विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

आज  चैत ४ २०७९, अंग्रेजी क्यालेन्डर अनुसार मार्च १८, २०२३। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:

आईसीसीद्वारा पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध अन्तर्राष्ट्रिय अपराध अदालत आईसीसीले पक्राउ पुर्जी जारी गरेको छ । युक्रेनमा युद्ध अपराधका लागि पुटिन जिम्मेवार रहेको भन्दै अन्तर्राष्ट्रिय अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि यस्ता अपराध भएको अदालतको भनाइ छ । साथै अदालतले बालबालिका रुस लैजाने कार्यमा पुटिन संलग्न भएको भन्दै अभियोग लगाएको छ । सो काममा संलग्न अन्यलाई रोक्ने शक्ति हुँदाहुँदै पनि उनले नरोकेको पनि बताइएको छ ।

पक्राउ पुर्जी जारी गरे पनि पुटिनलाई पक्रिने शक्ति भने उक्त अदालतलाई छैन । अदालत गठनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका मुलुक मात्र अदालतको क्षेत्राधिकारभित्र पर्छ । तर रुसले उक्त सम्झौतामा हस्ताक्षर गरेको छैन ।

आईसीसीले बालबालिकाको अधिकारसम्बन्धी रुसी राष्ट्रपतिका आयुक्त मारिया लभोभा बेलोभाविरुद्ध पनि सोही आरोपमा पक्राउ पुर्जी जारी गरेको हो । आइसिसी सदस्य देशका सरकारको सहयोगबिना संदिग्धहरूलाई पक्राउ गर्ने अधिकार अदालतलाई नभएकाले पुष्टिन र मारिया पक्राउ पर्ने सम्भावना अति कम छ ।

मस्कोले आईसीसीका आदेशलाई अर्थहीन भन्दै खारेज गरेको छ । साथै मस्कोले आरोप अस्वीकार गर्दै पक्राउ पुर्जी जारी हुनुलाई अपमानजनक भनेर त्यसको निन्दा गरेको छ । रुसी नेता पुटिन आइसिसीले पक्राउ पुर्जी जारी गरेका तेस्रो बहालवाला राष्ट्रपति भएका छन् ।

रुस आईसीसीको पक्ष राष्ट्र नभएकाले राष्ट्रपति पुटिन पक्राउ पर्ने सम्भावना छैन । अर्थात् द हेगमा रहेको उक्त अदालतको आदेश त्यहाँ कार्यान्वयन हुने कुनै आधार पनि छैन । यद्यपि त्यसले राष्ट्रपति पुटिनको अन्तर्राष्ट्रिय यात्रामा असर पर्न सक्छ ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्यता लिएर विश्वका एक सय २३ सदस्य राष्ट्रहरुमध्ये कुनैमा उनले पाइला राखेमा उनलाई पक्राउ गर्न सकिनेछ । आईसीसीका अध्यक्ष पिओटर होफमान्स्कीले पक्राउ आदेश कार्यान्वयन अन्तर्राष्ट्रिय सहयोगमा निर्भर हुने बताएका छन् ।

युद्धग्रस्त युक्रेनले राष्ट्रपति पुटिनविरुद्ध आइसिसीले पक्राउ पुर्जी जारी गरेकामा त्यसको स्वागत गरेको छ । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले  अदालतको कदमलार्य ऐतिहासिक निर्णय भन्दै स्वागत गरेका छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको आगामी साता हुने मस्को भ्रमण तथा रुसलाई चीनले सैन्य सहायता गर्ने समाचार सार्वजनिक भइरहेका बेला जारी भएको आइसिसीको आदेशले अन्तर्राष्ट्रिय जगत्मा तरङ्ग पैदा गरेको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि आफ्ना रुसी समकक्षी पुटिनविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ पुर्जी जारी गरेकामा त्यसको स्वागत गरेका छन् ।
राष्ट्रपति पुटिनले युक्रेनमा युद्ध अपराध गरेको ठहर गर्दै पक्राउ पुर्जी जारी गर्नुलाई अमेरिकी राष्ट्रपति ‘न्यायसङ्गत’ भनेका छन् । अमेरिका पनि आइसिसीको पक्ष राष्ट्र होइन । राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट आफ्नो डेलावरस्थित निजी निवासतर्फ प्रस्थान गर्नुअघि उनले रुसी राष्ट्रपति पुटिनले ‘स्पष्ट रूपमा युद्ध अपराध गरेको’ पत्रकारहरूलाई बताए ।

गत महिना जर्मनीको म्युनिखमा आयोजित सुरक्षा सम्मेलनमा उपराष्ट्रपति कमला ह्यारिसले युक्रेनमा रुसले मानवताविरुद्धको अपराध गरेको आरोप लगाउँदै उसलाई  दण्ड दिनुपर्ने बताएका थिए । रुसी सेनाले गैर सैनिक क्षेत्रमा गरेको आक्रमण आलोचना गर्दै उनले  हत्या, यातना, बलात्कार र निर्वासन जस्ता घृणित कार्य भएकामा रुसको निन्दा गरेका थिए ।

त्यसअघि पनि बाइडेन प्रशासनले युक्रेनमा मस्कोले युद्ध अपराध गरेका प्रमाण आफूसँग रहेको जनाउँदै मस्कोविरुद्ध अन्तर्राष्ट्रिय समुदायले आवाज उठाउनुपर्नेमा जोड दिँदै आएको थियो ।

भारतको जम्मु कश्मीरमा जापानी चेरी ब्लसमको शैलीमा बगैँचा बन्ने

भारतको जम्मु कश्मीरमा जापानी चेरी ब्लसमको शैलीमा बगैँचा बन्ने भएको छ । जम्मु कश्मीर सरकारले जापानी साकुराको शैलीमा चेरी ब्लसम बगैँचा स्थापना गर्ने निर्णय गरेको हो ।

चेरी बगैँचाको मोडालिटीलाई अन्तिम रूप दिइएको र यो वर्षको अन्त्यसम्ममा उक्त बगैँचाको निर्माण कार्य पूरा भइसक्ने अपेक्षा गरिएको छ ।

जापानी अधिकारीहरू र भारतको केन्द्रीय विदेश मन्त्रालयसँग पुष्प विभागका अधिकारीहरूले आयोजना गरेको भर्चुअल बैठकका क्रममा श्रीनगरमा बगैँचा निर्माण गर्ने विषयबारे जानकारी दिइएको हो ।

फ्लोरिकल्चर विभागका सचिव शेख फयाज अहमदका अनुसार पहिलो चरणमा करिब २,५०० चेरीका रूखहरू आवश्यक पर्नेछ ।

यसका लागि जापानबाट वृक्षरोपण सामग्रीको खरीद र प्राविधिक निर्देशनहरू प्राप्त हुने बताइएको छ । बगैँचा निर्माणका लागि १० करोड भारतीय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

अफगानिस्तानमा मोर्टार खानी विस्फोट हुँदा दुई बालबालिकाको मृत्यु

अफगानिस्तानको पूर्वी लोगार प्रान्तमा विगतका युद्धमा बाँकी रहेका मोर्टार खानी पड्किँदा दुई बालबालिकाको मृत्यु भएको छ । घटनामा अरु दुई जना घाइते भएका छन् ।

राज्यद्वारा सञ्चालित बख्तर समाचार एजेन्सीले शनिबार जनाएअनुसार गत हप्ता अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा यस्तै प्रकारको विस्फोटमा चार बालबालिका घाइते भएका थिए ।

अफगानिस्तान विश्वको सबैभन्दा धेरै खानी प्रदूषित देशहरू मध्ये एक मानिन्छ । विगत चार दशक लामो द्वन्द्व र गृहयुद्धबाट बाँकी रहेका विस्फोटक उपकरणहरू बेलाबेलामा विस्फोट हुँदा यहाँ थुप्रै मानिसहरू मारिने र अपाङ्ग हुने गरेको पाइन्छ ।

लोगार प्रान्तको राजधानी पुल–ए–आलम शहरको अल्तामोर क्षेत्रमा शुक्रबार साँझ बालबालिकाहरूले खेलौनाजस्तो यन्त्र भेट्टाएको र त्यससँग खेल्दा अचानक विस्फोट भएको बताइएको छ ।

मलावीमा चक्रवात फ्रेडीका कारण मृत्यु हुनेको सङ्ख्या ४३८ पुग्यो

चक्रवात फ्रेडीबाट प्रभावित मलावीको दक्षिणी क्षेत्रमा थप मृत शरीर फेला परेपछि स्थानीय समयअनुसार शुक्रबार राति ९ बजेसम्म मारिनेको सङ्ख्या कम्तीमा ४३८ पुगेको मलावीको विपद् व्यवस्थापन मामिला विभागले जनाएको छ ।

विभागले बिहीबार आफ्नो पाँचौँ अपडेट दिँदै आँधीका कारण ३२६ जनाको मृत्यु भएको करिब तीन लाख ४५ हजार व्यक्ति वा ७९ हजार घरपरिवार विस्थापित भएका जनाएको थियो ।

उनीहरूलाई राख्नका लागि ५०५ शिविरहरू स्थापना गरिएको छ । विभागका आयुक्त चाल्र्स कालेम्बाका अनुसार घाइते हुनेको सङ्ख्या ९१८ पुगेको छ भने अन्य २८२ जना हराइरहेका छन् ।

आयुक्तले भने, ‘विभाग, मानवीय साझेदारहरू र परिषद्हरूले मलावी रेड क्रस सोसाइटी र समुदायहरूको समन्वयमा खोजी र उद्धार कार्यहरू जारी राख्दै प्रभावित र विस्थापित परिवारहरूलाई राहत सहायताको प्रावधानमा सहजीकरण जारी राखेका छन् ।’

मलावीका राष्ट्रपति लाजरस चाक्वेराले यस हप्ताको सुरुमा विपत्तिको अवस्था घोषणा गरेपछि विदेशी नियोगहरू, सरकारहरू, स्थानीय र अन्तर्राष्ट्रिय संस्थाहरू, कम्पनीहरू र सद्भावना व्यक्तिहरूले मलावीलाई सहयोग गरिरहेका छन् ।

पाकिस्तानमा धार्मिक अल्पसङ्ख्यकलाई राष्ट्रिय परिचयपत्र पाउनै कठिन

पाकिस्तानमा धार्मिक अल्पसङ्ख्यकलाई राष्ट्रिय परिचयपत्र पाउन कठिन हुने गरेको पाइएको छ ।

पाकिस्तानको राष्ट्रिय मानव अधिकार आयोग र कानूनी सहायता समाजले न्यायको पहुँचबारे आयोजना गरेको कार्यक्रममा विज्ञहरुले यस्तो खुलासा गरेका हुन् ।

पाकिस्तानबाट प्रकाशित हुने द न्युज पाकिस्तानले जनाएअनुसार विभिन्न कठिनाईका कारण धार्मिक अल्पसङ्ख्यकलाई परिचयपत्र प्राप्त गर्न समस्या हुने गरेको छ ।

केही धार्मिक अल्पसङ्ख्यकका व्यक्तिले कठिनाईका बावजुद पनि परिचय प्राप्त गरेको भएपनि अरु धेरैले यस्तो परिचयपत्र प्राप्त गर्न नसकेको बताइएको छ ।

पाकिस्तानमा राष्ट्रिय परिचयपत्रका आधारमा राज्यले दिने विभिन्न अधिकार प्रत्याभूत गरिन्छ । यसकारण पनि पाकिस्तानमा धार्मिक अल्पसङ्ख्यकहरु मानव अधिकारबाट बञ्चित हुनु परेको छ ।

सबैलाई समान हिसाबमा परिचयपत्र वितरण गर्नका लागि पुराना कानून, जवाफदेही प्रणालीको विकास गर्नुपर्ने विज्ञहरुले सल्लाह दिएका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ८ : ०० बजे

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि