मालवाहक सवारीलाई अनिवार्य भारमापन गर्न निर्देशन « Khabarhub

मालवाहक सवारीलाई अनिवार्य भारमापन गर्न निर्देशन


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित राजमार्गमा गुड्ने मालवाहक सवारीलाई अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएको छ । कार्यालय, यातायात व्यवसायी तथा सरोकारवालाको छलफलमा बिहीबारदेखि अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिइएको हो।

विसं २०७८ पुसमा काभ्रेको तीन स्थान पाँचखाल नगरपालिकाको केराघारी, पनौती नगरको नैकिन्टार र नमोबुद्ध नगरको भकुण्डेमा भारमापन केन्द्र (तौलपुल) व्यवस्थित गरिएको थियो । त्यसयता व्यवसायीले आनाकानी गर्दै आएका थिए । मालवाहक सवारीसाधनको भारमापन नगर्दा जिल्लास्थित राजमार्गका सडक जीर्ण बन्दै गएका छन् । 

गृह मन्त्रालयले जिल्लाका तौलपुल सञ्चालनमा ल्याउन परिपत्र गरेपछि कार्यालयले सोमबार सरोकारवाला निकायका प्रतिनिधिलाई छलफलका लागि डाकेको थियो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले आउने बिहीबारदेखि मालवाहक सवारीलाई अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिइएको बताए। ‘अब जसरी भए पनि तौलपुल सञ्चालन गर्ने हो, मालवाहक सवारीलाई अनिवार्यरूपमा भारमापन गर्न लगाइनेछ’, उनले भने ।

तीनै स्थानीय तहले भारमापन केन्द्र सञ्चालन गरी ‘लोडसिट’ लिई ढुवानी गर्न-गराउन आग्रह गर्दै आएका थिए । पनौती र पाँचखाल नगरले भारमापन सेवाका लागि जिम्मेवारी लिएको ग्लोबल मेसिनरी एन्ड टेक्नोलोजी सर्भिसेज प्रालिलाई र नमोबुद्ध नगरले कोटकालिका मेसिनरी एन्ड टेक्नोलोजी सर्भिसेज प्रालिलाई मालवाहक सवारीसाधनको अनिवार्य भारमापन गरी गर्न-गराउन निर्देशन दिँदै आएका थिए । 

भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४ (संशोधनसहित)को व्यवस्था, यातायात विभागको पत्र र जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा २०७८ फागुनमा जारी पत्रानुसार स्थानीय तहले भारमापन कार्यलाई कडाइ गरे पनि भारमापन हुनसकेको थिएन । ‘दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षाका लागि पनि मालवाहक सवारीमा भारमापनमा कडाइ गर्नुपर्ने देखियो’, प्रजिअ पौडेलले भने ।

मालवाहक सवारीले इच्छाअनुसार मात्रै भारमापन गर्ने गरेको ग्लोबल मेसिनरी एन्ड टेक्नोलोजी सर्भिसेज प्रालिका सरोज कुइँकेलले बताए। उनका अनुसार सबै मालवाहक सवारीले भारमापन गर्ने हो भने सडक सुरक्षामा निकै मद्दत पुग्नेछ । निर्देशिकाअनुसार छ पाङ्ग्रेभन्दा माथि क्षमताका मालवाहक सवारीसाधनले अनिवार्य भारमापन गर्नुपर्ने हुन्छ । तौलपुलमा भारमापन गरेवापत प्रतिसवारीले एक सय ५० तिर्नुपर्ने नियम बनाइएको छ । 

जिल्लास्थित दक्षिणी क्षेत्र बनेपा–खोपासी सडक, उत्तरी क्षेत्रको हेलम्बु राजमार्ग तथा अरनिको र विपी राजमार्गमा दैनिक करिब दुई हजार निर्माण सामग्रीलगायतको मालवाहक सवारीसाधन चल्ने गर्दछन् । मालवाहक सवारीले क्षमताभन्दा बढी भार बोक्दा पक्की सडकसमेत बर्सेनि जीर्ण हुने गरेका छन् । 

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ७ : १९ बजे

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

योग दिवसको सन्दर्भमा आयुर्वेद क्याम्पसमा योगअभ्यास

काठमाडौं- अन्तर्राष्ट्रिय योग दिवसको १२औँ संस्करण आगामी जुन २१ मा

संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

ललितपुर : ललितपुर महानगरले आर्थिक वर्ष २०८३–०८४ को नीति तथा

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३-0 ले पराजित

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ

विश्वकपमा मेसी : १६ गोलको कीर्तिमानमा बराबरी

काठमाडौँ – विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले विश्वकप इतिहासमा अर्को