउँपालिकाको भटौलिया बस्तीकी १५ वर्षीया किशोरी रामसखी मण्डलको भनाइ छ । 

पर्वका अवसरमा जिल्लाका टुटेश्वरनाथ, जलेश्वरनाथ, मङ्गलनाथ, सिद्धनाथ, कामेश्वरनाथसहितका शिव मन्दिर परिसरमा बेलपत्र, धतुराको फलफुलभाङ्का पात बेच्न बस्ने बढीजसो किशोर उमेरका देखिएका छन् । बेलपत्र, भाङ्का पात, धतुराको फुल र फलमा पूजी नलाग्ने र बेचेजति सबै मुनाफा भएकाले पछिल्ला तीन वर्षयता आफ्नो निजी खर्चको जोहो यसैबाट गर्ने गरेको जलेश्वरनाथ मन्दिर परिसरमा भेटिएकी १७ वर्षीया किशोरी पानवती सादाको भनाइ छ ।

भाण्टाको भार बनाउन कप्टेरा र भाण्टामा थोरै पुजी लागेपनि बेलपत्र, धतुराको फूल र फल त्यसै खोजेर सङ्कलन गर्न सकिने भएकाले गरिबहरुलाई महाशिवरात्री पर्व खर्च जोहो गर्न सहयोगी हुने गरेको यो पेशा अँगालेकाहरुको भनाइ छ । 

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ७ : ५८ बजे

सरकारलाई व्यवसायीको चुनौती: मूल्यदर र भाषा परिमार्जन नगरे इम्बोस्ड नम्बर प्लेट जडान हुँदैन  

भारतसँग जोडिएको मुग्लिन-नारायणगढ-दाउन्ने-बुटवल सडकखण्ड लामोसमयदेखि बर्खामा हिलाम्मे त हिँउदमा धुलाम्मे

वीरगञ्जमा हैजाका ६४ जना बिरामी उपचाररत

वीरगञ्ज– पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा हैजाबाट सङ्क्रमित ६४ जना बिरामी

‘हरिबहादुर’ अब ठूलो पर्दामा 

काठमाडौं– नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह

नेपालले साउथ अस्ट्रेलियालाई दियो १४७ रनको चुनौती

काठमाडौं – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले बिहीबार बिहान

अझै कायम छ ‘कटुवाल प्रथा’

लमजुङ– प्राचीनकालमा तत्कालीन समाजको सूचना प्रसार गर्ने उद्देश्यले प्रारम्भ भएको