विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

आज वैशाख ५, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल १८, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

पाकिस्तानमा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आज बिहान भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु २५ जना घाइते भएका छन् । सिन्ध प्रान्तको सुक्कुर जिल्लामा यात्रुवाहक दुई वटा सवारी एकापसमा ठोक्किदा उक्त हताहति भएको हो ।

पूर्वी पञ्जाब प्रान्त गइरहेको एउटा बस र पञ्जाबबाट आइरहेको अर्को बस राष्ट्रिय राजमार्गमा ठोक्किएको प्रहरी तथा उद्धारकर्मीले बताएका छन् ।

घाइतेहरूलाई नजिकैको अस्पताल पुर्‍याइएको तथा तीमध्ये धेरैको अवस्था गम्भीर रहेको उनीहरूले बताएका छन् । द्रुत गतिमा पञ्जावतर्फ हुइँकिएको बसका चालकले नियन्त्रण गुमाउँदा विपरीत दिशाबाट आएको बससँग उनको सवारी ठोक्किएको प्रहरीले जनाएको छ ।

मर्मतसम्भार नगरिएका सडक, सडक सुरक्षा तथा नियमको उल्लङ्घनका साथै लापरबाहीपूर्ण ढङ्गले सवारी साधन चलाउँदा पाकिस्तानमा धेरै सडक दुर्घटना हुने गरेका छन् ।

युक्रेन युद्धका विषयमा अमेरिकी आलोचनाको ब्राजिलद्वारा खण्डन

ब्राजिलले आफ्ना राष्ट्रपतिमाथि युक्रेन युद्धलाई लिएर चीन र रुसको भाषा बोलेको भन्ने अमेरिकी आरोपको खण्डन गरेको छ । राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले सोमबार रुसका एक जना शीर्ष कूटनीतिज्ञसँग भएको भेटवार्तालाई लिएर अमेरिकाले गरेको आलोचनाको ब्राजिलले खण्डन गरेको हो ।

चीन र मध्यपूर्वका भ्रमण पूरा गरी राजधानी फर्केका ब्राजिलका राष्ट्रपतिले रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभसँगको भेटवार्तामा ‘युक्रेन युद्ध अन्त्य तथा त्यहाँ शान्ति स्थापनाका निम्ति अमेरिकाले प्रयास गर्नुपर्ने’ मा जोड दिएका थिए ।

युक्रेनमा युद्ध स्वयम् किएभले नै निम्त्याएको उनको कथनप्रति अमेरिकाले आपत्ति जनाएको थियो । अमेरिकाले राष्ट्रपति लुला चीन र रुसका समर्थक भएको आरोप लगाएको छ । रुसमाथि प्रतिबन्ध लगाउने तथा युक्रेनलाई सुदृढ पार्ने अन्तर्राष्ट्रिय प्रयास तथा विशेष गरी पश्चिमा राष्ट्रका कदमप्रति राष्ट्रपति लुलाले गरेको टिप्पणीबाट अमेरिका रुष्ट भएको छ ।

युक्रेन युद्धलाई लिएर तटस्थ देखिए पनि चीनले रुससँग साझेदारी कायम गरेको छ । चीन रुसमाथि प्रतिबन्ध लगाउने नीतिको विपक्षमा छ । युक्रेनमा शान्ति कायम गर्न मध्यस्थता गर्ने प्रयासस्वरुप केही साताअघि चीनले शान्ति स्थापनाको मार्गचित्र पनि प्रस्तुत गरेको थियो ।

करिब एक महिनाअघि रुस भ्रमणका बेला चिनियाँ राष्ट्रपति सी चीनफिङले युक्रेनको मुद्दामा शान्ति र न्यायका निम्ति आवाज उठिरहेको बताएका थिए । विश्वका अधिकांश देशले तनाव कम गर्ने, शान्ति वार्ताको पक्षमा उभिने अभिमत जाहेर गरेका बताउँदै उहाँले वार्ताको माध्यमबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

अमेरिकामा हिंसात्मक घटनामा संलग्न १७ जना पक्राउ

अमेरिकाको क्यालिफोर्निया प्रहरीले स्टकटन र साक्रामेन्टोका गुरुद्वार र अन्य ठाउँमा गोली हानाहानका घटनामा संलग्न भएको आरोपमा १७ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुको साथबाट एके–४७ राइफल, पेस्तोल र मेसिन गनजस्ता हतियार बरामद गरेको छ । २० भन्दा बढी स्थानमा छापा मार्दा उनीहरु पक्राउ परेका हुन् ।

क्यालिफोर्नियाका महान्यायाधिवक्ता रोब बोन्टाले सोमबार उत्तरी क्यालिफोर्नियाका २० स्थानमा व्यापक खोजी कारवाहीका क्रममा १७ जनालाई पक्राउ गरिएको बताए । पक्राउ परेका अधिकांश स्थानीय सिख समुदायका सदस्य छन् ।

पक्राउ परेका दुई जना माफियाका सदस्य रहेको जिल्ला अधिवक्ता जेनिफर डुप्रे पत्रकार सम्मेलनमा बताइन् । उनीहरु भारतमा हत्याका धेरै मुद्दामा खोजी सूचीमा रहेको बताइएको छ क्यालिफोर्नियाका महान्यायाधिवक्ताका अनुसार गिरफ्तार गरिएका व्यक्तिहरू प्रतिद्वन्द्वी आपराधिक गिरोहका हिस्सा हुन् । उनीहरु धेरै हिंसात्मक घटना र गोलीबारीमा संलग्न रहेको समेत उनको भनाइ छ ।

भारतमा चामल मिलको भवन भत्किँदा ४ जनाको मृत्यु

भारत हरियाणा राज्यको कर्नालस्थित तीनतले चामल मिलको भवन भत्किँदा चार जनाको मृत्यु भएको छ । घटनामा अरु २० जना घाइते भएका छन् ।

सोमबार राति मिलमा सुतिरहेका मजदुरमाथि भवनको पर्खाल खसेको थियो । दुर्घटनाका बेला मिलमा एक सय ५० कामदार थिए । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । हालसम्म एक सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । भग्नावशेषमा अन्य कामदार पुरिएको आशङ्कामा खोजबिन भइरहेको छ ।

भवन निर्माणमा संरचनागत त्रुटी देखिएको बताउँदै कर्नाल प्रहरीका उपप्रमुख अनिश यादवले घटनाको छानबिन गर्न समिति गठन गरिने जानकारी दिएका छन् । साथै उनले मिलका मालिकालाई कानूनी कारबाही गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । राष्ट्रिय प्रकोप प्रतिकार्य कार्यदल र राज्य विपद् प्रतिकार्य कोषका अधिकारी पनि घटनास्थल पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका छन् ।

सुडान द्वन्द्व : दुई सय जनाको मृत्यु, एक हजार आठ सय घाइते

सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा करिब दुई सय जनाले ज्यान गुमाएका छन् भने एक हजार सय जना घाइते भएका छन् ।

सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान र उनका सहायतक मोहमद हमदान डगालो नेतृत्वको अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)बीचको जारी द्वन्द्वले देशलाई गम्भीर अराजकतातर्फ धकेलेको छ । भीषण युद्धका कारण अस्पतालहरू क्षतिग्रस्त भएका छन् भने सहायताका काममा अवरोध उत्पन्न भएको छ ।

अस्थिरताको पर्याय बनेको उत्तरपूर्वी यो अफ्रिकी मुलुकमा सन् २०२१ मा लामो समयदेखि शासन सत्ता सञ्चालन गरेका तो ओमार अल बशीरलाई सत्ताच्युत गरेपछि बुहारन र डगालोबीचको शक्ति सङ्घर्षले लिएको उग्ररुपको परिणाम अहिलेको द्वन्द्वको प्रमुख कारण हो ।

सुडानामा नागरिक शासन कसरी पुनःस्थापन गर्ने भन्नेमा उत्पन्न मतभेद नै यो भीषण युद्धको कारण बनेको छ । आरएसएफले देशका सम्भ्रान्त वर्गविरुद्ध सीमान्तकृत समूहको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ भने आरएसएफका सेनालाई जातीय सफाया गरेको आरोप बुरहान समूहले लगाएको छ ।

गुजरातमा ट्रेनमा आगलागी

गुजरातको बोटाद रेलवे स्टेशनमा सोमबार स्थानीय रुटमा सञ्चालित ट्रेनमा आगलागी भएको छ।

ट्रेन आज साँझ अहमदाबादको लागि प्रस्थान गर्ने कार्यक्रम थियो। सो दुर्घटनाबाट कसैलाई कुनै चोटपटक भने लागेको छैन । यद्यपि यसबारे विस्तृत विवरण आउँन बाँकी छ ।

बेलायतका प्रधानमन्त्रीकी पत्नी अक्षता मूर्तिलाई ६१ मिलियन डलर घाटा

बेलायतका प्रधानमन्त्री ऋषि सुनककी पत्नी अक्षता मूर्तिलाई ६१ मिलियन डलरको नोक्सान भएको छ ।

सोमबार इन्फोसिस लिमिटेडको शेयरमा भारी गिरावट आउँदा उनलाई सो रकम बराबरको नोक्सानी भएको हो । ऋषि सुनक प्रधानमन्त्री बनेपछि अक्षता मूर्तिलाई अहिलेसम्मकै ठूलो घाटा भएको छ ।

अक्षता मूर्तिसँग उनका बुबा एन नारायण मूर्तिद्वारा सह–स्थापना गरिएको भारतीय सफ्टवेयर कम्पनी इन्फोसिसमा ०.९४ प्रतिशत हिस्सेदारी छ। ब्लूमबर्गको रिपोर्टका अनुसार सोमबार इन्फोसिसको शेयरमा गिरावट आएपछि ब्रोकरहरूले डाउनग्रेड गर्ने क्रम सुरु भएको थियो । सोमबार मार्च २०२० पछि इन्फोसिसको शेयरमा ९.४ प्रतिशतको को गिरावट आयो, सो गिरावट सो समय पछिको सबैभन्दा ठूलो गिरावट हो ।

यद्यपि, अक्षता मूर्तिलाई भएको क्षति सुनक परिवारको सम्पत्तिको एक अंश मात्र हो। अक्षता मूर्तिको सेयर अझै ४५० मिलियन पाउण्डभन्दा बढी छ । यसैबीच, ऋषि सुनकको कार्यालयले यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ८ : ०० बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार